Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

मुन्द्रे परीक्षा : भुत्ते चलन किन गर्नु पर्यो ?

विहीबार, ०१ जेठ २०७७

पचासका दशक भित्रका दुई फरक फरक वर्षमा घरका दुई भाइले एसएलसी पास गर्यौं । आँबैका लागि दाइ निकै प्रिय नाति हुनुहुन्थ्यो । पास भएको खबर आफै दाइ स्वयंले ल्याउनु भयो । मेरो सम्झनामा जिल्ला शिक्षा कार्यालय गएर रिजल्ट हेरीवरी रेडियो नेपालले रिजल्ट प्रकाशन भएको खबर सुनाएको दुई तिन दिनमा दाइले रिजल्ट ल्याउनु भएको थियो । दाई पल्लो घरको उरिम नेर आउँदा आँबै खुशीले मेरो नातिले अब कलम घुमाएर खान्छ भन्दै उफ्रनु भयो !

तर छरछिमेकमा ईष्याले जलन भएको कानेखुसी सुनिन्थ्यो । टोलको पहिलो एसएलसी पास दाइ भएका कारण जलन हुनु अस्वाभाविक थिएन । आँबैले भने जस्तै दाइले कलम घुमाएर खान एसएलसी सकेको तिन वर्षभित्रै थाल्नु भयो । दाईको कलम घुमाइ निरन्तर प्रगति उन्मुख भयो । प्यारो नातिले प्यारी आँबैलाई खुसुखुसु आर्जन दिएको मैले देखें जानें । न म आफै दाइ जत्तिको प्यारो थिएँ न त दाइको रफ्तारमा आँबैलाई आर्जन खुवाएँ । आँबैले दाईको बाहेक अरू नातिनातिनाको आर्जन खान पाउनु भएन ।

मेरो कथा भने अलिक तीतो छ । कुनै बेला नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलिश्रृखलाका पात्र मुन्द्रेको एसएलसी पास जस्तै !

होम सेण्टरमा एलएलसी दिन पाइएको खुशी थियो । पढ्ने भन्दा चोर्न पाइने हल्ला बढी थियो । त्यति बेला सेन्टअप हुन्थ्यो । त्यो परीक्षा खुब कडा भयो । आज सम्झदा सरहरुले वास्तविक परीक्षा लिएको जस्तो लाग्छ । बाले भन्नु हुन्थ्यो – त्यसमा म आफैं पास भएको हो रे ।

तर मलाई स्कुलका कुनै परीक्षाको पनि याद छैन । घरमा कताकता चिट चोर्न हुँदैन भन्ने मानसिकताको विकास भएको थियो । त्यही कारण चिटिङमा खासै ध्यान गएन ।

तर एसएलसी ? आँफै पास गर्न सक्ने अवस्था थिएन भन्ने आज पत्तो पाएको छु । त्यतिबेला कहाँ था पाउनु ? त्यति बेलाका विनी पनि अलिक इमान्दार थिए, आजका जस्ता वर्षौ नआउने होइनन् । आज त स्रोत व्यक्ति जस्तै यी विनी पनि खारेज गरिदिए हुन्छ ।

विद्यालय तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत भएपछि के भएको छ म त्यति जानकार छैन तर पहिला विनी फिल्डमा गएको मैले थाहा पाइन । बिडम्बना र असङ्गति कस्तो छ भने शिक्षक नियुक्ति एउटा निकायले गर्छ तर अनुगमन  र नियन्त्रण गर्ने व्यक्तिहरू अर्को निकायले नियुक्त गर्दछ । यसले आम शिक्षकको आत्म सम्मानमा चोट पुयार्एको छ । हालै मेरा एकजना गुरूले जिल्ला शिक्षा कार्यालयमा छिर्न कार्यालयका सबै कर्मचारीलाई ‘नमस्कार’ गर्नुपर्ने उतिबेलाका कथा सुनाउँदै हुनुहुन्थ्यो । आज पनि गुरुहरूको  अवस्था करिब करिब उस्तै छ ।

ती विनी मेरो एसएलसीमा पनि पर्यवेक्षक भएर आएका रहेछन् । बाले उनलाई भन्नु भयो कि जस्तो लाग्छ । म निर्धक्क थिएँ । चिट आफूले लगिएको थिएन तर झ्यालबाट चाहिने भन्दा बढी आए । आज पनि हिजो जस्तै लाग्छ झ्याल बाहिर बारीमा चिट चोराउने मान्छेहरू दौडादौड गरेको दृश्य । ‘म्याथ सल्भ’ गरेर बाहिरबाट भित्र पठाउँथे । कार्वन राखेर लेखिएका उत्तर चिटको झ्याले ट्रान्जिट म थिएँ । भन्सारका झ्यालहरुले धन्सार बनाउँछन् रे तर मैले त लेख्नै बिर्सेछु या जानिन । के कारणले हो मेरो भाग्य सप्रेन !

बाले चिनेका ती विनीले मेरै काखबाट चिटै खोसेर लाँदा दलेहरूको हप्कीदप्की समेत खानुपर्यो । आफ्नो र बाको बेइज्जत त छँदै थियो । मेरो भाग्य नचम्के पनि त्यो वर्ष स्कुलबाट बाइस जनाको भाग्य चम्कियो । म दुई तिहाई बहुमतमा परे कि !

आँबैलाई मेरो पढाइको त्यति चासो थिएन । त्यसैले  म फेल हुँदा उहाँको प्रतिक्रिया के भयो थाहा छैन ।

त्यतिखेरै हो मैले नारायणगोपालका थुपैं विरहका गीत सुनेको र गाएको ।

बा स्कुलबाट आउँदा अरूहरूले भनेका सान्त्वनाका शब्दहरू लिएर आउनुहुन्थ्यो । अलिक माथि गाउँको एकजना दाइ भन्नु हुन्थ्यो रे, ‘रुखको बाँदर त झुक्किएर लड्छ भाइलाई चिन्ता नगर्न भन्नु होला, फेरि पास भइन्छ ।’

त्यति बेला  त्यो भनाइ मेरा लागि अक्सिजन नै बनेको थियो शायद दाईलाई म पास हुन योग्य थिइन भन्ने थाहा नभएको हुनुपर्छ । दुई विषय लागेर एक्जाम्टेड दिन पाउँदा नि खरानी माथि पानी खन्याइए जस्तो भयो । अङ्ग्रेजी र गणित लागेकाले पूरक परे पनि पास हुने सम्भावना नि न्युन थियो । तर दाइ र रामु दाइको विशेष मेहनतले गर्दा जिल्लामा गएर दिएको पूरक एसएलसीमा मैले बाजी मारे !

तर त्यो बाजीले मेरो मार्कसिटलाई थाङ्ने डफलो बनाइदियो  । जिन्दगीभर त्यो डफलो मलाई गनाइ रहन्छ । फेल हुनु कहाँ सुख थियो र ? जीवनै धरमरमा परेको थियो । विजेताहरूको राँइदाँइमा आफूले मुन्टो निहुराएर हिड्नु पर्थ्र्यो । आफू खरानी परियो आगो ताप्नेहरूले छि छि र दूरदूर गर्न काहाँ बाँकी राख्थे र !

त्यस्तो फेलर काँहाँबाट रफ्तारमा जाओस् अनि आर्जन खुवाओस् ?

आँबैले शायद सबैले कलमै घुमाउनुपर्छ भन्ने मान्यता राख्नु हुँदो रहेनछ कि ! कसैले पढ्ने कसैले खेती किसान गर्ने कोही लाहुर जाने त भनिरहनु हुन्थ्यो । आँबैको अनुभवले खारिएको विचारले मानवीय विविधताको प्रतिनिधित्व पो गरेथ्यो कि ? तर म जबरजस्ती कलम घुमाइकै बाटोमा लागेँ । त्यसैले मैले उहाँलाई आर्जन ख्वाउने कुरै भएन आजसम्म पनि सरस्वती र लक्ष्मी दुवै म देखि प्रसन्न भएनन् !

राजतन्त्र गणतन्त्र बने जस्तै मुन्द्रे एसएलसी एसईईमा परिणत भयो !

११, १२ को त कुरै नगरम् । अहिले मेरैजस्तो यी  कक्षाका विद्यार्थीको भविष्य चौपट भएको छ । भर्भराउँदो आगो खरानी बनिरहेछ । कम्पनीवालाहरूलाई अनलाइनको चिन्ता छ । सरकारीवालाहरूको चौमासिक आउने बेला भएको छैन के को चिन्ता ? खुबै भए हप्ता दिन काटिने हो कि भन्ने चिन्ता होला मलाई जस्तै ।

अन्याय त तीनै विद्यार्थी माथि नै परेको छ । नतिजा आउने बेलासम्म परीक्षा नै हुन सकेको छैन । कोरोनाको सक्रमण दिन प्रतिदिन मौलाइ रहेछ ।

यसो सोच्छु उपाय के त ? फेले दिमागमा पनि झिल्काझिल्की बत्ती बल्छ बरै !

एकदिन कुरैकुरामा असफल शिक्षक भनेको साथीहरू खनिए म माथि । सफलताका लागि विश्वास चाहिन्छ । राज्यले विश्वास नगरेको हो कि शिक्षकहरूले त्यो आर्जन नगरेका हुन् पत्तो छैन । मेरो पाला जस्तो होइन चिट देखे पनि नदेखेझैं गरेर ज्यान जोगाउने जमाना हो यो । चोर्न को पो बाँकी छ र ? पानी माथि ओभानो बन्ने हामीले ? कोरोनेको मझधारमा होस् वा परारैको भूकम्पमा मौकामा चौका हानेकै छौं र हौं । तसर्थ अब एसईई र एसएलसीको परीक्षाको जिम्मा विद्यार्थीको उसकै स्कुललाई दिए हुन्छ । होमसेण्टर र अदर सेण्टर भन्ने कुरा दिमागबाटै फालिदिए के हुन्छ ?  

३ वटा कक्षाका विद्यार्थीलाई अलग अलग समयमा बोलाए हुन्छ । कोरोना मातेका ठाउँमा बाहेक अन्यत्र यसै गरे भइहाल्छ नि ! यसै गरे पनि मापन र मूल्याङ्कन हुनसक्छ । परीक्षा वैध नै हुन्छ । भुत्ते चलन किन गर्नु परो । बुट नबजारे पनि परीक्षा हुन्छ । पुलिस किन चाहियो ? प्रशासन नभए पनि स्कुल प्रशासन त छँदै छ नि ! के कानुन बनाउनु पर्ने हो बनाए हुन्छ तर परीक्षालाई सदाका लागि सरलीकरण गर्ने मौका यो भन्दा अर्को आउन सक्दैन ।

विद्यार्थीकै शिक्षकले पेपर लैजान्छन् परीक्षा लिन्छन् अनि कापी पठाइदिन्छन् वा उतरपुस्तिका जिल्लामा जम्मा गरेर परीक्षण गर्छन् वा स्कुलमै परीक्षण गरेर नम्बर मात्रै पठाइ दिन्छन् । जे सजिलो हुन्छ त्यही गर्न सकिन्छ । स्कुलमा अरू विद्यार्थी छैनन् । परीक्षाको सारा जिम्मा  स्कुललाई दिए हुन्छ । शिक्षकलाई विश्वास नगरे कलाई गर्ने ?

यो मेरो पचासको दशकको समय होइन छोराछोरीको सत्तरीको दशक हो । यो दशकमा पास र फेल दुबै छैन । पुरकेहरू पनि डफले हुँदैनन् । जुनसुकै ग्रेडवालाहरूले नि आर्जन ख्वाउन सक्छन् । गुरुहरूले पढाएको हुने परीक्षा लिएको र कापी जाँचेको नहुने भन्ने हुन्न । उनीहरूलाई विश्वास गर्नुको विकल्प छैन । जिम्माले जिम्मेवारी र दायित्व बढाउँछ । एक वर्ष नबढ्ला दुई वर्ष नबढ्ला तेस्रो वर्ष कसो नबढ्ला ? भविष्यमा पास फेल फेल पास भइरहन्छन् ।

डफले मार्कसिटवाला दिमागले यत्ति बोल्यो । ‘माथि’ बसेकाहरूको दिमागले त झन् अच्छा बोल्दो हो । मुन्द्रे एसईई र एसएलसीको समाप्ति कोरोनेको मझधारमै गरौँ । मेरा पाला भाग्य चम्काएका बाइसेवालाको के मत छ कुन्नि ?

ज्ञवाली शिक्षण पेशामा आवद्ध छन् ।

प्रतिक्रिया