Edukhabar
विहीबार, २० बैशाख २०८१
विचार / विमर्श

स्थगित परीक्षाको चिन्ता, चासो र बाटो

सोमबार, २६ जेठ २०७७

कोरोना भाईरस (कोभिड - १९) ले विश्वभर ठूलो मानवीय क्षति गर्यो । यो सँगै हरेक क्षेत्रलाई तहस नहस पार्यो । यसको असर मानव जातिले निकै समय पछि सम्म पनि भोग्नु पर्ने निश्चित भएको छ । कोरोनाले तहसनहस पारेका अन्य क्षेत्र जस्तै शिक्षामा परेको प्रभाव र यसबाट उम्किन दिनु पर्ने ध्यानका बारेमा यो आलेखमा चर्चा गरिने छ । 

शिक्षाको सन्दर्भमा कुरा गर्ने वित्तिकै कोरोनाकै कारण स्थगित गरिएका विद्यालय तथा विश्वविद्यालय तहका विभिन्न परीक्षाको अन्योलले विद्यार्थीमा परेको हैरानी यतिखेरको मुख्य विषय हो । विश्वविद्यालय तहका विद्यार्थी त विद्यालयका भन्दा परिपक्व हुन्छन्, समस्यालाई फरक ढंगले आत्मसात गर्न सक्ने हुन्छन् । त्यस माथि परीक्षाको नतिजाको हाउगुजी विश्वविद्यालय तहमा कम छ । तर कक्षा १० को अन्तिममा लिईने एसईई परीक्षा र यसको हाउगुजीले यतिखेर परीक्षासँग जोडिएका लाखौं विद्यार्थी र तिनका अभिभावकलाई घोर चिन्तामा डुवाएको छ । कक्षा ११ र १२ का विद्यार्थी र तिनका अभिभावकको चिन्ता पनि उस्तै मुखर भएर आएको छ ।

कक्षा १० को अन्तिममा लिईने परीक्षा एसईई दिन केन्द्रको गत चैत ६ गते परीक्षा केन्द्रको गेटमै पुगेर स्थगित भएको खबर सुनेका कतिपय विद्यार्थीले यतिका समय सम्म उक्त परीक्षा कहिले हुने भन्ने यकिन खबर थाहा पाउन सकेका छैनन् । युवा उमेर प्रवेश गर्नैलागेका कलिला मस्तिष्कहरुमा कोरोना भाइरस सँगसँगै स्थगित परीक्षाको तनावले जरा गाडेको छ, जसका कारण न उनीहरु परीक्षाको तयारी गर्न सकेका छन् न त पढाइको चिन्ताबाट मुक्त हुन नै ।

चिन्ता

२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधन सँगै विद्यालय शिक्षाको संरचनामा गरिएको परिवर्तनले साविकको एसएलसीलाई एसईईमा रुपान्तरण गर्यो । अक्षराँकन पद्दतीबाट परीक्षाफल प्रकाशन गर्ने विधि अपनाईएसँगै फलामे ढोकाको रुपमा हेरिने एसएलसीको भूत कम हुने अपेक्षा गरिएको थियो । तर, उक्त परीक्षाको तामझाम, नतिजाको रवाफ र चर्चाको शैली त्याग्न तयार नहुने सरकारी संयन्त्रका जिम्मेवार अधिकारी र उक्त परीक्षाको नतिजाका आधारमा विद्यालयको उत्कृष्टता प्रदर्शन गर्ने निजी विद्यालय सञ्चालकहरुको चंगुलका कारण उक्त रुपान्तरण केवल कागजमा सिमित रह्यो । जसको प्रभाव स्वभाविक रुपमा  विद्यार्थी र अभिभावक समक्ष साविककै जस्तो निरन्तर परिरहेकै छ । जसका कारण मैले यो ग्रेड ल्याउँछु यति नम्बर प्राप्त गर्छु भनेर पढाईमा घोटिएका विद्यार्थी, उनीरुलाई घोटाउने शिक्षक र अभिभावकहरु परीक्षाको बारेमा केही सूचना प्राप्त गर्न नसक्दा वेचैन छन्, निराश छन् ।

खेतबारीमा लगाएको खेतीमा असिना परेर एक सिजनको बाली नष्ट हुँदा किसानलाई परेको चोट भन्दा कम छैन विद्यार्थी अभिभावकको मनोदशा ! १२ वर्षसम्म धेरै कठिनका साथ खाई नखाई पढ्ने वातावरण दिएका अभिभावक, आफूले दुःखका साथ गरेको तयारीबाट उत्कृष्ट जिपिए सहितको ग्रेड हासिल गर्ने उच्च आकांक्षा  बोकेका विद्यार्थीको मनमा के कुरा खेलिरहेको होला ? कल्पना गर्न समेत कठिन छ । यो कठिनाईमा विद्यार्थीको उज्जवल भविष्यको लागि निरन्तर खटिएका र विद्यार्थीकै नतिजालाई सम्पूर्ण खुशि र प्रगति ठान्ने शिक्षक र विद्यालय परिवारको उत्साह र उर्जा पनि हराएको छ । 

चासो

सम्वद्ध निकायलाई चिन्ता पर्यो भने उपाय निकाल्न कठिन हुँदैन । तर, चिन्ताको सरोकार भएन भने व्यवधान सहितको अवस्था अगाडि तर्स्याउँछ । समय , परिवेश र परिस्थिति अनुसार नीति निर्माण गर्ने निर्णय भएन भने जिम्मेवार निकायमा बस्नुको अर्थ रहँदैन । स्थगित भएका कक्षा १०, ११ र १२ को परीक्षाको सन्दर्भमा सबैभन्दा चासो लिने निकाय भनेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हो । यो निकायलाई चासो प्रति केन्द्रित गराउन ऊ मातहतका निकायहरुको भूमिका हुन्छ ।

खाना पाक्नुछ भने बिँड तातेर हुँदो रहेनछ ताप्के नै तात्नुपर्ने रहेछ । विडम्वना विद्यार्थी, अभिभावक र विद्यालयले जतिसुकै चिन्ता गरे पनि समबद्ध निकायलाई चिन्ता परेको छनक देखिदैंन । 

बाटो

समय र समाज दुबै गतिशील छ । परिस्थिति र सन्दर्भ अनुसार समाजका यावत् पक्ष परिवर्तन हुन्छन् र ती परिवर्तनलाई चाहेर वा नचाहेर ग्रहण गर्नुपर्छ । समाजमा कुनै पनि विषय स्थिर रहन सक्दैन । हामी जे छौं हामीले जे गरिरहेका छौं त्यो समाजको एक हिस्सा हो । परिस्थिति अनुकूल सामाजिक व्यवहार हुनु नै सामाजिक गतिशीलता हो ।

कोरोना संकटले कतै परीक्षा स्थगित त हुने हैन भन्ने अन्योलका बिचमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य सुरक्षाको सावधानी अपनाईएकाले निर्धक्क परीक्षामा सहभागि हुन सार्वजनिक आह्वान गरेको ३ घण्टा पनि नवित्दै परीक्षा आउन १२ घण्टा पनि बाँकी नरहँदा सरकारले स्थगित गर्ने निर्णय गर्यो । जुन अपेक्षित थिएन तर पनि तत्कालिन परिस्थिति र त्यो परिस्थितिले संक्रमण फैलिने स्थितिलाई कसैले अन्दाज गर्न सक्ने अवस्था थिएन । जुन सूचनालाई स्वीकार गर्नुपर्ने नै थियो ।

तर परीक्षा स्थगित भएको झण्डै तीन महिना पुग्न लाग्दा समेत उक्त परीक्षाका बारेमा कुनै निर्णय हुन नसक्नु विडम्वना भएको  । कतिपय व्यक्तिहरु साविकको शैलीमा परीक्षा गर्न जरुरी नभएको बरु विद्यालयको आन्तरिक मूल्याँकनकै आधारमा कक्षोन्नती गर्नु पर्ने तर्क दिदैं छन् भने कतिपयको धारणा परीक्षाको अनिवार्यताको पक्षमा छ । यो जुहारीले कोरोना भाइरसको जोखिम भन्दा धेरै प्रताडित बनाएको छ तिनै विद्यार्थीलाई ।

कोरना भाइरसको जोखिमका कारण स्थगित परीक्षा संक्रमणको बढ्दो रफ्तारका बिचमा के हुने हो ? के कोरोना फैलिएसम्म परीक्षा स्थगित नै हो त ? विद्यालयको आन्तरिक मूल्याँकनलाई आधार मान्ने कि कुनै न कुनै रुपमा परीक्षा सञ्चालन गर्ने, सरकारले एउटा विकल्पमा निर्णय लिन ढिला गर्नु हुँदैन ।

विकल्प जे आए पनि एउटा कुरा प्रष्ट छ की साविककै शैलीमा परीक्षा सञ्चालन हुन सक्दैन । पूर्ववत् तवरले परीक्षा संचालन गर्ने मनसायले विकल्पको खोजि नगरिएको हो भने त्यो विद्यार्थीको लागि घातक हुने छ । जब हामी पूर्ववतरुपमा परीक्षा सञ्चालन गर्न सक्दैनौ भने त्यस्ता विकल्पहरूको खोजी गर्नुपर्ने हुन्छ र विकल्पहरूको खोजी गर्न ढिलाइ गर्नु हुँदैन । जति ढिला भयो जति ढिला गर्यो उति त्यसबाट नयाँनयाँ समस्याका रुपहरु फैलिन्छन् यसमा चासो लिने वर्ग सचेत हुन आवश्यक छ ।

झट्ट हेर्दा चर्चामा आएका यी दुवै विकल्प मध्ये एक नै अहिलेको अन्योल समाधानको उपाय हुन सक्ने देखिएको छ । पहिलो विकल्पलाई खासै केही गर्नुपर्ने छैन सामान्य निर्देशन र सरल व्यवस्थापनमै गर्न सकिन्छ । दोस्रो अवस्थामा भने सचेतता पूर्वक केही महत्वपूर्ण कार्य गर्न जरुरी हुन्छ । अहिले कक्षा १०, ११ र १२ को परीक्षाका लागि आवश्यक सामग्रीहरु हरेक केन्द्रमा पुगी सकेको अवस्था छ । तर पूर्ववत रुपमा परीक्षा सञ्चालन गर्न नसके पछि तपशिल बमोजिम कार्य गर्न उचित देखिन्छ ।

१. हाल स्थानीय तहले आधारभूत तह कक्षा ८ को ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको छ सोही मुताविक सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिने ।

२. प्रत्येक विद्यालयमै परीक्षा केन्द्र राख्ने, जुन विद्यालयका विद्यार्थी हुन् सोही विद्यालयमै परीक्षा दिने वातावरण मिलाउने ।

३. हाल कतिपय विद्यालयमा क्वारेण्टाइन रहेकोमा नजिकैको आधारभुत विद्यालय वा सामुदायिक भवन लगायतका उपयुक्त ठाउँमा व्यवस्था गर्ने ।

४. यदि कुनै विद्यार्थी आफू पढेको विद्यालय भन्दा टाढा रहेको छ र त्यहाँ जान सम्भव छैन भने त्यस्ता विद्यार्थीको विवरण संकलन गरी विद्यार्थी रहेको पायक पर्ने विद्यालयबाटै परीक्षा दिने वातावरण मिलाउने ।

५. परीक्षालाई मर्यादित गराउन छिमेकी विद्यालयबाट केन्द्राध्यक्ष र निरीक्षकको व्यवस्था गर्ने ।

६. उत्तर पुस्तिका स्थानीय तहमा संकलन गर्ने ।

७. परीक्षणका लागि स्थानीय तहमै विषयगत समिति बनाई परीक्षण गर्ने ।

८. विद्यार्थीले प्राप्त गरेको ग्रेड विद्युतीय माध्यमबाट राष्ट्रिय परीक्षा बोर्डमा पठाउने आवश्यक परेको अवस्थामा परीक्षण गरिएका उत्तर पुस्तिका समेत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने ।

९. स्थानीय रुपमा परीक्षा सञ्चालनको लागि कार्यविधि तयार गर्ने र निर्देशन गर्ने ।

अहिलेको अवस्था असामान्य हो, तसर्थ यसको समाधानका लागि सामान्य र चलि आएका सोचबाट निकाश निकाल्न कठिन हुन्छ । तसर्थ फरक तरिकाले सोचौं, तदनुरुप समयमै कार्य गरौं । विद्यार्थी, अभिभावक र शिक्षकलाई लामो समय सम्म अन्योलमा नराखौं ।

चालिसे, बाग्लुङको गलकोट नगरपालिका – ८ स्थित श्री शिव माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष तोकिएका शिक्षक हुन् ।  

प्रतिक्रिया