Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

विकल्प खोज्नेहरुले आँखा चिम्लँदा शिक्षा क्षेत्र अन्योल ग्रस्त

विहीबार, १८ असार २०७७

देशमा तीन तहको सरकार रहने गरी जारी नेपालको संविधानको मौलिक हक र कर्तव्यको धारा ३१ मा शिक्षा सम्बन्धी हक उल्लेख छ । सोही धाराको उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत  तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निःशुल्क पाउने हक हुने छ भनी उल्लेख गरिएको छ । संविधानको अनुसूची ८ मा  उल्लेख स्थानीय तहको अधिकार सूचीको ८ नम्बर बुँदामा आधारभूत र माध्यमिक शिक्षा रहेको छ यसबाट प्रष्ट हुन्छ कि माध्यमिक तहसम्म शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकार मातहत छ । यसको अर्थ उक्त अधिकारलाई जिम्मेवारीमा रुपान्तरण गर्ने अभिभारा स्थानीय सरकारको हो ।

हरेक व्यक्तिको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार हो, हरेक नागरिकलाई  समय सापेक्ष शिक्षा प्रदान गर्नु राज्यको कर्तव्य हो । शिक्षाको सन्दर्भमा डा. केभिन रायन र डा.थोमस लिकोनले HEAD , HEART , HAND लाई शिक्षित गर्नु नै शिक्षा हो भनेका छन् । जसमा HEAD  अन्तर्गत बौद्धिक विकासमा जोड ,, HEART अन्तर्गत अभिवृत्ति तथा नैतिक पक्षमा जोड र HAND अन्तर्गत जीवनोपयोगी सीप तथा क्षमता विकासमा जोड दिई शिक्षित गराउने गरी व्याख्या गरिएको छ ।

अहिले कोरोना भाईरस कोभिड १९ को संक्रमण जोखिमका कारण संसार आक्रान्त बनेको छ । यसले शिक्षा क्षेत्रलाई नसोचेको अस्तव्यस्ततामा पुर्याईदिएको छ ।  विगत झण्डै चार महिनासम्म अधिकाँक स्थानीय तहले शिक्षामा विकल्प खोज्ने प्रयत्न गरेको उल्लेख्य उदाहरण निकै कम देखिएको छ । भाईरस संक्रमणको जोखिम बारेमा सचेतता अपनाउँदै आफ्नो क्षेत्रमा विकल्प खोज्नेहरुले आँखा चिम्लेर आफ्नै दुनियाँमा हराएका कारण शिक्षा क्षेत्र थप अन्योलग्रस्त बनेको छ ।

पहिलो चिन्ता र शर्त स्वास्थ्य हो शंका छैन । भाइरस संक्रमण दर घटाउन मानिस मानिस बिच भौतिक दुरी कायम गर्दै दैनिक कार्य शुरु गर्नुको विकल्प हामीसँग छैन । किन भने रोगको नियन्त्रण खोप विकास नभईञ्जेल सम्भव छैन भनिएको छ । खोप कहिले बन्छ टुङ्गो छैन । यस्तो अन्योलको अवस्थामा लामो समय एउटै शैलीमा रहनु भनेको समयको गति नपक्रनु हुन्छ, बालबालिका माथि अन्याय हुन्छ ।  

कहिले सम्म यसरी नै चुपचाप बस्ने ? कहिले सम्म बालबालिकाको सिकाइलाई यही वहनामा अवरुद्ध बनाईरहने ? हामीले निर्मम समिक्षा गर्न ढिलो भईसकेको छ । त्यसैले समाजका अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्रलाई पनि सचेतता अपनाउँदै अगाडि बढाउनु पर्ने वाध्यतामा हामी आईपुगेका छौं । यस्तो अवस्थामा साविककै शैलीमा नियमित रुपमा पठनपाठन सञ्चालन गर्ने भन्ने कुरा सजिलो छैन । यतिखेर हामीले फरक तरिका र शैली अपनाउनु पर्ने भएको छ । असहज रहेको यो परिवेशमा दूर सिकाइ एउटा भरपर्दो विकल्प हुन सक्छ । प्रोफनेट स्टुडेन्ट ह्यान्डबुकका अनुसार शिक्षक र विद्यार्थीका बीचमा रहेको समय र भौतिक दूरीको अवस्थालाई दूरसञ्चार प्रविधीको प्रयोगबाट कम गर्ने पद्घति नै दूर सिकाइ हो ।

आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको मुख्य जिम्मेवारी स्थानीय सरकार मातहत रहेको अवस्थामा नियमित पठनपाठन गराउन नसक्ने अवस्थामा दूर सिकाइका विभिन्न सामग्री रेडियो, टेलिभिजन, ईण्टरनेट मार्फत अनलाइन कक्षा, फोन, भिडियो रेकर्ड, स्वास्थ्य सचेतना अपनाउँदै बालबालिका भएको ठाउँ सम्म शिक्षकको उपस्थिती लगायतका अनेकौ माध्यमबाट सिकाइ सहजिकरण गरेका संसारका कैंयौं उदाहरणहरु हामीले देख्ने, सुन्ने गरेका छौं । हाम्रो सन्दर्भमा सरकारले पठनपाठनलाई रोकेको छ भनेर कतिपय जिम्मेवार व्यक्तिका गैरजिम्मेवार भनाइ पनि सुनिएका छन् । तर मैले बुझेको कुरा जिम्मेवार प्राप्त व्यक्ति वा निकाय चुपचाप र गुमनाम बसौं भनिएको होइन ।

संसारका अन्य देशको र हाम्रो अवस्थिती, पहुँच र प्रविधि विकासमा अन्तर छ । हाम्रो परिप्रेक्ष्यमा कुरा गर्ने हो भने दुर सिकाइमा सबै भन्दा प्रभावकारी माध्यम एफएम रेडियो हुन सक्छ । किनभने हाल नेपालको सबै क्षेत्रमा पहुँच पुग्ने गरी छ सय भन्दा बढी एफएम रेडियो स्टेशन छन् । स्थानीय तहमा जेजस्तो सिकाइका सामग्री प्रयोग गर्न सकिन्छ त्यसका लागि रेडियो स्टेशन उपयुक्त हुन सक्छ ।

आज कतिपय स्थानीय तहले स्थानीय एफएमसंग सहकार्य गरि, कक्षा ११ ÷१२ को परीक्षालाई केन्द्रित गर्दै एफएममा कक्षा सञ्चालन गरिरहेका देखिन्छ । कतिपय स्थानीय तहले कक्षा १ देखि १० सम्मको कक्षा एफएमबाट सञ्चालन सुरु गरेका छन् । गत जेठ २७ गते देखि काठमाडौं महानगरपालिकाले एफएमबाट कक्षा सञ्चालन शुरु गरेको छ । केही पालिकाले आफ्ना आँखाहरु आकाश तिर फर्काएर बसेका छन् आँखा  आकाशमा होइन भूमिमा लगाएर भुईको माटोले जे निर्देश गर्छ जे आवश्यकता बोध गर्छ त्यो नै गर्ने बेला हो यो ।

खुल्ला शिक्षा तथा दूर सिकाइ सम्बन्धी नीति २०६३ ले विभिन्न कारणले विद्यालय शिक्षाको अवसरबाट वञ्चित समूहको आवश्यकता अनुरुप शिक्षा प्रदान गर्नु भन्ने उल्लेख गरेको छ । आज तीन महिना कट्न लाग्दा पनि विद्यार्थी नियमित विद्यालयको पठनपाठन बाट टाढा रहेको यो बेला स्थानीय तहले सोच्नु पर्दैन ? दूर सिकाइका माध्यमबाट विद्यार्थीलाई सिकाइका लागि केन्द्रित गरिन्छ , केन्द्रित गर्न सकिन्छ भन्ने कुरा बोध हुनु पर्दैन ? कि यसका लागि केन्द्रले नै निर्देशन गर्नु पर्ने हो ?

हुन त स्थानीय तहले मात्रै चाहेर दूर सिकाइ हुन सक्दैन यसका लागि स्थानीय तहमा रहेका विभिन्न शैक्षिक सरोकारवालाहरुको भूमिका पनि रहन्छ । यसै सन्दर्भमा विशेषगरी दूर सिकाइ अन्तर्गत एफएम रेडियोको माध्यमबाट स्थानीय तहले किन पठनपाठन गराउन सकेका छैनन् भन्ने सन्दर्भमा केही सवालहरु चर्चा गर्ने कोशिस गरिएको छ ।

निर्देशनको अभाव

हिजो आज स्थानीय तहका जनप्रतिनिधिहरु भाइरस नियन्त्रणका लागि क्वारेण्टाईनको व्यवस्थापन, क्वारेण्टाईनमा रहेका व्यक्तिको स्वाव परीक्षण, श्रमिकहरूको चुलोको चिन्ता, सामाजिक जनचेतना अभिवृद्धि गर्ने कार्यहरु सँगसँगै अत्यन्तै संवेदनशील पक्षमा समय दिनु परेको यथार्थ हो यसलाई नकार्न मिल्दैन तथापि शिक्षा जस्तो क्षेत्रमा जिम्मेवार निकायले सम्बन्धित तहलाई निर्देशन गर्न नसक्नु र शिक्षा तर्फ ध्यान केन्द्रित गर्न नसक्नु दुर्भाग्य हो । हरेक क्षेत्रलाई सम्बन्धित क्षेत्रमा विकल्पहरूको खोजी गर्दै स्थानीय तहलाई अव्बल गराउन जुन निर्देशन गर्नु पर्ने हो त्यो नभएकै कारण कतिपय स्थानीय तहमा शिक्षा क्षेत्रको गति  प्रायः शून्य छ ।
 

उत्तरदायित्वको  अभाव

देश संघीयतामा गएसँगै सिंहदरवारको अधिकार गाउँघरमा पुगेको छ । स्थानीय तहमा शिक्षा युवा तथा खेलकुद शाखा रहेको छ । जस अन्तर्गत विभिन्न तहका  कर्मचारीहरु छन् कर्मचारी अभाव भएका ठाउँमा स्थानीय तहको माग अनुसार लोक सेवा आयोगले २०७६ सालमा ठूलो संख्यामा कर्मचारी नियुक्ति गरेको छ तर पनि केही स्थानीय पालिका बाहेक अधिकांश पालिकाका शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीले स्थानीय तहको परिवेश अनुसार वैकल्पिक शिक्षाको बारेमा केही गृहकार्य गरेको पाइँदैन । हामीले के गर्न सकिन्छ र यो विषम परिस्थितीमा माथिबाट कस्तो रणनीति आउँछ भन्दै माथिकै प्रतिक्षामा बसेका कारण पनि गति शुन्य छ । स्थानीय तहले शिक्षा क्षेत्रमा वैकल्पिक उपायको खोजी गर्दै स्थानीय कार्यपालिका  समक्ष पेश गर्ने उत्तरदायित्व शिक्षा शाखाको हो तर यो उत्तरदायित्व वहन गर्ने सम्बन्धित पक्ष प्रायः मौन देखिन्छन् ।

रेडियोको एकाधिकार

स्थानीय स्तरमा रेडियो ÷एफ एम को माध्यमबाट पठनपाठन सुरु गर्नका लागी जनप्रतिनिधीको चासो, शिक्षा शाखाको उत्तरदायित्व हुँदाहँदै रेडियोको एकाधिकार भयो भने पनि सम्भव छैन । त्यसको सञ्चालकले यो विषम परिस्थितिमा हामी भन्दा अर्को सहज विकल्प छैन भन्ने मनशायले अधिकतम रूपमा स्थानीय तहलाई आर्थिक बोझ पार्ने हिसाबले अगाडि बढे पनि सम्भव देखिँदैन । एफएम सञ्चालकहरुले हाम्रो पनि सामाजिक उत्तरदायित्व हो भन्ने बोधका साथ समन्वयात्मक भूमिकामा रहने हो भने सम्भव रहन्छ ।

निजी विद्यालयको  प्रभाव

निजी विद्यालयले विशेष गरेर शिक्षा सँगसँगै व्यवसायलाई पनि अगाडि बढाएका छन् । यस सन्दर्भमा स्थानीय तहले एफएमबाट पठनपाठन सुरु गर्यो भने निजी विद्यालयलाई प्रत्यक्ष अप्रत्यक्ष मार पर्ने भएकाले जुन स्थानीय पालिकामा निजी विद्यालयको प्रभुत्व हुने गरेको छ ती पाालिकाले रेडियो ÷एफएमबाट पठनपाठन गराउन सकेका छैनन् र सक्दैनन् पनि ।

पेशागत संघ संगठन

विभिन्न विचारधाराका आधारमा शिक्षकका हकहित र पेशागत क्षमता अभिवृद्धिका लागि गठित संघ संगठनहरुलाई स्थानीय तहले खासै वास्ता गरेको पाइँदैन । जसका कारण स्थानीय पेशागत संघ संगठनहरु र स्थानीय पालिकाका बीचमा शैक्षिक सरोकारका विषयमा खासै छलफल बहस हुँदैन । जटिल परिवेशमा मात्र यसो खोजे जस्तोे गर्ने अवस्थाले सहकार्य हुँदैन । केही पालिकामा केही संघसंगठनहरुले आफ्नो भूमिका स्थापित गराउदै शिक्षा क्षेत्रलाई मार्गदर्शकको भूमिकामा उभ्याएका छन् भने कतिपय पालिकामा यो बेलामा  उही माथिको निर्देशन र  केन्द्रीय सूचनाको भर परेर बस्ने पेशागत संघ संगठनका कारण पनि स्थानीय तहमा विकल्पका बारेमा बहस हुँदैन ।

प्र.अ. एवं शिक्षक

विद्यालयको नियमित पठन पाठनमा खटिने प्र.अ. एवं शिक्षकको कारण पनि गौण रुपमा एफएम रेडियोमा पठनपाठन गर्न सकिदैंन । उही परिस्थितिलाई मात्रै अगाडि सार्ने मनोवृत्तिका कारण त्यस्तो हुन सक्छ । तर पनि जिम्मेवार निकायबाट यो विषम परिस्थितिलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने सूचना पाए भने शिक्षकहरु कटिबद्ध भएर आफ्नो जिम्मेवारी बोध गर्नै पर्ने हुन्छ । एउटा शिक्षकले दुवै विद्यालयको सरुवा सहमति लगेर स्थानीय पालिकाले महिनौं अड्काउँदा मनमा जति पीडा भए पनि आफ्नो कर्तव्य भुलेका छैनन् । हरेक परिस्थितिलाइ अनुकुल बनाउने प्रयास गर्दै रेडियोमा दैनिक सिकाइका लागि तयार गर्नुपर्ने दैनिक पाठ योजना देखि लिएर प्रसारण तथा निरन्तर अनुगमन र सहजिकरणका लागि शिक्षकहरु तयार भएकै छन् ।

माथि प्रस्तुत गरिएका कारणहरु मध्ये कुनै एक मात्रको तालमेल मिलेन भने एफएमबाट सिकाइ ओझेलमा पर्छ । तर मूख्य संम्बन्धित पक्षले सकारात्मक चिन्तन गर्ने हो र कलिला मस्तिष्कको भावनालाई बुझ्ने हो भने खासै ठूलो कुरा होइन । यस्तै  अन्य कारणहरुमा बिजुली, स्थानीय क्षेत्रको सम्पूर्ण भूभागमा एफएम रेडियोको प्रशारण क्षमताको अवस्था, प्रत्येक अभिभावकसँग रेडियोको उपलब्धता नहुनु जस्ता गौण कुराहरुलाई स्थानीय परिवेश अनुसार समाधान गर्ने प्रयास गर्नुपर्छ ।

कोरना भाइरस फैलिएको रफ्तार हेर्दा पूर्ववत् रुपमा विद्यालयमा गएर नियमित पठनपाठनको कार्य छिट्टै हुने सम्भावना धकेलिदैं छ । तसर्थ थप अन्योलको अवस्था आउनसक्ने कुरालाई दृष्टिगत गर्दै स्थानीय तहले स्थानीय परिवेश अनुकुलको  सिकाइ कार्य अगाडि बढाउनको लागि  अझै कतिञ्जेल कसको मुख ताकेर बस्ने हो ?

देशभरका विद्यार्थीलाई एउटै माध्यमबाट सिकाइ कार्य गराउन सक्दैनौ यो पुष्टि भइसकेको छ । जहाँ जे उपलब्ध हुन्छ, जे प्रभावकारी हुन्छ त्यही अपनाएर सिकाइ अघि बढाउनुको विकल्प छैन । यसका लागि स्थानीय सरकारले माथिको मुख नताकी कार्य अघि बढाउन ढिलो गर्नु हुँदैन ।

चालिसे श्री शिव माध्यमिक विद्यालय, गलकोट नगरपालिका – ८, वाग्लुङका प्रधानाध्यापक हुन् ।

प्रतिक्रिया