Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

बालबालिकाको सिकाइ सहजिकरणमा स्थानीय सरकारका अभ्यास

आइतबार, १८ असोज २०७७
सम्पादकीय नोट : कोरोना भाईरस (कोभिड - १९)  का कारण आएको असहजतामा बालबालिकाको सिकाइ कसरी प्रभावकारी बनाउने ? कसरी शिक्षक र सम्बन्धित निकायलाई यस प्रति जिम्मेवार बनाउने ? यस सन्दर्भमा संसारमा के कसरी काम भईरहेका होलान् ? यहाँ के गर्न सकिएला ? सिकाइ सहजता र बालबालिकालाई केन्द्रमा राख्दा उब्जिएका यस्तै यस्तै प्रश्नको उत्तर दिन कोही सफल हुन्छ भने कि त्यो शिक्षक हो कि स्थानीय सरकार ! असल अभ्यास गरेकालाई समर्थन, कोशिस गरेकालाई हौसला र नगर्नेहरुलाई सजग बनाउँदै झकझक्याउने हाम्रो अभियानमा यसपटक काभ्रेको नमोबुद्ध नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तथा उपसचिव जनार्दन रिजालको आलेख । 
 
सन्दर्भ प्रवेश
 
कोरोना भाईरस (कोभिड - १९) को संक्रमणसँगै विगत ९ महिना देखि विश्व महामारीको चपेटामा परेको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन । देशका उद्योग, ब्यापार ब्यवसाय, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सबै क्षेत्र नराम्ररी प्रभावित भएका छन् । विश्व नै आर्थिक मन्दीको सिकार हुने अवस्था छ । शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि गम्भिर अवस्था सिर्जना भएको छ । 
 
राष्ट्रिय प्रयास
 
महामारीको प्रभाव बृद्धि सँगै नेपाल सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन अर्थात बन्दाबन्दी घोषणा सँगै प्रभावित भएका क्षेत्रमा प्रमुख क्षेत्र शिक्षा पनि हो । शिक्षा अरु क्षेत्र भन्दा संवेदनशिल छ । जससँग बालबालिका र युवाको ज्ञान र सीप जोडिएको छ । देशको भविष्य जोडिएको छ । लामो बन्दाबन्दि पछि नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जेठमा लागु गरेता पनि त्यो परिमार्जन गर्नु पर्ने अवस्था भइ पुन २०७७ भदौ १९ गते मन्त्रीस्तरीय निर्णय गरी जारी भईसकेको छ । यसले पहुँचको आधारमा विद्यार्थीको वर्गिकरण गरी विभिन्न वैकल्पिक विधिहरुको प्रयोग गरेर सिकाइ सहजीकरण गर्न दिशा निर्देश गरेको छ । यस कार्यमा विभिन्न निकायको भूमिका के हुने भन्ने समेत प्रष्ट पारेको छ । निर्देशिकाको दफा ३३ को उपदफा २ र ३ ले क्षेत्र विशेषमा प्रत्यक्ष सिकाइ कृयाकलाप सञ्चालन गर्न सकिने कुरा उल्लेख गरेको छ । जुन व्यवस्थाले स्थानीय तह र स्थानीय तहका वडा क्षेत्र समेतलाई शिक्षा क्षेत्रका लागि माहामारी विरुद्ध फुटेर तर एकजुट भइ लड्न जिम्मेवार बनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्चुअल शिक्षण सामग्री र विद्यार्थी स्वाध्यायन सामग्री विकास गरी वेव साईट, युट्यूवमा राख्ने तथा रेडियो र टेलिभिजनबाट निरन्तर कार्यक्रमहरु प्रशारण गरिरहेको छ । प्रविधिमा पहुँच हुने विद्यार्थीले यसबाट लाभ लिन सक्ने समेत अवस्था छ ।
 
महामारी कम गर्न क्वारेण्टाईन र आइसोलेसन निर्माण, प्रभावितको खोजि र उपचार, दैनिक जीवनयापनका लागि राहत वितरण जस्ता काममा संघीय सरकार सँगै कुममा कुम मिलाई जुटेको स्थानीय सरकारका अघिल्तिर शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने दायित्व पनि कायमै छ । संविधानतः विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकारकै हो, तर महामारीको अवस्थाले शिक्षा क्षेत्रमा सृजित समस्या सम्बोधन गर्न संघीय सरकारबाट नीतिगत रुपमै थप व्यवस्था भए पछि जिम्मेवारी बढेको अवस्था छ । 
 
जेठ मसान्तसम्म विद्यालय सञ्चालन तथा विद्यार्थीको शिक्षण सिकाइ कृयाकलाप अवरुद्ध रहेको अवस्थामा शिक्षा मन्त्रालयबाट जारी  विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार सिकाइ क्रियाकलाप भइ रहेकोमा विभिन्न क्षेत्रमा पुन देखिएको कोभिडको संकेतहरुका कारण विशेषत काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका क्षेत्रमा साउन महिनाको अन्तिम साताबाट भदौ मसान्तसम्म निरन्तर रुपमा विद्यालय सञ्चालन तथा विद्यार्थीको शिक्षण सिकाइ कृयाकलाप प्रभावित भईरहेको थियो । नगरपालिकाले व्यवस्थित क्वारेण्टाईन तथा आईसोलेशन वार्ड सञ्चालन गरी प्रभावित तथा संक्रमित व्यक्तिहरुलाई क्वारेण्टाईनमा राख्ने र पोजेटिभ केसहरु भएका व्यक्तिहरुलाई आईसोलेशनमा राखि व्यवस्थित गरिरहेको अवस्था अझै छ । नगरपालिका भित्र देखिएका फाटफुट घटनाहरु बाहेक यस नगरपालिकामा महामारीको कारण त्यति वढि प्रभावित देखिदैन तर वि पि हाई वे, नमोबुद्ध मन्दिर जस्ता पर्यटन क्षेत्रका कारण प्रभावित हुने सम्भावना त्यत्तिकै रहेको छ । स्थान विशेषमा अवस्था फरक फरक भएता पनि यस विषम परिस्थितिमा समेत बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्नु स्थानीय सरकारको समेत दायित्व रहेको कुरा सबैले स्वीकारेको अवस्था हो ।
 
पालिकाको प्रयास
 
लकडाउन शुरु भए यता नमोबुद्ध नगरपालिका क्षेत्रमा २०७७ असार १ बाट वैकल्पिक विधिबाट जस्तै रेडियोबाट पाठ प्रशारण, सिकाइ केन्द्र निर्धारण गरी सिकाइ, टोल सिकाइ, प्रदेश तथा केन्द्रीय तहबाट रेडियो तथा टेलिभिजनबाट प्रशारण हुने शिक्षण सिकाइका कार्यक्रमहरु हेर्ने सुन्ने र सिक्ने साथै कक्षा १ देखि १० सम्मका विद्यार्थीको हातहातमा निशुल्क पाठ्यपुस्तक र बाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थीलाई अभिभावकको सहयोगमा गर्ने क्रियाकलापहरुको पुस्तिका वितरण गरी घरघरमा सिकाइ वातावरण निर्माण जस्ता अभ्यासहरु लागु गरियो । नगरपालिका क्षेत्र भित्र पुन फाटफुट रुपमा देखिएका कोभिडको संकेतहरुले अनलाईन सिकाइ सञ्चालनमा रहे पनि साउन अन्तिम साताबाट भदौ मसान्तसम्म टोल र सिकाइ केन्द्रमा सिकाइ अर्थात प्रत्यक्ष सिकाइ हुन सकेनन् । 
 
यस नगरपालिका क्षेत्र भित्रका अधिकतम बालबालिकाहरुले यस्ता शैक्षिक कार्यक्रमबाट केहि लाभ प्राप्त गरे । तापनि नगरपालिकाले विभिन्न सहयोगी हातहरुसँग सेभ द चिल्ड्रेन, नाङशाल एसोसियसन र रोशी गाउँपालिका बीच सहकार्य गरेर सञ्चालन गरेको रेडियो शिक्षण कार्यक्रम विद्यार्थीको लागि उपयोगी हुँदाहुँदै पनि पहुँचको कारणले सोचे अनुरुप प्रभावकारी हुन सकेन । यसबाट प्रविधि र अन्य वैकल्पिक विधि यस नगरपालिकाको परिवेशमा सफल बनाउन थप प्रयास गर्नुपर्ने देखिएको छ । न्यून आर्थिक स्रोतका कारण चुनौति पूर्ण रहेको छ । 
 
शिक्षकहरुका लागि कक्षा १ – ३ को एकिकृत पाठ्यक्रम सम्वन्धी तीन दिनको पाठ्यक्रम प्रवोधिकरण कार्यक्रम समेत यस नगरपालिकाले अनलाईनबाट सञ्चालन गरिसकेको छ ।
 
अबको योजना
 
मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ परिमार्जन गरी पुन भदौ १९ गते जारी गरे पश्चात नगरपालिकाले भदौ २८ गते जारी गरेको सूचना अनुसार वडा स्तरमा विद्यालय, जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, अभिभावक र सरोकारवालाहरु समेतको सहभागितामा भएका बैठकहरुबाट प्राप्त निश्कर्षका आधारमा विद्यालयहरुबाट तयार गरी नगरपालिकामा प्राप्त सिकाइका लागि पेश गरिएका मोडालिटीहरुको  आधारमा र विद्यार्थीको शिक्षण सिकाइ सहजीकरणका लागि विभिन्न समयमा भएको सरोकारवालाहरु सँगको प्रत्यक्ष र भर्चुअल छलफलबाट परिस्थितिको विश्लेषण गर्ने कार्य भयो । निर्देशिकाले निर्दिष्ट गरेका सिकाइ सहजीकरणका तौर तरिका र स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गरी विद्यालय सञ्चालन गर्न अर्थात जहाँ विद्यार्थी त्यहाँ विद्यालयको अवधारणालाई आत्मसात गर्दै सिकाइ केन्द्रहरु निर्धारण गरी कार्यविधिको आधारमा सिकाइ सहजिकरण कार्य सञ्चालन गर्ने योजना नगरपालिकाको रहेको छ ।
 
कसरी गर्ने ?
 
विद्यालयले विद्यालयमा उपलब्ध विषयगत शिक्षकहरुको छलफलबाट कक्षागत रुपमा पाठ्यक्रम र पाठ्यपुस्तकमा व्यवस्था गरिएका पाठ्यवस्तुहरुलाई आवश्यकता अनुसार पाठ्यक्रम विकास केन्द्रले जारी गरेको पाठ्यवस्तु संयोजनका आधारमा समायोजन गरी शिक्षणको योजना तयार गरेर लागु गर्न सक्नेछ । यसरी योजना गर्दा महत्वपूर्ण पाठ र विषयवस्तुहरु जुन माथिल्लो कक्षासंग लम्वीय रुपमा अन्तर संवन्धित र जीवनोपयोगी छन् ती विषयवस्तुहरु नछुट्ने गरी योजना गर्नु पर्ने छ । पाठ्यक्रम विकास केन्द्रबाट तय गरिएको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ अनुसार शिक्षकले चैत महिनाको दोस्रो सातासम्मको समग्र पाठयोजना र क्रियाकलाम सहितको दैनिक पाठयोजना तयार गरी पठनपाठन गर्ने व्यवस्था विद्यालय र शिक्षकहरुले गर्नु पर्ने छ ।
 
विद्यालयहरुले अब संघीय सरकारबाट जारी निर्देशिका मापदण्ड निर्माण र सो अनुसारको कार्यतालिका तयारी, सहजिकरण र समन्वय, पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ अनुसारको कार्ययोजना र पाठयोजना तयारी ,  अनलाईन कक्षा सञ्चालनको तयारी, विद्यार्थीको लागि सामग्री उत्पादन, संकलन र वितरण, ईण्टरनेटको ब्यवस्था, स्थानीय शिक्षक अभिभावकसँग समन्वय र सिकाइ मोडालिटी तयार, अभिभावक सचेतना र समन्वय, विद्यालय हाता सरसफाइ, हात धुने साबुन पानीको ब्यवस्था सिकाइ सामग्री ब्यवस्थापन, सिकाइ केन्द्र ब्यवस्थापन,  सिकाइ सहजिकरण र सहजिकरणको अनुगमन तथा सहयोग गर्नु पर्दछ । 
 
विद्यालय भन्नाले शिक्षक, विद्यार्थी र विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ र अभिभावक समेतलाई बुझ्नु पर्दछ । यी दिइएका कुराहरु सामुहिक प्रयासमा मात्र सम्भव छ ।
 
सिकाइ सहजिकरणका लागि शिक्षक र अभिभाबकको प्रमुख भुमिका रहन्छ । पाठ्यवस्तु समायोजन गरेर पनि शैक्षिक सत्र पुरा गर्ने नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको योजना रहेकोले शिक्षकले निम्न कार्यहरु गर्नु पर्ने हुन्छ :
 
- पाठ्यवस्तु समायोजन ढाँचा २०७७ अनुसार शैक्षिक योजनाहरु निर्माण
 
- शैक्षिक सामग्रीहरु निर्माण
 
- सिकाइ अभ्यासका लागि सिकाइ सिटहरु निर्माण
 
- अभिभावकहरुसँग स्वास्थ्य मापदण्ड पालन र बालबालिकाहरुलाई ब्यस्त बनाउन के गर्न सकिन्छ छलफल
 
- सिकाइ केन्द्र मार्फत स्वास्थ्य मापदण्ड पालना गर्दै सिकाइ क्रियाकलाप सञ्चालन
 
- उपलब्ध अनलाईन माध्यमबाट बगमष्यर खष्मगब िअबिकक सामाग्री उत्पादन गरीसमय तोकेर चलाउन
 
- बालबालिकाको लागि सिकाईका लागि यलष्लिभ मा भएका सामग्री खोज गरी विद्यार्थीलाई पठाउन 
 
- समुदायमा समूह बनाई स्थानीय योग्य व्यक्तिको सहायता लिई बालबालिकाको हालसम्मको सिकाइको अवस्था पहिचान गरी सहजिकरण गराउन
 
- worksheet/project work बनाएर विद्यार्थीलाई उपलब्ध गराउने र कार्य समाप्ति पछि परीक्षण र मूल्यांकन
 
आफ्ना बालबालिकाको सिकाइ र मानसिक स्वास्थ्यलाई ध्यान दिन अभिभावक सँधै तत्पर रहनु पर्दछ झन् अहिले अवस्था अभिभावकलाई थप चुनौतिपूर्ण रहेकोले अभिभावकले निम्न कार्यहरु गर्नु पर्दछ 
 
- बालबालिकाहरुलाई घरको काम सिकाउने 
 
- घर र घर बरपर सरसफाईमा सहयोग गराउने 
 
- स्वास्थ्य सुरक्षाका बारेमा सिकाउने र अभ्यास गराउने 
 
- हालसम्म सिकेका कुराहरुलाई घरमा प्रयोगात्मक सीपका रुपमा प्रयोग गराउने 
 
- नयाँ नयाँ सिर्जनात्मक क्रियाकलाप गराउन उत्प्रेरित गर्ने 
 
- बालबालिकालाई विद्यालयको समय तालिका बनाई सोहि अनुसार क्रियाकलाप गर्न उत्प्रेरित गर्ने 
 
- आफ्नो संस्कार र रितिथीति सिकाउने
 
- सिकाइ केन्द्र वा घर बाहिर जाँदा बालबालिकालाई मास्कको ब्यबस्था गर्ने 
 
- बालबालिकासँग कुराकानी गर्ने, खेल खेल्ने, रमाईलो गर्ने छलफल गर्ने 
 
बालबालिका आफ्नै बुझाइ हुन्छ । बालबालिकामा पनि आत्म सम्मान हुन्छ । उमेर र अनुभवले साना भए पनि उनिहरुको हालसम्मको सिकाइ, अनुभव र ज्ञानलाई कम आँक्न सकिदैन । अतः अभिभाबक र शिक्षकको सहायतामा बालबालिकाहरुले निम्न कार्यहरु गर्नु पर्दछ : 
 
- घरको काममा सघाउ पुर्याउन र घर बरीपरी सफाई गर्न 
 
- स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न 
 
- पुराना पुस्तकबाट जीवनपयोगी सीपलाई ब्यबहारमा प्रयोग गर्न 
 
- आफ्ना परिवारसँग सामाजिक साँस्कृतिक कुराहरु सिक्न 
 
- करेसाबारीमा सिर्जनात्मक कार्य गर्न 
 
- तालिका बनाई नियमित रुपमा पठनपाठन अगाडि बढाउन
 
- प्रशारित पाठ्य सामग्री सक्रिय रुपमा सुन्न र दिईएका कार्य गरी सम्वन्धित शिक्षकलाई बुझाउन 
 
- पारिवारिक पेशा ब्यवसायिक सीप सिक्न र सिर्जनात्मक कार्यहरु गर्न 
 
- प्रकृति सँग रम्न र सिकाइ गर्न 
 
निष्कर्ष
 
महामारी कहिले सकिन्छ भन्ने यकिन नभएको अहिलेको अवस्थामा बालबालिकाको सिकाइका सन्दर्भमा तीनै तहका सरकारले बालबालिकाको मानसिक स्वास्थ्य र  सिकाइलाई प्राथमिकतामा राख्नु पर्दछ । स्वस्थ्य शरीर र मनले मात्र स्वस्थ क्रियाकलाप गर्न र सोच्न सक्दछ ।
 
अहिलेको अवस्था मानसिक स्वास्थ्य सम्वन्धी परामर्श आवश्यक भई सकेको छ । बालबालिको सिकाइका लागि सारांशमा निम्न कार्य गर्न सकिन्छ : 
 
- बालबालिका तथा आमाको मनोसामाजिक अवस्थाको पहिचान गरी परामर्शको ब्यवस्था गर्ने 
 
- विद्यार्थीको सिकाई सामग्रीको पहुँचको अवस्था पहिचान गर्ने 
 
- विद्यार्थी रहेको स्थानमा स्वयंसेवक परिचालनका लागि योग्य सिकाई स्वयंसेवक खोजी गर्ने, अभेलेखिकरण गर्ने र आवश्यकता अनुसार परिचालन गर्ने 
 
- सिकाइ केन्द्रको व्यवस्था गर्ने
 
- सिकाइ केन्द्रको स्वास्थ्य मापदण्ड पुरा गर्न सिकाइ केन्द्रको सरसफाइ र साबुनपानीले हात धुने ब्यवस्था 
 
- सिकाइ मोडालिटी (प्रविधि प्रयोग गरी अनलाइन अफलाइन सिकाइ, टोल सिकाइ, सिकाइ केन्द्रमा सिकाइ) तयार 
 
- सिकाइ सामग्री तयार गरी बिद्यार्थीसम्म पुर्याउन र सोही सामग्रीको आधारमा Online सिकाइ ब्यवस्थापन गर्न 
 
- सिकाइका लागि आवश्यक रेडियो, कम्युटर सहितको सिकाइ केन्द्र ब्यवस्था गर्ने 
 
- Online सिकाइ सामग्रीको स्रोत विद्यार्थीलाई उपलब्ध गराउन 
 
- उत्पादित सिकाइ सामग्री उपलब्ध गराउने, सिकाइ सामग्री उत्पादन गर्ने 
 
- विभिन्न विषयमा परियोजना कार्य दिन र सो गर्नलाई अनलाईन सहायता प्रदान गर्न 
 
- बालबालिकाले सिकाइ गरेका विषयबस्तु र सीपको परीक्षण गर्न 
 
बालबालिकाको सिकाइ देशको भविष्यसँग जोडिएको विषय हो । सिकाइ अवरुद्ध हुँदा बालबालिका र अभिभावक समेतको मानसिका स्वास्थ्यमा असर पर्दछ । जसले देशको समग्र विकास अर्थात सामाजिक, शारीरिक, मानसिक, वौध्दिक,आर्थिक विकासमा समेत असर पर्दछ । अतः बालबालिकाको सिकाइ योजनावद्ध रुपमा सञ्चालन गर्न स्वास्थ्यका सबै मापदण्ड पुरा गरी आवश्यक विधिहरु प्रयोग गर्न ढिला गर्नु भनेको देशलाई पछाडि धकेल्नु हो । अब हामी कति पछि धकेलिने हो मनन् गरी योजनावद्ध रुपमा कोभिड सँगै गतिशील हुन तयार रहनु पर्दछ ।

प्रतिक्रिया