Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

रोकिएका परीक्षा सञ्चालनको अनुमति

बुधबार, २१ असोज २०७७

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) को जोखिमका कारण स्थगित सबै तह र प्रकृतीका परीक्षा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्ले परीक्षा सञ्चालनको स्वीकृति दिएको सरकारका प्रवक्ता एवं परराष्ट «मन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरेका हुन् । 

नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले गत चैत यता निर्धारित सबै परीक्षा स्थगित गरेको थियो । अब स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरेर रोकिएका परीक्षा सञ्चालन गर्न स्वीकृति दिइएको ज्ञवालीले जानकारी दिए । 

'नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धि मापदण्डहरू पूर्णरूपमा पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरू सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ’ ज्ञवालीले भने ।

यसै बीच व्यवसायिक तालिम प्रदायक संस्थाहरूलाई पनि स्वास्थ्य मापदण्ड पालना गर्दै तालिम प्रदान गर्न स्वीकृति दिइएको उनले बताए । त्यस्ता तालिममा २५ जना भन्दा बढीको सहभागिता गर्न रोक लगाईएको छ । 
कोभिड १९ संक्रमण नियन्त्रणका लागि भन्दै विद्यालय तहका परीक्षा चैत ५ गते भित्रै लिन भनिएको थियो भने कक्षा १० को अन्तिममा लिईने परीक्षा पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । कक्षा ११ र १२ तथा विभिन्न् विश्वविद्यालय र सिटिईभिटिका परीक्षा पनि रोकिएका छन् । कक्षा १० को परीक्षा आन्तरिक मूल्यांकन मार्फत गरेर नतिजा प्रकाशन भए पनि अन्य परीक्षा भने अन्योलमा छन् । 

यस्तै सरकारले काठमाडौं उपत्यका कोरोना संक्रमणको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ । निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले सबैलाई सचेतता अपनाउन आग्रह गरेका हुन् । विभिन्न सेवा प्रवाह गर्दा वा लिँदा उच्च सतर्कता अपनाउनु पर्ने अवस्था आएको उनले बताए । 

प्रतिक्रिया