Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

योग्यतामा प्रश्न नउठोस् भन्नका लागि परीक्षा : शिक्षा मन्त्री

सोमबार, ०८ मंसिर २०७७

काठमाडौं - विद्यार्थीले प्राप्त गर्ने योग्यताको प्रमाणपत्र माथि देश विदेशमा कँही कतै प्रश्न नउठोस् भन्नका लागि कक्षा १२ को परीक्षा लिन लागिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले स्पष्ट पारेका छन् । कोभिड १९ को संक्रमण जोखिमका कारण स्थगित भएको सात महिना पछि मंगलबारबाट शुरु गर्न लागिएको परीक्षाका बारेमा विद्यार्थी तथा अभिभावकलाई आश्वस्त पार्न सामाजिक सञ्जाल मार्फत् भिडियो अपिल सार्वजनिक गर्दै मन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् ।

'कक्षा १२ विद्यालय शिक्षाको अन्तिम तह भएकोले यस पछि तपाईहरु कोही उच्च शिक्षा अध्ययनका लागि देश तथा विदेशका विभिन्न विश्वविद्यालयमा जानुहुन्छ भने कोही कामको संसारमा प्रवेश गर्नु हुने छ' उनले भनेका छन् 'त्यस बेला तपाईहरुले प्राप्त गरेको योग्यताको प्रमाणपत्र माथि कँही कतै प्रश्न नउठोस् भन्नका लागि यो कोरोना संक्रमणको विशिष्ठ अवस्थामा पनि नेपाल सरकारले परीक्षा लिने निर्णय गरेको हो ।' 

कोभिड विरुद्धका मापदण्ड सही ढंगले पालना गर्दै परीक्षामा सहभागी हुन अपिल गर्दै मन्त्री पोखरेलले विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिन पनि अनुरोध गरेका छन् । घरबाट परीक्षा केन्द्र आउ जाउ गर्दा समेत आवश्यक सचेतना अपनाउन उनको अनुरोध छ । केही समय अघि आफू पनि कोरोना संक्रमित भएको उल्लेख गर्दै उनले कोरोनाका बारेमा सचेतना अपुग रहेको बताए । सही ढंगले मास्क लगाउने भौतिक दुरी कायम गर्ने, बेलाबेलामा हात धुने जस्ता सामान्य कुरा पनि पढेलेखेका मान्छेहरुले पालना नगर्ने वा जानेकाले पनि नगर्ने, बुझ पचाउने जस्ता कार्यले गर्दा महामारी गहिरिएको आफूले अनुभव गरेको उनको भनाई छ । 

त्यसैले परीक्षार्थीले सही ढंगले स्वास्थ्य मापदण्ड पालना गदै अरुका लागि दृष्टान्त बन्न समेत उनको अनुरोध छ । परीक्षा केन्द्र वरीपरी भिडभाड नगर्न उनले अभिभावकलाई अनुरोध गरेका छन् । परीक्षा सफलता पूर्वक सम्पन्न गर्नका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने पनि उनले बताएका छन् । 

'परीक्षा सम्पन्न गर्न तीनै तहका सरकार लागि परेको भएता पनि मुख्य स्थानीय सरकारको नेतृत्व विना परीक्षा सफल हुन सक्दैन' उनले भनेका छन्, 'स्थानीय सरकारलाई सचेतता पूर्वक अग्रपंक्तिमा रहेर पहलकदमी लिन अनुरोध छ ।'

बिहान ८ बजे देखि साढे ९ बजे सम्म डेढ घण्टा मात्रै हुने कक्षा १२ को परीक्षामा होम सेण्टरको व्यवस्था गरिएको छ । यस पटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने छ । बाँकी ६० प्रतिशत मध्ये  ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने गरी कार्यविधि निर्माण गरिएको छ । यसका लागि कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिक तर्फ प्राप्त विषयगत प्राप्तांकलाई सतप्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने छ । यसैगरी कक्षा १२ मा अध्ययनका क्रममा विद्यालयबाट गरिएको आन्तरिक मूल्यांकनको अङ्कभार सैद्धान्तिक तर्फको कूल पूर्णाङ्कलाई सतप्रतिशत मानि २० प्रतिशत हुने कार्यविधिमा उल्लेख छ ।  

गत बैशाख २१ गतेका लागि तोकिएको परीक्षा कोरोना भाईरस कोभिड १९ को संक्रमण जोखिमका कारण चैत २५ गते स्थगित गरिएको थियो । बिचमा परेका शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते परीक्षा सकिने छ । 

प्रतिक्रिया