Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

सात महिना सम्म रोकिएको विद्यालय तहको अन्तिम परीक्षा शुरु

मंगलबार, ०९ मंसिर २०७७

भक्तपुर- कोभिड - १९ संक्रमण जोखिमका कारण सात महिना सम्म रोकिएको विद्यालय तहको अन्तिम कक्षाको पहिलो दिनको परीक्षा सामान्य रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । मंगलबार शुरु भएको कक्षा १२ को परीक्षाका लागि तोकिएका देशभरका ४ हजार १ सय ५ केन्द्रमा सामान्य रुपमा परीक्षा भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । 

'देशभरका सबै केन्द्रमा परीक्षा निर्वाध रुपमा सम्पन्न भएको प्रारम्भिक रिर्पाेटिङ् छ' उनले भने 'परीक्षा सकिएको ३ घण्टा सम्म कतैबाट केही असामान्य खबर नआउनु नै परीक्षा सामान्य रुपमा सम्पन्न भएको पुष्टि हो ।'

कोभिड संक्रमण फैलिरहेको अवस्थामा परीक्षा कसरी सम्पन्न हुन्छ भन्ने चिन्ता र चासोका बिच भएको परीक्षामा शिक्षक र विद्यार्थीले स्वास्थ्य सजगतालाई पर्याप्त ध्यान दिएको देखिन्थ्यो । विद्यार्थी र शिक्षकले भौतिक दुरी, मास्क, पञ्जा र स्यानिटाईजरको प्रभावकारी प्रयोग गरेका छन् । यसले आउँदा दिनका परीक्षा पनि सामान्य रुपमा सम्पन्न हुने कुरालाई बल दिएको उनले बताए । स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्कमा साबुन पानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइएको थियो । यस बर्ष परीक्षामा ४ लाख ३३ हजार विद्यार्थी सहभागी हुँदैछन् । 

'केही विद्यार्थी सहभागी नभएका पनि हुन सक्छन्, जुन कुरा सामान्य अवस्थामा पनि हुने गर्दथ्यो'  पौडेलले भने 'कति विद्यार्थी सहभागी भएनन् भन्ने कुरा सबै विवरण संकलन भए पछि मात्रै भन्न सकिन्छ ।'

कोभिड संक्रमणकै कारण परीक्षामा सहभागी हुन नसेका विद्यार्थीका लागि पछि परीक्षा लिने व्यवस्था गरिएको छ ।  बिहान ८ बजे देखि साढे ९ बजे सम्म डेढ घण्टा मात्रै भएको परीक्षामा होम सेण्टरको व्यवस्था गरिएको छ । हरेक परीक्षा केन्द्रको एउटा कोठामा बढीमा २० जना परीक्षार्थी राख्नु पर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । गत बैशाख २१ गतेका लागि तोकिएको परीक्षा कोरोना भाईरस कोभिड १९ को संक्रमण जोखिमका कारण चैत २५ गते स्थगित गरिएको थियो । बिचमा परेका शनिबार पनि परीक्षा सञ्चालन गरेर परीक्षा मंसिर १६ गते सकिने छ ।

यस पटक कूल पूर्णांक मध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा लिईएको हो । बाँकी ६० प्रतिशत मध्ये  ४० प्रतिशत कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने गरी कार्यविधि निर्माण गरिएको छ । यसका लागि कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिक तर्फ प्राप्त विषयगत प्राप्तांकलाई सत प्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने छ । यसैगरी कक्षा १२ मा अध्ययनका क्रममा विद्यालयबाट गरिएको आन्तरिक मूल्यांकनको अङ्कभार सैद्धान्तिक तर्फको कूल पूर्णाङ्कलाई सत प्रतिशत मानि २० प्रतिशत हुने कार्यविधिमा उल्लेख छ ।  

कार्यविधिको यो व्यवस्थाले समकक्षतामा प्रश्न उब्जिन सक्ने भन्दै चिन्ताका आवाज पनि उठ्न थालेका छन् । १ सय ५० घण्टाको पाठ्यभार र सय नम्बरको परीक्षा लिनु पर्ने व्यवस्थालाई हचुवाका भरमा खुम्च्याईएको भन्दै पाठ्यक्रमका केही विज्ञले आपत्ति जनाउँदै आएका छन् । यसले भविष्यमा देश विदेशका विभिन्न विश्वविद्यालयले विद्यार्थीको समकक्षताका बारेमा प्रश्न उठाउन सक्ने उनीहरुको चिन्ता छ । 

तर, विद्यार्थीले प्राप्त गर्ने योग्यताको प्रमाणपत्र माथि देश विदेशमा कँही कतै प्रश्न नउठोस् भन्नका लागि कक्षा १२ को परीक्षा लिईएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले स्पष्ट पारिसकेका छन् । 

पढ्नुहोस् : योग्यतामा प्रश्न नउठोस् भन्नका लागि परीक्षा : शिक्षा मन्त्री

प्रतिक्रिया