Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

फरक जिल्लाका विद्यार्थीको कापी बोर्डमै पठाउनु पर्ने, शिक्षकको रोष्टर बनाउन निर्देशन

विहीबार, ११ मंसिर २०७७

भक्तपुर - फरक जिल्लाका विद्यालयहरुबाट कक्षा १२ को परीक्षामा सहभागी परीक्षार्थीको उत्तरपुस्तिका विद्यालयगत रुपमा तेरिज बनाई पठाउन राष्ट्रिय परीक्षा बोर्डले आफू मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ । कोरोना भाईरस कोभिड १९ संक्रमण जोखिम कायमै रहेकोले फरक जिल्लाका विद्यार्थीलाई पायक पर्ने विद्यालयमै परीक्षा दिने व्यवस्था मिलाईएको छ । त्यस्ता विद्यार्थीको उत्तर पुस्तिका परीक्षण विना नै परीक्षा नियन्त्रण कार्यालयमा पठाउन भनिएको हो । 

अन्य परीक्षार्थीको कापी जाँच्ने कामका लागि भने शिक्षकको रोष्टर बनाउन र तोकिएका योग्यता भएका शिक्षक नभएमा परीक्षा नियन्त्रण कार्यालयमा कापी पठाउन बोर्डले आफू मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ । बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र सबै शाखा कार्यालयलाई बुधबार परिपत्र गर्दै बोर्डले उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गर्ने शिक्षकहरुको योग्यता निर्धारण गर्दै रोष्टर बनाउन भनेको छ ।  

उत्तरपुस्तिका परीक्षणका लागि कम्तिमा ३ बर्ष पहिले सम्बन्धित विषयमा स्नातकोत्तर गरी कम्तिमा २ बष देखि सम्बन्धित विषय अध्यापनरत हुनु पर्ने र सम्परीक्षणका लागि कम्तिमा ७ बर्ष पहिले सम्बन्धित विषयमा स्नातकोत्तर गरी सम्बन्धित विषय अध्यापन गरेका बरिष्ठ विषय विज्ञ शिक्षकहरुको नामावली तयार गरी रोष्टर स्विकृत गराउन परिपत्रमा भनिएको छ । सम्परीक्षणका लागि विद्यार्थीसंख्याका आधारमा कम्तिमा २ जना देखि आवश्यकता अनुसार बढिमा १० जा सम्मका शिक्षकहरु सम्परीक्षकमा रहन सक्ने छन् । 

विद्यालयमा सम्बन्धित विषयको योग्यता पुगेका शिक्षक नभई परीक्षण विना नै उत्तरपुस्तिका प्राप्त भएमा कार्यालयमा उपलब्ध योग्यता पुगेका एवं रोष्टरमा रहेका शिक्षकबाट परीक्षण गराउन बोर्डले भनेको छ । तर, कार्यालयमा समेत योग्यता पुगेका शिक्षक नभएमा ती उत्तरपुस्तिका तत्कालै परीक्षा नियन्त्रण कार्यालयमा पठाउनु पर्ने छ । उत्तर पुस्तिका परीक्षण र सम्परीक्षण गरी जतिसक्दो चाँडो परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले भनेको छ । 

गत बैशाखमा हुनु पर्ने कक्षा १२ को परीक्षा सँक्रमण जोखिमका कारण ७ महिना पछि गत मंगलबारबाट शुरु भएको छ । 

 

प्रतिक्रिया