थिलथिलो शिक्षा !


शिक्षा विकासको पूर्वाधारको  पनि  पूर्वाधार  हो । जनशक्ति निर्माणको  सुत्राधार हो । प्रत्येक व्यक्तिमा अगम्य  क्षमता  रहेको हुन्छ । त्यो क्षमतालाई  शासकले शिक्षालाई साधन बनाएर आफ्नो हित र स्वार्थ अनुकुल प्रयोग गर्छन् र गर्दै आएका छन् । हामी शिक्षा भन्छौं, पढ्छौं  र घोक्छौं  तर त्यसको व्यवहारिक  प्रयोग हुन्छ कि हुदैन ? हामीलाई थाहा छैन । अञ्जानमै सिक्दा रहेछौं ।  लादिएको शिक्षा ।  हामी के बन्दैछौं ?  कस्तो बनाउँदै छन् ?  त्यो ख्याल  हामीलाई  हुँदो रहेनछ  । शिक्षा नशा रहेछ । चेतना र विवेकको  हत्या गर्ने । विवेक गुम्नु शिक्षा रे !

धन, धर्म, वाद वा विचार, जात, क्षेत्र र सत्ताको आडका दिने शिक्षाले विवेकको हत्या हुँदोरहेछ । शिक्षाको आफ्नो छुट्टै मुल्य मान्यता हुँदो रहेनछ ।  शिक्षाले  व्यक्तिलाई  अन्धो र  कसै न कसैको अन्धभक्त बनायो । अन्धभक्त  हुनुलाई सच्चा  शिक्षा मान्यौं । यसको अर्को नाम स्कुलिङ्ग रे ! औपचारिक  शिक्षामा भने पाठ्यक्रमको साँघुरो धेराभित्र शिक्षार्थीलाई  बन्द कोठामा  उसको दिमागमा भर्ने गरिन्छ  । 

अरीतिक शिक्षाको क्षेत्र  भने व्यापक  छ । यसको प्रकृति र समाज पूरै पाठ्यक्रम बन्छ । यसबाट व्यक्ति आफू अनुकुल शिक्षा लिइरहेको हुन्छ । 

वर्तमान अवस्था

वि.सं २००७ साल पछि विद्यालयको संख्या भने ज्यामितीय आधारमा थप भए । वि.सं २०३७ पछि निजी विद्यालय समेत च्याउ उम्रे झैँ उम्रिए । विद्यालय स्थानीय आवश्यकता भन्दा नेताको  पहुँचका आधारमा खोलिए । विद्यालय भने टोलटोलमा पुगे ।  शैक्षिक गुणस्तरको पाटो भने फरक  रह्यो । नयाँ शिक्षा भनियो । स्थानीय ज्ञान र सीप कोमामा पुग्यो । 

गाउँगाउँबाट विदेशमा काम गर्ने मजदुर उत्पादन भए । विद्यालयले रोजगारीको अवसर प्रसस्त  सिर्जना गर्यो  । कयौँ विद्यालयमा  विद्यार्थीको संख्या भन्दा शिक्षकको संख्या बढी छ  । उच्च शिक्षामा पनि  बिषयगत शिक्षक छन्, विद्यार्थी छैनन् । शिक्षामा कर्मचारी छन्, काम छैन । प्रमाणपत्र छन्, रोजगारी छैन ।

विद्यालयमा सत्र थरीका शिक्षक छन् । केही शिक्षकले दाम पाएका छन्, तर  काम छैन । केहीको काम मात्र छ, दाम छैन । सरकारी  तलब बुझ्ने केही   शिक्षक र कर्मचारी निजी विद्यालय  मालिक बनेका  छन् । समग्रमा  शिक्षा प्रणालीमा  खोटैखोट छ । यसको  पुनर्मूल्याङ्कन गर्ने बेला  भएको छ  । हामीले शिक्षा भित्र कहिल्यै सुधारका  विकल्पका सम्भावना खोजेनौं बरू विदेशी प्रयोगलाई  जस्ताको त्यस्तै नक्कल गरयौँ । यसले शिक्षा न घरको न घाटको भयो । 

शिक्षक विनाको शिक्षाको प्रयोग पनि सफल भयो । शिक्षालाई धर्म र सेवासँग जोड्यौ । कलियुगका गुरूहरूले  समेत  सेवा र धर्मको नाममा कसैले विना तलब र कसैले कम पारिश्रमिकमा विद्यालयमा पढाए । कविताको निम्न हरप घोके “देशभक्ति त मर्दैन चुत्थै देश भए पनि । पति भक्ति त मर्दैन पापी पति भए पनि ।“  सत्ययुग आउने  सोचे । तर सतिले सरापेको देश । भिमसेन थापा आफैं सेरिएर मर्नु परेको देश । इतिहास नपढेका  शिक्षक । आशावादी सोच !

मनोविज्ञान र शिक्षा 

व्यक्तिमा भिन्न इच्छा, आकांक्षा, चाहाना हुन्छन् । 

व्यक्ति जन्मदै स्वार्थी भ्रष्टाचारी र गुवाज प्रकृतिको हुन्छ – मेकियावेली  ।  

मस्तिष्कमा  जन्म देखिनै जन्मजात विचारहरू  आउँछन् – दिकार्ते । 

आयातित  शिक्षाले जन्मजात र अनुभवबाट  प्राप्त गरेको शिक्षालाई नष्ट गर्न सक्दैन, सकेन पनि । साहित्यमा  यी गुणलाई स्थायीभाव भनियो । व्यक्तिका  इच्छा, चाहाना र गुण एकातिर र सरकारबाट  लादिएको शिक्षा  अर्कोतिर । खोजेको शिक्षा र लादिएको शिक्षा बीच अन्तर भयो । व्यक्तिको प्रतिभा  मर्यो । अवसर पाउना साथ दबिएर बसेको  व्यक्तिवादी, जातिवादी, क्षेत्रवादी शिक्षा प्रवल हुन्छ र भएको छ । व्यक्तिलाई  बाहिरबाट आयातित  शिक्षाले सधाउने  काम गर्यो । पिञ्जरामा राखेको सुँगालाई रटाए जस्तै । आयातित  शिक्षा बोलीबाट  र सक्कली शिक्षा भने व्यवहारबाट प्रस्तुत भईरहेको हुन्छ । वास्तबमा  व्यक्तिका भाव र विचार उसका व्यवहारबाट प्रस्तुत हुन्छन् । शिक्षालाई  मनसँग जोड्न सकेमा शिक्षा स्थायी र प्रभावकारी हुनसक्छ ।

शिक्षाले के सिकायो 

कसैले पढ्न पाइन भनेर चिन्ता वा पश्चाताप गर्नुपर्ने कुनै कारण छैन । पढेर प्रमाणपत्र  धारण गर्ने हामी नै  हौं । हाम्रो शिक्षाले नेता बनायो । कर्मचारी  उत्पादन गर्यो । मजदुर बनायो। शिक्षाले  शिक्षक बनायो । सबैलाई  शिक्षाले के के सिकायो, के बनायो ?  हाम्रो  व्यवहारबाट  छर्लङ्ग भएको छ  । जो तपाईंले  पढ्न पाउनु भएको छैन,  तपाईं  भर्जिन हुनुहुन्छ । तपाईंले  विदेशी दानापानी र विदेशी ज्ञान सेवन गर्नु भएको छैन । तपाईंले देश र जनतालाई  कसरी लुट्ने त्यो नयाँ सीप  सिक्नु भएको छैन । देशको माया छ । आफ्नै देशमा बनेको कुटो, डोको, हथौडा, हलो चलाउनु भएको छ । गाग्रीको पानी, घ्याम्पाको जाँड र ठेकीको मोहीले तपाईंले तिर्खा मेटाउनु भएको छ । ढिंडो, सिस्नु, गिठ्ठाले  पेट भर्नुहुन्छ  । राडी र गुन्द्री माथि निन्द्रा परेको छ । गीता, रामायण र महाभारत ज्ञानका स्रोत भएका छन् । शिलामा देवता देख्नु भएको छ । 

भिमसेन थापा, वलभद्र कुँवर, भक्ति थापाले अहिलेको  औपनिवेशिक शिक्षा पढ्न पाएनन् । त्यसैले,  होला सायद  साम्राज्यवादसँग झुकेनन् । देश बेचेनन्  । देशको ढिकुटी लुटेनन् । अहिले  शिक्षा औपनिवेशिक भयो । यसले विदेश प्रतिको मोह  जगाएको छ । सबैको धन कमाउनु नै एउटै साझा लक्ष्य बनेको छ । नजानिंदो रूपमा  नेपाली  संस्कृति प्रति  वितृष्णा जगाउँदै लगेको छ । बरू नपढ्नेहरूले  देश बचाए । राष्ट्रियता  त जोगाए ।  

दासता  र शिक्षा 

शिक्षा श्रीखण्ड हो । नेपालीमा एउटा उखान छ “जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड“ भनेझैं कतिपय राष्ट्रले शिक्षाको महत्व बुझे, चन्द्रलोक पुगे । यसको  हामीले मुक्त कण्ठले प्रशंसा गरयौं । यो यात्रा त्रिपुर विमान, पुष्पक विमान, तारामुख विमान, सुत विमान  बन्नु भन्दा  कयौं हजार बर्ष पछिको कुरो हो । हात्तीको टाउको जोडेका  गणेश, बोकाको टाउको जोडिएका सेतिदेवीका पिता दक्षप्रजापति जस्ता पात्रलाई हेर्दा दुई  भिन्न प्राणीका अङ्गलाई  जोड्ने चिकित्सा विधि कहाँ गयो ?  शुक्राचार्यको संजीवनी  शिक्षा  कहाँ हरायो ? जसले वलीलाई बचाए । हामीले यसमा गर्व गर्न सकेनौं । यहाँ प्रश्न उठ्छ, हामी कहाँ चुक्यौं, शिक्षाले कहाँबाट बाटो बिरायो ? महर्षिहरूले  विश्वज्ञान दिए । विश्वशान्तिको  शिक्षा दिए  । गीताले निष्काम  कर्मवादमा जोड दियो  । पृथ्वीनारायण शाहाका दिव्योपदेश आज पनि आदर्श वाक्यको रूपमा रहेका छन् । 

राणाहरूले शिक्षालाई शत्रु देखे । उपनिवेशवादी  शिक्षा सुरू गरे । पञ्चायतले सत्ता टिकाउने कवचको रूपमा शिक्षालाई प्रयोग गर्यो । २०४६ पछि शिक्षा आयातित  बन्यो । शिक्षामा आफ्नोपन हरायो । विदेशीको हुबहु  नक्कल भयो । नक्कल गर्नु नै  आधुनिक शिक्षा रे । शिक्षामा  आइएनजिओ र डोनरको प्रभाव    बढ्यो । प्रधानमन्त्रीले होलीवाइनसँग  लिएको शिक्षाले पत्र पत्रिकामा धेरै चर्चा पायो । 

देशमा मेकाले शिक्षा लागू भयो । शिक्षाले  वौद्धिक, सीपहीन, सिर्जनशील क्षमता नभएका जनशक्ति उत्पादन गर्यो । उत्पादन गर्न नसक्ने । उपभोगमुखी । शिक्षाले  विश्व बजारले खोजेको थ्रीडि कार्यका लागि उपयुक्त जनशक्ति भने उत्पादन  गर्यो । हातमा प्रमाणपत्र छ, सीप नै छैन । मुख चल्छ, हात चल्दैन । हात चलायो, इज्जत जान्छ । मजदुरमात्र उत्पादन गर्नु  शिक्षाको लक्ष्य बन्नु हुन्न ।

शिक्षामा लुटको नयाँ रूप 

शिक्षा भित्र राजनीति प्रवेश गर्यो । राजनीतिक नेताका नाममा  शिक्षालय खुले । विगतको निरन्तरता । उही सामन्तवादी सोचको निरन्तरता । ठूला मान्छेको  नाममा  राष्ट्रिय सम्पत्तिको प्रयोग गर्ने, व्यक्तिगत  नाफा कमाउने  लुटको नयाँ तरिकाको  सुरू भएको छ  । हात्तीका दुईथरिका दाँत  जस्तै । यसमा राजनीतिक दल बीच होडबाजी नै चलेको छ । नेपालीमा एउटा उखान छ “अकबरी सुनलाई कसी लगाउनु पर्दैन“ जनप्रिय नेताको नाम प्रत्येक जनताको मन मष्तिषकमा नमेटिने गरि  लेखिएको हुन्छ ।

शैक्षिक  प्रमाणपत्रमा नेताको नाम भँगेरा टाउके अक्षरले लेख्दैका नेता प्रति श्रद्धामात्र होइन प्रमाणपत्र प्रति नै घृणा आउने सक्ने पनि हुन्छ । व्यक्तिका शैक्षिक  प्रमाणपत्रमा  व्यक्तिको  नामले रङ्ग्याउने चलन अन्त्य हुनु राम्रो हुन्छ  । यो शैक्षिक विकृतिको रूपमा झ्याङ्गिदै  गएको छ । यो नवसामन्तवादको नयाँ प्रयोग हो ।

विधान भन्दा व्यक्ति प्रधान

पछिल्लो समय शिक्षा क्षेत्रमा  पनि संविधान भन्दा कानुन, कानुन र  नियम भन्दा   विधि र विधिभन्दा व्यक्ति प्रधान हुँदै गएको छ । संविधानमा रहेको समाजवाद परिपत्रसम्म  पुग्दा व्यक्तिवादमा परिणत हुन थाल्यो । साथै , संविधान उल्लेख भएको शिक्षाको मौलिक हक विद्यार्थी माझ  पुग्दा दयावाद बन्न पगे  । सेवा मुलक हुनुपर्ने  निजी विद्यालय उद्योग र व्यवसाय  बने । पार्टीका नेताको निर्देशन शिक्षा नीति, नियम भन्दा माथि हुन थाल्यो । शिक्षा ऐन नियम अदृष्य हातबाट तयार  हुन  थाले । मन्त्रालय साक्षी किनारामा सही गर्ने पात्र मात्र बन्यो । 
शैक्षिक  नीति, नियम समस्या समाधान तर्फ भन्दा थप समस्या बल्झाउने तर्फ उन्मुख छन् । एनजिओ र आइएनजिओ मन्त्रालयको  सल्लाहाकार बन्न पुगे । नहुने काम हुनलागे  । माथिको आदेश ! संविधान, ऐन, नियम सबै चुप ।

शिक्षा शैक्षिक उपनिवेशवादबाट थिलथिलो भएको छ । विद्यालय आवश्यकताको आधारमा भन्दा दवावको आधारमा स्थापना भए । कति त झोले विद्यालय । कति नाम मात्रका । विद्यार्थी छन्, शिक्षक छैनन्, शिक्षक छन् विद्यार्थी छैनन्, विद्यार्थी र शिक्षक छन् विद्यालयको भवन छैन । सबै छ, पाठ्यक्रम सिर्जनशील छैन । एउटै विद्यालयमा १७ थरिका शिक्षक छन् । प्रवेश पनि १७ थरिबाटै भएको छ भन्दा फरक नपर्ला  । कोही  स्वतः, कोही अन्तर्वार्ताबाट, कोही योग्यताक्रमको आधारमा स्थायी । नाता, धन, वाद र  चाकरी  करारमा  शिक्षक नियुक्तिका  समान योग्यता  बने  । स्वाभिमान  चाहिँ  आंशिक शिक्षक भए  । समान काम, असमान  ज्याला । समानता, सामाजिक न्याय, संविधानवाद  मृत सरह भए । शैक्षिक संस्था  छोटे राजनीति गर्ने ठाउँ बने  । विश्वविद्यालयको उहीँ गति । विद्यालय र विश्वविद्यालयमा   राजनीतिक  भागवण्डाको आधारमा पदाधिकारी नियुक्ति गर्ने टिके प्रथाको  प्रयोग हावी हुँदै गएको छ । 

“कहिँ नभएको जात्रा हाँडी गाउँमा“ भन्ने उखान झैं , भएको छ  ।  शिक्षा धागो चुडिएको चङ्गा झैं दिशा विहीन  । शिक्षा न कुनै दर्शनमा आधारित छ ।  मन्त्रालय देखि विद्यालयसम्म पनि बडाको आशिष पाएका राजनहरूको शासन झन् सहि नसक्नु हुँदै गएको छ  । चोरलाई चौतारो, साधुलाई सुली  र कामचोरलाई पुरस्कार शिक्षाको संस्कृति बनेको छ ।

एउटै डालोमा शिक्षक 

नेपाल सरकार सबै शिक्षकलाई एउटै डालोमा राखेर हेर्छ ।  कयौं शिक्षकले विद्यालय  स्थापना  गर्दा आफ्नो गाँस काटेर आर्थिक सहयोग गरे, न्यून पारिश्रमिक  लिएर विसौं वर्षसम्म पढाए । कसैले तलब लिएर पढाए र सहयोग गरे भने कतिले नपढाएर पनि तलब लिइ दिएर राज्यलाई सहयोग गरे । विश्वविद्यालयको पनि उही गति ।  सरकार सबैलाई एउटै डालोमा राखेर चोरलाई साधु र  साधुलाई सुली चढाउँदै छ  । शिक्षकमा भएको लगानी र त्यसको उपलब्धीको आधारमा शिक्षकको मुल्याङ्कन हुनुपर्छ तर त्यसो हुन सकेन ।

शिक्षा क्षेत्र राज्यको एउटा प्रणाली  हो, शिक्षक त्यसको एउटा अङ्गमात्र  । मन्त्रीलगायत कर्मचारी, अभिभावक, विद्यार्थी, विद्यालय र पाठ्यक्रम  शिक्षाका अन्य अङ्ग हुन् । एउटा अङ्गमा असर पर्दा अर्को अङ्गमा स्वतः  असर पर्छ । तर शिक्षक माथि दोष थुपारेर  सरकार  पानी माथिको ओभानो भएर  निर्देशन गरिरहेको छ । “धान खाने मुसो चोट पाउने भ्यागुतो “ भने झैं । 

वि.सं २०४९ सालदेखि प्लस टुमा अध्यापन गर्ने शिक्षकको सेवा अवधि २७ वर्ष पूरा भइसकेको छ । कयौं शिक्षकले सेवा अवधिभर न पूरा पारिश्रमिक लिए, न पाए ।  उमेरका  कारण  कयौं शिक्षक खाली हात घर गए ।  सरकार थाहा पाए पनि थाहा नपाएको झैँ गरि विवेकहीन भएको छ । न सरकारले स्थायी नियुक्तिका लागि अन्य मावि र क्याम्पसमा पढाउने शिक्षकले पाए सरह न स्वतः स्थायी गर्यो, न अन्तर्वार्ताबाट न आन्तरिक प्रतिस्पर्धा वा खुल्ला प्रतिस्पर्धाबाट ।  कुनै एक अवसर पनि दिएको छैन । सरकार भने सबैलाई एउटै डालोमा राखेर हेर्छ ।

सुधार कहाँबाट ? 

कालो बादलको धब्बामा थोरै सेतो चाँदीको धेरा भए जस्तै शिक्षा क्षेत्रको सुधारमा केही झिनो आशा मात्र बाँकी छ । राज्य भित्र  मौलाउँदै  गएको अधिनायकवाद र यसको संरक्षणमा हुर्किएको भ्रष्टाचार र एनजीओकरणको प्रभाव राज्यको शिक्षा  प्रणालीमा पनि परेको छ । सुधार माथिबाट तलतिर हुनु पर्ने हो । भ्रष्टचार कमिशन, नातावाद, जातिवाद, चोरलाई चौतारो हाम्रा राष्ट्रिय नयाँ मुल्य मान्यताका रूपमा विकास भए । हामीले कर्तव्य र अधिकारलाई छुट्टाछुट्टै रूपमा हेर्यौं । केही अपवाद बाहेक  मन्त्री, कर्मचारी देखि  शिक्षकसम्मको उद्देश्य ट्वाक्कै मिल्यो जागिरे एवं चाकडी प्रवृत्ति । शिक्षामा सुधार खोज्ने हो भने  प्रधानमन्त्री, शिक्षा मन्त्री, शिक्षा सचिवदेखि शिक्षकसम्मको सोचाइमा  परिवर्तन गर्नुपर्नेे बेला आएको छ । आज  नवसंशोधनवाद नै शिक्षाको विकृतिको प्रमुख कारण बनेको छ । 

तदर्थवाद  शिक्षाको लक्ष्य बनेको छ । शिक्षा प्रणालीमा नै नयाँ रक्त सञ्चार गर्नुको अर्को  विकल्प  अब छैन । आजको आवश्यकता यही हो ।

भट्टराई माध्यमिक शिक्षक युनियन नेपालका केन्द्रीय अध्यक्ष हुन् ।