Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

वैकल्पिक सिकाइका लागि मोवाईल एपमा 'ई - कक्षा नेपाल'

मंगलबार, २३ मंसिर २०७७

काठमाडौं - अनुकुल समयमा विद्यार्थी र शिक्षकले शिक्षण सामग्री अध्ययन गर्न सक्ने गरी एप निर्माण गरिएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थी र शिक्षकलाई लक्षित गरि शिक्षा मन्त्रालय अन्र्तगत शिक्षा तथा मानव श्रोत विकास केन्द्रले निर्माण गरेको ई कक्षा नेपाल मोवाईल एपको मंगलबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भर्चुअल कार्यक्रममा सार्वजनिक गरे । 

कोरोना भाईरस कोभिड १९ को संक्रमण जोखिमका कारण सिकाइमा आएको परिवर्तनलाई सम्बोधन गर्ने गरी यो काम गरिएको बताईएको छ । एप सार्वजनिक गर्दै मन्त्री पोखरेलले बदलिएको परिवेशमा बालबालिकाको सिकाइलाई वैकल्पिक रुपमा समेत निरन्तर राख्नका लागि यो कार्यले सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । महामारी छ भनेर बालबालिकाको सिकाइ अवरुद्ध गर्न नहुने सरकारको धारणा रहेकैले कक्षा १२ को परीक्षा सञ्चालन गरेको स्मरण गर्दै उनले एपमा राखिएको सामग्रीले बालबालिका शिक्षक र अभिभावकलाई फाईदा पुग्ने उल्लेख गरे । 

एपमा यस अघि नै तयार भिडियो कक्षाहरु, कक्षागत रुपमा पाठ्यक्रम, शिक्षकका लागी आवश्यक गाईड लगायतका सामग्री राखिएको छ । महामारी सकिएको अवस्थामा पनि यो एपमा भएका सामग्रीले शिक्षक र विद्यार्थीलाई निरन्तर सघाउ पुर्याउने शिक्षा सचिव गोपीनाथ मैनालीले विश्वास व्यक्त गरे । 

अहिले प्रत्यक्ष कक्षा हुन नसकेको अवस्थामा धेरै जरुरी ठानिए पनि यसलाई  क्रमैंसँग परिस्कृत गर्दै जाने र प्रत्यक्ष कक्षा सञ्चालन हुने समयमा पनि निरन्तर गर्ने योजना रहेको केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालले बताए । यस अघि नै शैक्षिक जनशक्ति विकास केन्द्रले बनाएको एपमा भएका सामग्रीलाई पनि यही एपमा राखिएको जनाईएको छ । अहिलेलाई अनिवार्य विषयका सामग्री राखिए पनि क्रमैंसँग प्रारम्भिक बालबालिकास देखिका सामग्री राख्दै जाने योजना रहेको उनको भनाई छ ।  

अहिले गरिएको काममा सरकारको कुनै रकम खर्च नभएको र एप बनाउने संस्थाले स्वयंसेवी रुपमा कार्य गरेको उनले बताए । 

प्रतिक्रिया