सरकारबाट उपेक्षित गुरुकुल


विद्यालय र साविकका उच्च माध्यमिक तहका समकक्षी गुरुकुललाई उपलब्ध गराईदैं आएको अनुदान संघीयतासँगै बन्द गरिदाँ तनहुँ स्थित देवघाटका गुरुकुल मारमा परेका छन् । विद्यालय तहका लागि एक र साविकका उच्च माध्यमिक तहका लागि दुई शिक्षक बराबरको अनुदान वापत एकमुष्ट रकम (वार्षिक ७ लाख रुपैयाँसम्म) उपलब्ध गराउँदै आएको भए पनि पछिल्लो समय उक्त अनुदान बन्द गरिएको हो । यसले गर्दा दशकौँ देखि संचालनमा रहेका देवघाटका गुरुकुल मारमा परेका छन् । 

वार्षिक रुपमा पाउँदै आएको नियमित अनुदानका बारेमा सोधखोज गर्दै यहाँ सञ्चालनमा रहेका तीन गुरुकुलका प्राचार्यहरु शिक्षा  मन्त्रालय पुगेका थिए । संघीयता कार्यन्वयनसँगै स्थानीय तहमा बजेट जाने व्यवस्था शुरु भएकोले आफूहरुले केही गर्न नसक्ने कर्मचारीहरुले जवाफ दिएको एक संरक्षकले बताए । उनीहरुले स्थानीय तहबाटै रकम लिन प्रकृया शुरु गर्न भने पनि मन्त्रालयको लिखित दस्तावेज विना दिन नसकिने स्थानीय जनप्रतिनिधिले जवाफ दिए पछि थप अन्योल बढेको छ । स्थानीय तहमा गुरुकुल प्रति दलीय प्रतिनीधिको सकारात्मक बुझाई नहुँदा अनुदानबाट वञ्चित हुन परेको उनीहरुको बुझाई छ । 

परमानन्द गुरुकुलका एक आचार्यले भने ‘एक पटक फर्काए पछि जाने कुरो पनि भएन ।’ सरकारका यस्ता निर्णय र कदमले संस्थागत रुपमा सञ्चालन भैरहेका गुरुकुल उपेक्षित हुनु परेको उनको गुनासो छ । 

नीतिगत निर्णय भएर गुरुकुलहरुले पाउँदै आएको अनुदान पनि वर्तमान सरकार बनेपछि खोसिन पुगेको छ । यस अघिका शिक्षा मन्त्री गिरिराजमणि पोखरेल कट्टर नास्तिक दर्शनका पक्षपाती रहेकोले पनि गुरुकुलहरुले पाउँदै आएको बजेट कटौती गरिएको हुनसक्ने देवघाट गुरुकुलको बुझाई छ । संस्कृत विद्याको महिमा र महत्वका बारेमा भारत सरकारले बोध गरेपनि नेपाल सरकारले गर्न अझै नसकेको एक आचार्यले बताए । 

आफुलाई राजनीतिक संकट परेका बेला अध्यात्मिक साधना गर्न पशुपति मन्दिर पुग्ने तर देवघाटका गुरुकुलका बारेमा वास्ता नगर्ने प्रधानमन्त्री केपी ओलीको शैली देखिएको भन्दै प्राचार्यहरुले गुरुकुलीय शिक्षालाई उपेक्षित नगर्न सरकारलाई आग्रह गरेका छन् ।

उल्लेखित मन्दिरका पुजारी र भट्टहरु समेत गुरुकुलका उत्पादन रहेको जानकारी गराउँदै शिक्षाका सवालमा व्रिटिश (सन् १८३५) प्रशासक लर्ड मैकालेद्धारा प्रतिपादित शिक्षा र गुरुकुलीय शिक्षाबीच असमान व्यवहार नगर्न शिक्षा मन्त्रालयका कर्मचारीलाई उनीहरुको आग्रह छ । नेपालको वर्तमान शासकहरुले गुरुकुलको शिक्षालाई जातीय शिक्षा भनेर कतिपय अवस्थामा व्यवहार गरिएको नमिठो अनुभव गुरुकुलका सञ्चालकहरुसँग छ । 

तत्कालिन एमाले नेता एवंम बहुदलीय जनवादका प्रतिपादक र व्याख्यता मदन भण्डारी समेत गुरुकुलीय शिक्षाका उत्पादन भएको प्राचार्यहरुले स्मरण गराएका छन् । घरमा सन्तान जन्मिदा, चुडाकर्म, ब्रतवन्ध, विवाह, मर्दा वा पर्दा होस वैदिक ब्राह्मण बोलाएर पूजा नगराई चित्त नबुझ्ने शासक र प्रशासकले सरकारी कार्यलयको कुर्सीमा बस्दा भने गुरुकुलीय शिक्षाका पक्षपाती र अनुयायीलाई व्यवस्था विरोधी जसरी चित्रित गरेको उनीहरुको आरोप छ ।  

कक्षा ११ मा कुन कोर्स पढाउने ? 

सरकारले जारी गरेको पाठ्यक्रम प्रारुपका विरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै हालै मात्र सर्वाेच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम अध्यापन गर्नु, गराउनु भन्ने फैसला गर्यो । देशभरका अन्य विद्यालयहरुले नयाँ  पाठ्यक्रम पठनपाठन शुरु गरे पनि गुरुकुलमा अध्ययनरत कक्षा ११ का विद्यार्थीका हकमा सरकारले न नयाँ पाठ्य पुस्तकको व्यवस्था गरेको छ । न पुरानै पढाऊ भन्ने निर्देशन छ ? अवस्था अन्यौलग्रस्त छ । त्यसो त सरकारले कक्षा १२ सम्म विद्यालय तह नै मानेको छ । तर गुरुकुलमा अध्ययन गर्ने हामी विद्यार्थी सरकारी नितीबाट सधै विभेद किन ? यो चिन्ता हो, देवघाटका गुरुकुलका विद्यार्थीको ।   

गुरुकुलीय शिक्षामा कक्षा ११ र १२ को तहलाई उत्तर मध्यमा भनिन्छ । उक्त तहलाई सरकारले न छुट्टै मान्यता दियो । न अन्य संकाय सरह छुट्टै मानेर पाठ्य पुस्तकको व्यवस्था नै गर्यो । विश्वविद्यालय तहबाट प्रविणता प्रमाण तहलाई फेज आउट गरिरहँदा पनि गुरुकुलीय शिक्षा अध्ययनरत विद्यार्थी सरकारी पक्षपातमा परे । कतिसम्म भने आफुले पढेको पाठ्यक्रमबाट परीक्षा दिनबाट वञ्चित रहे । परीक्षा गराइदेऊ भन्न पनि सर्वाेच्च अदालत पुगेर न्यायालयको ढोका ढ्कढकाउनु पर्यो । त्यतिखेर दामोदर शर्मा सर्वोच्चमा प्रधान न्यायाधीस थिए । 

यदि निजी विद्यालयमा त्यस्तो विभेद भएको शायदै न्यायालय पुग्नु पथ्र्याे । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद् वा मन्त्रालयबाटै समस्याका सुनुवाई हुन्थ्यो होला । तर सन्यासी, स्वामी र आचार्यहरुले दान, दातव्य, मुष्ठि र भिक्षा संकलन गरेर चलाएका शैक्षिक संस्था (गुरुकुल) को मान्यता र निरन्तरताको लागि अदालतसम्म पुग्नु पर्ने कस्तो विडम्बना ?

गुरुकुलीय शिक्षामा विभेद कायमै 

परमानन्द संस्कृत गुरुकुल देवघाटका प्राचार्य सुभाव चैतन्यले, ‘संस्कृत शिक्षा पाठ्यक्रम र पद्धतीका बारेमा न श्री ५ सरकारले ध्यान दियो, न नेपाल सरकारले नै ।’ उनले भने यो शिक्षा र पद्धतीका विषयका बारेमा सरकारले कहिल्यै ध्यान दिनै चाहेन । 

०२८ सालमा तत्कालिन सरकारले व्यवस्था टिकाई राख्न नयाँ शिक्षा निति लागु गर्यो । उक्त शिक्षा नीतिले गुरुकुलीय शिक्षाको जरा र फेद काट्ने काम गर्यो । भलै पञ्चायती व्यवस्था र राजतन्त्रात्मक हिन्दु अधिराज्य थियो । तर संस्कृति सम्वर्धक गुरुकुलीय परम्परा र शिक्षाको महत्व पञ्चायत सरकारले पनि बुझ्न चाहेन । तत्कालिन सरकार विद्यालय शिक्षा र गुरुकुलीय शिक्षालाई समान व्यवहार नगरी विभेदमा उत्रियो । त्यही संरचनाको जगमा उभिएको लोकतान्त्रिक नेपाल सरकारको शिक्षा मन्त्रालय गुरुकुलीय शिक्षाको समुल परम्परा नै मास्न उद्दत रहेको गुरुकुलहरुको बुझाई छ । 

शिक्षामा केन्द्रीकृत परम्पराको अन्त्य भएको छैन । दाताहरुको सहयोगमा वेतनका अतिरिक्त भत्ता खान पल्किएका टाई सुटधारी कर्मचारीलाई धर्म, संस्कृति र संस्कार सम्वर्धन गर्ने चासो नै छ्रैन । एडीबी र वल्र्ड बैकका परियोजनामा आधारित कार्यक्रम कार्यन्वयन गर्न कर्मचारी लालयित छन् । आफ्नै समाजका त्यागमय जीवन व्यतीत गरेका शिक्षा शास्त्री एवंम प्रकाण्ड विद्धतजनहरु शिक्षाका कर्मचारी सामु निरस लाग्छन् । त्यसैले शिक्षा मन्त्रालय र कर्मचारीहरुलाई गुकुलीय शिक्षा र संस्कृत शिक्षा बारेमा खासै चासो र चिन्ता छैन । 

‘सा विद्या या विमुक्तये’ को भाव राखेर शिक्षाको श्रीवृद्धिमा आफ्नै भुमिमा अहोरात्र खटिएका छन् । त्यस्ता शिक्षासेवीहरुमा पर्दछन्, देवघाटको विकासमा उल्लेख्य योगदान गरेका परमानन्द स्वामी, रामानन्द स्वामी र ईश्वरानन्द स्वामी । देवघाटमा वर्तमान पीठाधिश ज्ञानानन्द सरस्वती, आत्मानन्द सरस्वती र रमणानन्द स्वामी लगायतले अग्रजले स्थापना र सञ्चालन गरेका गुरुकुलमा अभिभावकीय भुमिका निर्वाह गरिरहेका छन् ।

हिन्दुहरुका लागि विशेष तीर्थस्थल समेत रहेको देवघाटमा गुरुकुलहरु सरकारी सहयोग विना पनि संचालनमा रहेको संरक्षक पीठाधिशहरुको भनाई छ । आफैमा त्यागमय जीवन व्यतीत गर्दागर्दै पनि स्वामीहरुले अरुका सन्तानको अभिभावकत्व वहन गर्नु मोक्ष प्राप्तीको मार्ग मात्र हो । तर पनि स्वामीहरु संस्कृत शिक्षाको श्रीवृद्धि र अन्तराष्ट्रिय स्तरमा कसरी पु¥याउन सकिन्छ भन्र दत्तचित्त छन् । शिक्षा मन्त्रालयका कर्मचारीको व्यवहारले आफुहरु संरक्षक रहेका शैक्षिक (गुरुकुल) संस्था विभेदमा परेको संरक्षक स्वामीहरुको सरकारसँग गुनासो छ । 

शिक्षा मन्त्रालयद्धारा गुरुकुल सञ्चालकहरुलाई अनादर 

पछिल्ला दिनमा शहरमा भेटिने युट्युवे बाबाहरुलाई गुरु मानेर प्रमोशन खान पल्किएका कर्मचारीलाई सत्मार्गी स्वामी, सन्यासी र प्राचार्यहरुको सल्लाह र सुझावको के अर्थ ? साथै समाजपरक शिक्षाका लागि सञ्चालन गरिएका शैक्षिक संस्था (गुरुकुल) को के मतलव ? त्यागले तप्त स्वामीहरुले समाजका लागि गरेको योगदान देख्न तयार छैन सरकार र शिक्षा मन्त्रालय । 

हरिहर सन्यास आश्रमका अध्यक्ष एवंम परमानन्द गुरुकुलका संरक्षक स्वामी ज्ञानान्द सरस्वतीले शिक्षामा जारी विभेदले नेपाली मौलिकता नै विलुप्त भएको बताए । उनले भने ‘संस्कार विहिन शिक्षाको उपज हो, अहिलेको समाज अवस्था ।’ जुन शिक्षामा सदाचार,शिल,स्वभाव र संस्कार हुदैन्, त्यस्तो शिक्षाले कस्तो नागरिक जन्माउला ? उनको प्रति प्रशन छ । 

ब्रिटिश प्रशासक लर्ड मैकालेले सन् १८३५ मा भारतका लागि प्रतिपादन शिक्षा पद्धती नेपालका लागि उपयोगी नरहेको उनको सुझाव छ । भारतमा तत्कालिन समयमा कर्लकको अभाव थियो तर नेपालमा यतिवेला मौलिकताको अभाव छ । त्यसैले शिक्षा पद्धतीमा परिवर्तन आवश्यक रहेको सरस्वतीको सुझाव छ । मौलिकता विनाको शिक्षाले व्यक्तिलाई धन वैभवले समृद्ध त बनाउला तर समाजमा निस्वार्थ योगदान सिकाउँदैन । त्यसैले ०२८ सालमा नयाँ शिक्षा नीतिको योगी नरहरीनाथ र स्वामी परमानन्द महाराजले विरोध गरेको आचार्य केशव चैतन्यले स्मरण गरे । शिक्षाको नीति निर्माण तहमा पुगेका अधिकारीले आफ्नो जिम्मेवारीलाई सम्यक विवेक मनन् गर्न नसक्दा नेपालको शिक्षामा मौलिकता मासिदै गएको, उनको बुझाई छ । 

साथै संस्कृत शिक्षाको महत्व र अर्थ नबिुझएको हो । एकल गुरुकुल मात्र नभएर संस्थागत रुपमा सञ्चालित गुरुकुलहरु सरकाबाट उपेक्षित हुनु आँफैमा दुःखद भएको उनको भनाई छ । देवघाटमा मात्र कुल ३ वटा गुरुकुल सञ्चालनमा छन् । तीनैवटा गुरुकुल सन्यासी एवंम स्वामीहरुले स्थापना र सञ्चालन गरेका हुन् । जहाँ पछिल्ला वर्षमा नेपालका मात्र नभएर भारत प्रवासका नेपाली परिवारले समेत आफ्ना सन्तान अध्ययनका लागि ल्याउने गरेका छन् । काशी स्थित सम्पूर्णनन्द संस्कृत विश्वविद्यालयका आचार्य (डीन) ले समेत काशीका गुरुकुलमा भन्दा राम्रो संस्कार देवघाटका गुरुकुलमा रहेकोले आफ्नो सन्तान देवघाट ल्याएर भर्ना गराएको बताए ।

देवघाटका गुरुकुलमा कक्षा ६ मा अध्ययन गर्नेगरी विद्यार्थी आउँछन् । निरन्तर १२ वर्ष अध्ययन गरे पछि आचार्य (एमए) सम्मको शिक्षा प्राप्त गरेर फर्किन्छन् । उनीहरुका लागि आवासीय व्यवस्था सहित अध्ययन अवसर गुरुकुलले उपलब्ध गराउँदै आएका छन् । तीन वटै गुरुकुलमा आवासीय सुविधा छ । परमानन्द गुरुकुलम संस्कृत विद्यालय (२०२८), महेश संस्कृत गुरुकुल विद्यालय (०४८) र गलेश्वर बेद वेदाङ्ग गुरुकुल (०५०)  सालमा स्थापना भएका हुन् । महेश संस्कृत गुरुकुलमा आचार्य (एमए) सम्म कै अध्ययन, अध्यापन हुने गरेको छ । परमान्नद गुरुकुलमा शास्त्री (बीए) सम्मको अध्ययन अध्यापन हुने गरेको छ । उल्लेखित गुरुकुलले नेपाल संस्कृत विश्वविद्यालयबाट सम्वन्धन पाएका छन् । गलेश्वर गुरुकुलमा वेदको मात्र अध्ययन, अध्यापन हुने गरेको छ । 

श्री १००८ स्वामी परमानन्द सरस्वती महाराजले देवघाटमा पहिलो परमानन्द गुरुकुल आफ्नै पहलमा स्थापना गरेको प्राचार्य सुभाव चैतन्यले जानकारी गराए । तीनै गुरुकुलमा विद्यालय शिक्षाका लागि कक्षा १२ सम्मको तहगत मान्यता र स्वीकृति प्राप्त छ । ती गुरुकुलमा करिब ७ सय विद्यार्थी अध्ययनरत छन् । नेपाल संस्कृत विश्वविद्यालयले विश्वविद्यालयको शिक्षाका लागि परमानन्द र महेश गुरुकुलमा २–२ जना प्राध्यापक काजमा उपलब्ध गराएको छ । त्यसका अतिरिक्त अन्य निरन्तर स्रोत  छ्रैन । जबकी राजधानीस्थित वाल्मीकी क्याम्पसमा विद्यार्थी भन्दा प्राध्यापकहरुको सँख्या धेरै हुने गरेको छ । 

गलेश्वर गुरुकुलमा उमावि तहसम्म मात्र अध्यापन हुने गरेको छ । विश्वविद्यालय तहको समवन्धनको आवश्यक नै रहेन । राजधानीको वाल्मीकी र दाङको वेलझुण्डी केन्द्रिय संस्कृत क्याम्पसको उच्च शिक्षा (विश्वविद्यालय तह) अध्ययन गर्न जाने अधिकांश विद्यार्थी देवघाटका नै हुने गरेको आचार्यहरुको दावी छ । 

देवघाटमा धार्मिक पर्यटक मन्त्र मुग्ध  

देशभरका गुरुकुलसँगै देवघाटका तीनवटै गुरुकुल सरकारबाट उपेक्षित छन् । देवघाटमा यदि गुरुकुल नहुने हो, यहाँको महिमा नै लोप भएर जाने संभावाना छ । विहानमा वटुकहरुले गर्ने पाठले समग्र देवघाट नै गुञ्जयमान हुने गरेको छ । साथै साँझको प्रार्थना र आरतीले धार्मिक पर्यटकहरुलाई आर्कषण मात्र नभएर मन्त्रमुग्ध तुल्याउने गरेको छ । 

सरकारले देवघाटका गुरुकुल (विद्यालय) तह र उच्च शिक्षालाई विशेष व्यवस्था गरेर संरक्षण गर्न आवश्यक रहेको महेश आश्रमका पीठाधिश एवंम गुरुकुलका संरक्षक स्वामी रमणानन्दले बताए । यहाँका गुरुकुलका विद्यालय तह र विश्वविद्यालय तहको अध्ययन, अध्यापन एउटै शैक्षिक संस्थाबाट हँुदै आएको उनले जानकारी गराए । उनले सरकार साँच्चै शिक्षा प्रति संवेदनिशील हो, भने कुनै शर्त विना विद्यार्थी संख्याका आधारमा नियमित अनुदान उपलब्ध गराउन सक्नु पर्छ । गुरुकुलको संरक्षणमा जिम्मेवारी वहन गर्नु पर्छ । ‘सरकारले किन्तु, परन्तु बिनाको सहयोग उपलब्ध गराउन सके देवघाटका गुरुकुलको शिक्षालाई अन्तराष्ट्रियकरण गर्न सकिन्छ ।’ पछिल्ला वर्षमा अमेरिकाको नासामा पनि संस्कृत जानेका वैज्ञानिकको माग हुने गरेको उनले बताए । संस्कत शिक्षा कर्मकाण्डी पुरेत मात्र जन्माउने शिक्षा नभएको उनले स्पष्ट पारे । गार्गी, मैत्रीदेखि स्वामी विकेकानन्द, नेपालमा योगी नरहरी नाथ र भारतमा अब्दुल कलाम लगायतका महाज्ञानी जन्माउने ज्ञान गुरुकुलीय शिक्षामा रहेको दृष्टान्त उनले प्रस्तुत गरे । नेपालमा पनि त्यस्ता प्रतिभा जन्माउन गुरुकुल सक्षम हुने उनको विश्वास छ ।  तर त्यसका लागि स्रोत र साधनको अभाव भएको उनले बताए । 

‘नेपाल कै अभिलेखालयमा रहेका बहुमुल्य संस्कृत वाङमयका पाण्डुलिपीको अध्ययन गर्न जर्मनका संस्कृत अध्येता झिकाउनु पर्ने अवस्थाको अन्त्य हुनपर्छ’ उनले भने ‘नेपाली गुरुकुलका प्रतिभाबाट त्यहाँका अभिलेखहरुको अध्ययन गराउन सकियोस् ।’ 

यसका लागि सघाउन देवघाटका गुरुकुल तयार रहेको उनले बताए ।  

मैकालेले भारतवर्षमा चलिआएको पूर्विय दर्शनमा आधारित गुरुकुलीय शिक्षाको विकल्प दिए फैक्ट्री मोडलको तहगत अंग्रेजी शिक्षा । शासक नै अंग्रेज भएका बेला गुरुकुलका आचार्य र प्राचार्यहरुले त्यो विकल्पलाई कसरी विरोध जनाउन सक्थे र ! त्यसरी नै  लोकतान्त्रिक शासन व्यवस्था भएका बेला नेपालका गुरुकुलका आचार्य र प्राचार्यहरुले शिक्षाका बारेमा आफ्ना मत प्रकट गरे भने, शासक वर्गले व्यवस्था विरोधी भनेर बुझ्छन् । तत्कालिन ब्रिटिश अधिकारी मैकाले भन्दा विशिष्ट बनेर नेपालको शिक्षा मन्त्रालयका अधिकारीले गुरुकुलको शिक्षाको अवस्था बारेमा सुन्न त के, संस्कृत शिक्षाको ‘स’ उच्चारण गर्नेहरुलाई हेर्न पनि चाहदैनन् । यो गुनासो देवघाटका गुरुकुलका प्राचार्य र आचार्यहरुको हो ।