शिक्षणको आत्मा नै अनुसन्धान


४० बर्षको उमेरमा जब मैले क्यानेडियन विश्वविद्यालय जाने मौका पाएँ, अनि बल्ल थाहा भयो विश्वविद्यालय के हो र यो कस्तो हुनुपर्छ ! 

मेरो अनुभवको आधारमा विश्वविद्यालयका दुई वटा महत्वपूर्ण काम हुँदा रहेछन् । प्राज्ञिक विषयमा गुणस्तरीय शिक्षण प्रदान र सोही विषयवस्तुका क्षेत्रमा  गहन अध्ययन अनुसन्धान गर्नु विश्वविद्यालयको काम रहेछ ।
मुख्य कुरो यी दुई वटा कार्यहरु धेरै नै अन्तरसम्बन्धित हुँदा रहेछन् । त्यसैले विश्वविद्यालय शिक्षा विद्यालय शिक्षा भन्दा धेरै फरक रहेछ । यो अति नै जटिल विषय रहेछ । त्यसैले विश्वविद्यालयका विषयहरु फ्याकल्टीले शिक्षण गर्छन् जो अनुसन्धानका क्षेत्रमा पोख्त छन् । अझै महत्वपूर्ण कुरो के रहेछ भने जो आफ्नो क्षेत्रको अनुसन्धानमा सक्रिय छ त्यसैले विश्वविद्यालयमा शिक्षण गर्ने अवसर पाउनु पर्ने रहेछ । विश्वविद्यालयमा शिक्षणको आत्मा नै अनुसन्धान रहेछ ।

त्यसैले सरकारले पनि आफ्नो कुनै क्षेत्रको अनुसन्धान गर्नुपर्यो भने बजेट सहित विश्वविद्यालयका शिक्षकहरुलाई जिम्मा लगाउँदो रहेछ । यसका लागि प्राज्ञिक स्वतन्त्रताको प्रत्याभूति पनि गरिएको हुँदो रहेछ । विश्वविद्यालयमा शिक्षणका क्रममा सतहमा आउने जुनसुकै मुद्दाहरुलाई खुल्ला रुपमा बहसमा ल्याएर अनुसन्धानको प्रश्न निर्माण गर्ने अभ्यास रहेछ । त्यसैले स्नातक र स्नातकोत्तरमा अध्यनरत विद्यार्थीलाई अनुसन्धानमा सक्रिय रुपमा सहभागी गर्नुपर्ने चलन रहेछ ।

किन आवश्यक छ प्राज्ञिक स्वतन्त्रता ? 

प्राज्ञिक स्वतन्त्रता विनाको अनुसन्धान गुणस्तरीय र विश्वासिलो नहुँदो रहेछ किनकि प्राज्ञिक कार्य त्यस्तो वातावरणमा मात्रै सम्भव रहेछ जहाँ प्राज्ञिक व्यक्तिहरुलाई जोखिम लिन सक्ने अवसर दिइन्छ । यस्तो वातावरणमा मात्रै अनुसन्धान कर्ता वा प्राज्ञिक व्यक्तिले आफ्नो सोचमा परिवर्तन गर्दै यथास्थितिलाई चुनौती दिन सक्षम हुँदो रहेछ ।

त्यसैले क्यानेडियन विश्वविद्यालयहरुले प्राज्ञिक स्वतन्त्रता भएको वातावरण सिर्जना गर्दा रहेछन् जसका कारण प्राज्ञिक व्यक्तिहरुले  प्राज्ञिक रुपमा स्वतन्त्र भएर आफ्नो कार्यसम्पादन गर्न सकुन् । प्राज्ञिक व्यक्तिलाई कसैले पनि प्रभाव पार्ने, कुनै विषयवस्तुमा चुप रहनु पर्छ भन्ने, अनावश्यक हस्तक्षेप गर्ने, नियन्त्रण गर्न खोज्ने, धम्की दिने, हिँसाको आभास दिने र अनुसन्धानका क्रममा कुनै विरोधाभास युक्त विषयवस्तु आयो भनेर त्यसको अनुगमन गर्ने काम कसैले पनि गर्न पाउँदैन । यो प्राज्ञिक स्वतन्त्रताको हनन् हो ।

त्यसैले विश्वविद्यालयहरुले एउटा बलियो कानूनी फ्रेमवर्क बनाएर प्राज्ञिक इन्टेग्रिटी र स्वतन्त्रतालाई जोगाउने काम गर्दा रहेछन । प्राज्ञिक स्वतन्त्रता विश्वविद्यालयमा काम गर्ने शिक्षक र अनुसन्धानकर्ताको मौलिक अधिकार हो । देशको सरकार र विश्वविद्यालयले यसको प्रत्याभूती नगरेसम्म विश्वविद्यालयले कुनै पनि क्षेत्रमा राम्रो परिणाम दिन सक्दैन ।

त्यसैले कुनै पनि विश्वविद्यालयले प्राज्ञिक व्यक्तिको प्राज्ञिक स्वतन्त्रतालाई हनन् गर्न सक्दैन । विश्वविद्यालय एउटा स्वायत्त संस्था हो तर यसको अर्थ यो होइन कि प्राज्ञिक स्वतन्त्रता यसको अधिनमा रहेको हुन्छ । किनकि यो प्राज्ञिक व्यक्तिको विशेष अधिकार हो । कुनै पनि विश्वविद्यालयले संस्थागत स्वतन्त्रताका नाममा प्राज्ञिक स्वतन्त्रतामा हस्तक्षेप गर्न पाउँदैन ।

विश्वविद्यालयको शिक्षाले कुनै पनि व्यक्तिलाई कामको संसारको लागि तयार गर्छ तर विश्वविद्यालय केवल रोजगारीको बाटो मात्रै भने होइन । उदाहरणका लागि विश्वविद्यालयले शिक्षक वा वकिल उत्पादन मात्रै गर्ने होइन ! यसले त त्यस्तो व्यक्ति तयार गर्नुपर्छ जसले शिक्षण र कानूनका बारेमा गहन र बृहत ज्ञान हासिल गर्न सफल होस् । यस्तो कुरोको अभाव सुदुरपश्चिम र नेपालका अन्य विश्वविद्यालयमा रहेको तथ्यलाई कुनै पनि हालतमा नकार्न सकिदैन । किनकि सुदुरपश्चिम विश्वविद्यालयले विभिन्न खाले जनशक्ति उत्पादन त गर्ला तर अनुसन्धान मार्फत ज्ञान उत्पादन गर्न सकेन भने विश्वविद्यालय स्वयं र देशको विकास सम्भव छैन ।

विश्वविद्यालयको अर्को महत्वपूर्ण काम हो प्रत्येक समुदायमा यसले एउटा सांस्कृतिक दूतका रुपमा आफ्नो भूमिका निभाउनु । यसका लागि यसले आफु स्थित समुदायमा विभिन्न काम गर्नसक्छ । 

जस्तैः सार्वजनिक बहसका कार्यक्रम आयोजना गर्ने, कलात्मक कार्यक्रम प्रस्तुत गर्ने, विभिन्न विषयवस्तुमा खुल्ला बहसलाई आमन्त्रित गर्ने र अन्य सामुदायिक कार्यक्रम आयोजना गर्ने ताकि विश्वविद्यालयले आफ्नो सामाजिक दायित्व वहन गर्न सकोस् । तर यसको अर्थ यो होइन कि यी कार्यक्रमहरु गरेर  विश्वविद्यालय आफ्नो मूल उद्देश्यबाट टाढा रहोस् ।

सन्दर्भ : सुदुरपश्चिम विश्वविद्यालय

त्यसो त सबै विश्वविद्यालयहरुले शिक्षण र अनुसन्धानको लगन गाँठो बलियो गरी बाध्नु पर्छ ताकि विश्वविद्यालयहरुले गुणस्तरीय जनशक्ति उत्पादन गर्नसक्नुका साथै अन्तराष्ट्रिय रुपमा आफ्नो साख पनि कायम गर्न सकुन् । सुदुरपश्चिम विश्वविद्यालयको सन्दर्भमा चर्चा गर्दा प्राज्ञिक स्वतन्त्रताको प्रत्याभूति गर्न शुरु देखि नै गम्भिर हुनु पर्ने छ । 

मलाई लाग्छ माथिका विषयवस्तुहरु सुदुरपश्चिम विश्वविद्यालय कस्तो हुनुपर्छ भन्ने दिशामा बहसका लागि प्रस्थान बिन्दु हुन सक्छन् । 

नेपालमा काठमाडौं विश्वविद्यालय बाहेक अरु विश्वविद्यालयहरु माथिका मापदण्ड अनुसार अझै सञ्चालन हुन सकिरहेको अवस्था छैन, जबकि सुदुरपश्चिम विश्वविद्यालयले त अझै धेरै गर्न बाँकी छ । अहिले देखि नै सुदुरपश्चिम विश्वविद्यालयले यो दिशामा गहन र वृहत बहस चलाएर आफ्नो भिजन, मिसन,  लिगल फ्रेमवर्क, नीति र कार्यक्रम ल्याउन सफल भयो भने अहिलेका पिँढीको तर्फबाट आउने पुस्ताका लागि यो विश्वविद्यालय ठुलो उपहार हुनसक्छ । 

अहिले देखि नै सुदुरपश्चिम विश्वविद्यालयले आफ्ना प्रोफेसरहरुलाई अनुसन्धानकर्ताको रुपमा विकास गर्नुपर्ने हुन्छ नत्र यो विश्वविधालयले पनि अरु विश्वविद्यालयको जस्तै नियति भोग्नु पर्नेछ । अहिलेसम्मका गतिबिधिहरु नियाल्ने हो भने सुदुरपश्चिम विश्वविद्यालय विश्वविद्यालय शिक्षाले कामको संसारका लागि व्यक्ति तयार गर्ने हो भन्ने सोचका साथ अघि बढेको देखिन्छ । सुदुरपश्चिम विश्वविद्यालयले श्रमको बजारमा केही जनशक्ति पूर्ति गर्न सके आफ्नो उद्देश्य पुरा हुन्छ भन्ने सोचबाट मुक्त हुनुपर्छ किनकि सुदुरपश्चिम क्षेत्रका वासिन्दाहरुले यो विश्वविद्यालय ज्ञान र सीप दुवै उत्पादन गर्ने सफल संथाको रुपमा स्थापित भएको हेर्न चाहन्छन् । तर सुदुरपश्चिम विश्वविद्यालयले आफ्ना प्रोफेसरहरुलाई अनुसन्धानमा पोख्त नबनाउन्जेलसम्म योे सपना पुरा होला जस्तो लाग्दैन ।

अर्को कुरो फ्याकल्टी भर्ना गर्दा नै अनुसन्धानका क्षेत्रमा विशेष योगदान गर्न सफल व्यक्तिहरुलाई ध्यान दिन सकियो र नीति पनि त्यही अनुसारको बनाउन सफल भयो भने मात्र आगामी दिनमा एउटा गुणस्तरीय र सफल विश्वविद्यालयका रुपमा उदाउनेछ भन्ने कुरोमा शंका छैन ।

त्यसैले विश्वविद्यालयको अर्थ पहिल्याउन हामी सबैले सुदुरपश्चिम प्रदेशमा कस्तो खाले विश्वविद्यालय चाहने हो बहस चलाऔँ ।

लेखक, क्यानडामा रजिष्टर्ड सोसल वर्करका रुपमा कार्यरत छन् ।