Edukhabar
बुधबार, २६ बैशाख २०८१
विचार / विमर्श

शिक्षामा बौध्दिक विविधता

बुधबार, १९ जेठ २०७८

विज्ञानले सभ्यताको विकासमा समेत प्रमूख भूमिका खेलेको विषय त आम भइसकेको अवस्था छ । मानव सभ्यताका पाँचवटा चरणहरु र औद्योगिक क्रान्तिका चार चरणहरुका बिचमा एक किसिमको सामञ्जस्यता देख्न सकिन्छ । सामाजिक अवस्थाको विकास त्यसमा विज्ञानको प्रभावका कारणवाट विकसित भएको सभ्यताको चरण र परिवर्तनको सिध्दान्त अनुसार शिक्षामा गर्नुपर्ने आयामिक परिवर्तन नै यो आलेखका विषयहरु रहनेछन् ।

सामाजिक अवस्था

वैश्विक इतिहासलाई चारवटा अवस्थामा विभक्त गरिएको पाइन्छ । ढुङ्गे युगमा मानिसहरु संग्रह नगर्ने तथा घुमफिर गरी जहाँ जे पाइन्छ त्यसैमा आश्रित भइ जिविकोपार्जन गर्ने गरेको पाइन्छ । यो समयमा मानिस मानिस बिचको द्वन्द खासै देख्न पाइन्न । प्रकृति नै आजिविकाको श्रोत तथा व्यवस्थापक भएकाले यस अवस्थालाइ प्राकृतिक अवस्था पनि भनिन्छ । हाल आएर संरक्षणवादीहरु यसै अवस्थाको वकालत गर्दै विभिन्न ठूला परियोजनाहरुका बारेमा राय बनाउँदै तथा बझाउँदै आएका छन् । यो विचरणमा हुन आउने श्रोतको अभाव तथा सुरक्षा खतराका कारणले मानिसहरु एकै ठाउमा बस्न थालेको पाइन्छ भने यी समस्याहरूको निराकरणका लागि श्रोतको संग्रह समेत शुरु गरेको देखिन्छ । श्रोत माथिको स्वामित्व तथा अधिकतम श्रोतको चाहनाले गर्दा झै झगडाको अवस्था पनि श्रृजना भएको देखिन्छ । यसैलाई द्वन्दको अवस्था भनेर परिभाषित गरिएको छ । यिनै झुण्ड झुण्ड बिचको द्वन्द व्यवस्थापनका लागि संलग्न पक्षहरुका बिचमा सम्झौता समेत गर्ने गरी सामाजिक सम्झौताको अवस्थामा स्तरोन्नति भएको पाइन्छ । सभ्यता, विज्ञान तथा व्यवस्थापनको विकास संगै समाजको विकास भई वर्तमान सरकार नियन्त्रित अवस्थामा विकसित भएको देखिन्छ । 

सभ्यताका अवस्था 

माथि वर्णन गरिएको सामाजिक अवस्थालाई सभ्यताका हिसावले पाँचवटा युगमा विभाजित गर्न सकिन्छ । पहिलो शिकार गर्ने र संग्रह गर्ने युग, दोश्रो कृषि युग, तेश्रो विज्ञानको प्रदुर्भावसंगै उदाएको औद्योगिक युग, चौथो रोवोटिक्सले श्रृजना गरेको सूचना प्रविधिको युग र पाँचौ प्रविधिको उच्च विकासले निम्त्याएको विवेकको युग । यी सवै युगको चरम अवस्था भनेको प्राकृतिक अवस्था हुँदै प्राकृतिक सिध्दान्तवाट अघि बढ्दै  मानसिक सिध्दान्तको अवस्थामा जान खोज्नु पनि हो । प्राकृतिक सिध्दान्तले विज्ञान तथा तर्कमा आधारित तथ्यहरुलाइ अँगालेको हुन्छ भने मानसिक सिध्दान्तले मनोवैज्ञानिक तथा मानसिक अवस्थालाई चित्रण गर्दछ । यही विज्ञान, तर्क तथा मनोविज्ञानको समुचित विवेचना नै विवेक हो । 

औद्योगीकिकरणको अवस्था 

सामाजिक अवस्थाको उच्चतम चरणमा सरकारकै पहल तथा अगुवाइमा विभिन्न वैज्ञानिक विकासहरु भएका छन् । कोइलालाई उर्जाका रुपमा उपयोग गरी विकास गरिएको वाष्प इञ्जिन ले नै पहिलो औद्योगिक क्रान्तिको श्रेय पाएको छ । विज्ञानको यो प्रगतिले समाज तथा सभ्यतामा आवश्यक उत्पादनहरुलाई यान्त्रिकिकरण गर्नमा मद्दत पुगेको छ । विजुली तथा खनिज तेललाई उर्जाका रुपमा प्रयोग गरी विकास गरिएको आन्तरिक प्रज्वलित मशीनले व्यापारिक प्रयेजनका उत्पादनमा सहयोग पुगेको छ । यो नै दोश्रो औद्योगिक क्रान्ति हो ।

प्राकृतिक ग्यास तथा आणविक उर्जाको सहायतावाट कम्प्युटर तथा रोवोटिक्सको विकास गरी उत्पादनलाई स्वचालित वनाइएको छ । यो नै तेश्रो औद्योगिक क्रान्ति हो । यी सबै क्रान्तिहरुको मूख्य चासो उत्पादन तथा वितरण रहेको थियो भने यिनिहरुले मानवको आन्तरिक जिवनलाई सहजता भन्दा पनि सुविधा तर्फ डोहोर्याएका थिए । मानिसको जिवनयापनमा गुणस्तरीयता ल्याउने प्रयासमा हरित उर्जाको प्रयोगवाट ईण्टरनेट सञ्जाल विकास गर्ने वर्तमान अवस्था चौथो औद्योगिक क्रान्ति हो । माथिका सबै अवस्थाहरुले समाज संयुक्त परिवार एकल परिवार हुँदै परिवारको खण्डिकरणको दिशातिर विकासको क्रम अघि बढेको देखिन्छ । मानिस नितान्त एक्लो देखिन गइ सबै विषयहरुमा उ आफै सक्षम तथा सवल हुनुपर्ने अवस्था आएको छ । 

माथिका तिनवटै अवस्थाहरुले सुविधाहरुको उपलव्धताका बारेमा वर्णन गरे पनि तिनीहरुको समुचित प्रयोग र यसवाट सिर्जित असन्तुलनका बारेमा आफैले केही गर्ने विषय भएन । त्यसैले यी अवस्थाहरुको समुचित प्रयोग गरी यथेष्ठ लाभ लिनका लागि समुचित व्यवस्था गर्नु नै सरकारको दायित्व हो । यही नै शिक्षा तथा शैक्षिक व्यवस्थापन पनि हो ।  

शिक्षाको केन्द्र

उत्पादनको यान्त्रिकिकरणका लागि सिकाइका विभिन्न स्तरीय विधिहरु आवश्यक पर्दछन् । व्यापारिक प्रयोजनको उत्पादनका लागि सिकाइका स्तरीय विधिका अलावा स्तरीय परीक्षण विधिहरु समेत आवश्यक पर्दछन् । उत्पादनको स्वचालिकरणका लागि ग्राहकलाइ बुझ्ने ढाँचा आवश्यक पर्छ भने जिवनस्तर अभिवृध्दिका लागि पढ्ने विधिवाट सिक्ने वा गर्ने विधिमा परिवर्तन हुनुपर्छ । माथिको शिक्षा प्रवाहको विकास क्रमलाइ हेर्दा औद्योगिक क्रान्तिको विकास क्रम सँगसँगै निगमन विधिवाट आगमन विधितर्फ शिक्षा अघि बढेको पाइन्छ । सिध्दान्त, सूत्र तथा कितावी व्याख्या भन्दा वास्तविक वातावरणका घटनाक्रमहरुलाई अध्ययन गरी तथा संलेशण गरी सिध्दान्त परिभाषित गर्ने विधि नै आगमन विधि हो  यसलाई अहिले विकसित गर्नुपर्ने भएको छ । यसैलाई नै कार्यमा आधारित सिकाइ अथवा समस्यामा आधारित सिकाइ अथवा सोधपुछमा आधारित सिकाइ भन्ने गरिएको छ । यही नै कार्यस्थलको सिकाइ हो र यसलाई दोहोरो सिकाइका रुपमा पनि स्थापित गर्ने प्रयासहरु शुरु नभएका भने होइनन् । 

माथि उल्लेखित प्रयासहरु सैध्दान्तिक रुपमा जनसाङ्खिक विविधतामा प्रस्फुटित हुने भए पनि के वास्तवमा यो सम्भव छ ? जाति, नश्ल, लिङ्ग, राष्ट्रियता तथा लैङ्गिक झुकावहरु जनसाङ्खिक विविधता भित्र पर्दछन् । जनसाङखिक विविधता प्रचुर भएको हाम्रो देशमा यो विशेषता लाभकारी छ कि खतरामुक्त छैन भनेर विवेचना गर्नुपर्ने बेला आएको छ । 

माथि उठाइएको वहसको विषय सामान्यतया मूलधार वाहिरको भए पनि हाम्रो देशको वौध्दिक विविधताका आधारमा यसलाई लेखाजेखा गर्नुपर्ने हुन्छ । अव बौध्दिक विविधता भनेको के हो ? माथि भनिए जस्तै सामाजिक अवस्था, सभ्यताको अवस्था र औद्योगीकीकरणको अवस्थामा प्रचलित भएका प्राकृतिक, मानसिक तथा जनसांख्यिक विविधताको सर्वमान्य तथा विवेकपूर्ण व्याख्या नै बौध्दिक विविधता हो । तर विडम्वनाको कुरा बौध्दिक विविधतामा प्रकट भएका बिचार, विश्वाश, मूल्य मान्यता तथा राजनीतिक दर्शन जनसांख्यिक विविधताको मारमा पर्ने गरेका छन् । कुनै बिचार सम्यक र सत्य नै भए पनि यो विचार विचारकको जनसांख्यिक विविधताको माखे साङ्लेमा पर्न गएको देखिन्छ । यसले गर्दा व्यावसायिक शिक्षा सम्बन्धि वास्तविक बिचार पनि जनसांख्यिक विविधताको शिकारको मारमा पर्ने गरेको छ । 

वातावरणीय विविधतामा अधिकतम विविधता गुणस्तरीय तथा सन्तुलित वातावरणको पर्याय मानिन्छ । सन्तुलित वातावरणीय विविधता सामाजिक क्षेत्रमा कति उपयुक्त हुन्छ अनुसन्धानकै विषय बनाउनुपर्छ । साश्वत विश्वाश भन्दा पनि तत्कालको सुविधालाई प्रधानता दिइने गरेकाले पनि यो परिस्थिति स्रिजना भएको हो । 

अब बौध्दिक विविधताका विविध पक्षहरुका बारेमा चर्चा गरौं । पहिलो विचार । शिक्षा स्नातकहरुको जनसंख्या बढाउने उपक्रम हो कि कामको संसारमा अवतरण गराउने आधार हो ? पक्कै पनि समग्र शिक्षाको क्षेत्र व्यापक भए पनि व्यावसायिक शिक्षामा विचार भनेको शिक्षालयमा अध्ययनरत विद्यार्थीलाई कामको संसारमा प्रवेकालागि तयार पार्नु नै हो । विद्यार्थी केन्द्रित तथा कार्यस्थलमा आधारित र आगमन सिकाइको विधिमा रहेर गरिने पठन पाठन नै व्यावसायिक शिक्षाको विश्वास हुनुपर्दछ । तेश्रो मूल्य तथा मान्यता के का आधारमा तय गर्ने ? 

सामान्यतया ज्ञान प्रकट र लुप्त दुई किसिमको हुन्छ । प्रकट ज्ञान संज्ञानात्मक हुने भएकाले यसलाइ शिक्षक केन्द्रित मान्न सकिन्छ भने यो कार्यस्थल बट टाढा रहेर पनि प्राप्त गर्न सकिन्छ । तर लुप्त ज्ञान चाँहि मनोक्रियात्क तथा भावात्मक दुवै हुने भएकाले यो विद्यार्थी केन्द्रित मात्र नभइ वास्तविक कामको संसारमै प्राप्त गर्नुपर्ने हुन्छ । त्यसैले यसमा उत्पादक तथा रोजगारदाताहरु शिक्षण व्यवस्थापनका हरेक तहमा सहभागी हुनै पर्छ । शिक्षालय र उत्पादन स्थल दुवैमा गरिने पठनपाठन अथवा दोहोरो शिक्षा नै यसको मूल्य मान्यता हुन जान्छ । 

अब अन्तमा राजनैतिक दर्शन । सबैका लागि शिक्षा त आम नै भएको छ । के व्यावसायिक शिक्षामा पनि यसको अनुशरण हुन सक्छ ? सरकारी, सहकारी तथा निजी प्रयासवाट पेशा व्यवसायको पहिचान, यिनीहरुको शिक्षामा मुलप्रवाहीकरण र प्रतिभा व्यवस्थापन तथा सहज पहुँचका आधारमा शिक्षा प्रवाह नै मूख्य राजनीतिक दर्शन हुन सक्छ ? के सामाजिक अवस्था, सभ्यताको अवस्था तथा ओद्योगिकिकरणको वर्तमान अवस्थामा आएको आमूल परिवर्तनलाई प्रभावकारी तथा वस्तुनिष्ठ भइ अवलम्वन गर्न वौध्दिक विविधताका विभिन्न आयामहरुलाई शिक्षाको मूख्य केन्द्रका रुपमा उपयोग गर्न सकिन्छ ?

भट्टराई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्र्तगत प्राविधिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख हुन् । 

प्रतिक्रिया