स्थानीय पाठ्यक्रम र स्थानीय पेडागोजी


नेपालको विद्यालय शिक्षाको पाठ्यक्रममा स्थानीय विषयवस्तुलाई समावेश गरिनु पर्छ भन्ने अवधारणा राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ बाट शुरु भयो । यसको कार्यान्वयनको औपचारिकता भने प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ बाट शुरु भयो । एउटा विषयकै रुपमा स्थानीय पाठ्यक्रम वा मातृभाषा पढाउने व्यवस्था गरियो । मातृभाषा र स्थानीय विषयवस्तुलाई अलग अलग पढाउँछु भन्ने अवस्था छैन, जबकी यी एउटै विषय होइनन् र एक अर्काको परिपूरक हुन सक्दैनन् । मातृभाषा पनि पढाउने र स्थानीय विषयवस्तु पनि पढाउने सन्दर्भमा बहस छलफल भएको छैन । 

स्थानीय सरकार गठन हुनुभन्दा पहिला पाठ्यक्रमको संरचनामा भएपनि स्थानीय पाठ्यक्रमको कार्यान्वयनको अवस्था कमजोर थियो । धेरै विद्यालयले अतिरिक्त अङ्ग्रेजी तथा कम्प्युटर पढाइरहेका थिए । स्थानीय सरकार गठन भएसँगै स्थानीय पाठ्यक्रम निर्माण गरी स्थानीय विषयवस्तु शिक्षण  गर्ने विषयले मूर्तरुप लिएको छ । धेरै पालिकाहरुले यसलाई महत्व दिएका छन् । 

पालिकामा स्थानीय पाठ्यक्रम बनाउने विषय स्थानीय तहमा शिक्षकहरूको क्षमता विकास गर्ने अवसर हो । विद्यालयसँग स्थानीय समुदायलाई जोड्ने माध्यम पनि हो । स्थानीय ज्ञान, सिप र प्रविधिको संरक्षण पनि हो । स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय समुदायको सहभागिता न्यूनतम पूर्व शर्त हो । धेरै पालिकामा स्थानीय पाठ्यक्रम निर्माणमा छलफल, अन्तकक्रिया, बहस भएका छन् । तर केही पालिकामा यसको मूलमर्म विपरीत परामर्शदाता कम्पनीहरूलाई ठेक्का दिने नराम्रो प्रवृति पनि विकास भएको पाइएको छ, जुन गलत अभ्यास हो । 

पालिकामा शिक्षा प्रशासनको कर्मचारी अभाव, भएका कर्मचारीको कामको बोझ तथा अन्य केही कारणले सहजीकरण गर्न, त्यसका केही आधारभूत पक्षहरूमा सरोकारवालाहरूलाई कुरा बुझाउन, पाठ्यक्रममा हुनुपर्ने न्यूनतम आधारभूत पक्षहरूमा गुणस्तरीयता ल्याउन १।२ जना वाह्य व्यक्तिहरूलाई संलग्न गराउनु अन्यथा नहोला तर स्थानीय पाठ्यक्रम बनाउने कामलाई सम्पूर्ण रुपमा परामर्शदाताहरूलाई जिम्मा लगाएर ठेक्का दिने पद्धतिमा सुधारको जरुरी देखिन्छ । 

पङ्तीकारले संकलन गरेका विभिन्न पालिकाका एक दर्जन स्थानीय पाठ्यक्रम समीक्षा गर्दा धेरै स्थानीय तहले स्थानीय विषयवस्तुलाई प्राथमिकता दिएका छन् भने केही पालिकामा पाठ्यक्रम बनाउनका लागि मात्र बनाएको अवस्था पनि देखिन्छ । पालिकाको परिचय मात्र कति कक्षासम्म पढाउने ? भन्ने प्रश्न पनि हुन सक्छ, तर स्थानीय पाठ्यक्रम निर्माणका सन्दर्भमा समुदायको सहभागितालाई बढाउने हो भने यो समस्या आउँदैन । स्थानीय भूगोल र स्थानीय पेशा व्यवसाय,  धर्म, कला, साहित्य, संस्कृतिजस्ता केन्द्रबाट सूचीकृत गरिएका विषयमा मात्र केन्द्रित नभएर वडा वडामा समुदायसँग वृहत रुपमा छलफल र समुदाय सहभागिता बढाएर स्थानीय समुदायबाट विषयवस्तु संकलन गर्न सकियो भने यसलाई थप प्रभावकारी बनाउन सकिन्छ । 

स्थानीय पाठ्यक्रमका विषयवस्तु शिक्षणमा केन्द्रले तयार गरेको पाठ्यक्रममा उल्लेखित गरिएका बाहेक स्थानीय शिक्षण सिकाइका पद्धतिलाई खोज, अन्वेषण गर्न सकेको देखिएन । स्थानीय पाठ्यवस्तु शिक्षण सिकाइमा स्थानीय पेडागोजीलाई जोड दिनुपर्छ, जसले स्थानीय विषयवस्तुको शिक्षण प्रभावकारी बन्छ र त्यसबाट अपेक्षा गरिएको उपलब्धि हासिल हुन सक्छ । 

स्थानीय पाठ्यवस्तुको शिक्षण सिकाइका लागि स्थानीय पाठ्यक्रममा समावेश गर्न सकिने शिक्षण सिकाइका स्थानीय शिक्षण विधिलाई (स्थानीय पेडागोजी) निम्नानुसार उल्लेख गरिएको छ । 

(क) स्थानीय पाठ्यक्रमको मुख्य विशेषता स्थानीय विज्ञताको प्रयोग (Local expert as Teacher) पनि हो । यस सन्दर्भमा स्थानीय पाठ्यक्रमको कार्यान्वयनका क्रममा स्थानीय स्तरमा भएका स्थानीय ज्ञान सिपका विज्ञहरू पहिचान गरी उनीहरूलाई विद्यालयमा आमन्त्रण गरी विद्यार्थीसँग अन्तरक्रिया गराएर सिकाउन सकिन्छ । स्थानीय क्षेत्रमा भएका विज्ञहरूको प्रयोगबाट गरिने शिक्षणले स्थानीय ज्ञान सिपको हस्तान्तरणलाई प्रभावकारी बनाउँछ । स्थानीय पेसामा संलग्न पेसाविद्, स्वास्थ्यकर्मी, कृषिका विज्ञ तथा किसानहरूको प्रयोग गर्न सकिन्छ ।

(ख) बालबालिकालाई केही खास स्थान तथा ऐतिहासिक र पुरातात्विक स्थलहरूको प्रत्यक्ष रूपमा अवलोकन गराइ (Local place as learning place) शिक्षण सिकाइ गर्ने । सम्बन्धित स्थानमा शैक्षिक भ्रमण लैजाने वा विद्यार्थीका विषयगत समूह विभाजन गराई विभिन्न समूहलाई विभिन्न स्थानको अवलोकन गर्न लगाई त्यसको प्रतिवेदन तयार गरी कक्षामा प्रस्तुत गर्न लगाउने क्रियाकलापबाट शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउन सकिन्छ । प्राकृतिक सम्पदा, तालतलैया, पोखरी, वनजङ्गल, पहाड, खोला, बाटो, पुल, पार्क आदि क्षेत्रको प्रत्यक्ष अवलोकन गराई शिक्षण सहजीकरण गर्नुपर्छ । 

(ग) विद्यार्थीको जाति, भाषा, संस्कृति तथा भौगोलिक क्षेत्र (Student as teacher) अनुसारका समूह बनाई उक्त विषयसँग सम्बन्धित पाठहरूमा उनीहरूलाई नै शिक्षण सिकाइ सहजकर्ताका रूपमा परिचालन गर्न सकिन्छ । कुनै खास समुदायका बालबालिकाले मनाउने चाडपर्व तथा अन्य सांस्कृतिक क्रियाकलापसँग सम्बन्धित विषयमा शिक्षकले सहजीकरण गरी विद्यार्थीलाई नै सिकाइ सहजकर्ताका रुपमा प्रयोग गर्न सकिन्छ । 

(घ) विभिन्न परियोजना कार्यहरू गर्न लगाएर स्थानीय विषयवस्तुको शिक्षणलाई प्रभावकारी बनाउन सकिन्छ (Student share knowledge) । विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका घरमा भएका सामग्री, अभिभावकको पेसा, घरमा मनाउने विभिन्न चाडपर्व आदिको वारेमा प्रस्तुतीकरण गर्न सक्छन् । विभिन्न मौसम अनुसारका क्रियाकलाप, प्राकृतिक प्रकोपबाट बच्न अवलम्बन गर्ने उपायहरू, विभिन्न जडीबुटीको प्रयोग आदि क्षेत्रका ज्ञानको स्रोत विद्यार्थीको घर, परिवार हुने भएकाले यस्ता विषयमा उनीहरूलाई नै अनुभव बताउन लगाउनु प्रभावकारी हुन्छ । 

(ङ) स्थानीय स्तरमा भएका जेष्ठ नागरिक, राजनीतिकर्मी, पेसाकर्मी, अन्य शिक्षाकर्मी, समाजसेवी तथा  पुजारी, संस्कृतिविद्, साहित्यकार, कलाकार जस्ता विभिन्न व्यक्तिहरूलाई विद्यालयमा आमन्त्रण गरी (Local guest teacher) उनीहरूबाट सिकाइ सहजीकरण क्रियाकलाप सञ्चालन गर्न सकिन्छ । स्थानीय विषयवस्तु अनुकूल हुने गरी उनीहरूका अनुभवहरू आदानप्रदान गरी शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन सकिन्छ । 

(च) स्थानीय स्तरमा उपलब्ध हुने तथा पाठ अनुसार आवश्यक पर्ने शैक्षिक सामग्री स्थानीयस्तरमै खोजी गर्ने, निर्माण गर्ने, विकास गर्ने र त्यसको प्रयोग गरी शिक्षण सिकाइ (Local materials) सञ्चालन गर्न सकिन्छ । यी सामग्रीको प्रयोग तथा तथा संरक्षण गर्ने र निरन्तर रुपमा प्रयोग गर्ने क्रियाकलाप गर्नु आवश्यक हुन्छ । 

(छ) दुई वा दुईभन्दा बढी विद्यालय तथा विद्यालयका शिक्षकहरूले आपसमा छलफल गरी सामूहिक पाठ योजना बनाउने, शैक्षिक सामग्री बनाउने, परियोजनाका कार्यको ढाँचा तयार गर्ने, मूल्याङ्कनका क्रियाकलाप तय गर्ने, शिक्षण सिकाइका नवीनतम् रणनीतिको प्रयोग गरी शिक्षण सिकाइ सञ्चालन (Teacher cooperative work) गर्ने ।  यस्ता क्रियाकलापमा जोड दिने गरी सहकार्यात्मक क्रियाकलाप गरी शिक्षण क्रियाकलाप र विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउन सकिन्छ । 

(ज) स्थानीय पाठ्यवस्तुको शिक्षण सिकाइमा शिक्षकले सहकार्य सिकाइ (cooperative learning) लाई जोड दिनुपर्छ । विभिन्न भाषा, धर्म, साहित्य, कला, पेसा, संस्कृतिक सहितका विविध ज्ञान सिप, क्षमता भएका विद्यार्थीहरु विद्यालयमा हुन्छन् । उनीहरूलाई एकआपसमा सहकार्यबाटै सिक्ने अवसर उपलब्ध गराउनु पर्छ । एकैखालको पर्व मनाउने, एकै खालको पेसा भएका, एउटै जाति वा भाषा समुदायका विद्यार्थीहरूले एक आपसमा मिलेर सिक्न र सिकाउन सक्छन् । 

(झ) विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी सामाजिक अन्तरक्रिया ( Social interaction) गराउने, सामाजिक सङ्घसंस्थाहरूमा पठाउने, विभिन्न स्थानीय सामाजिक, राजनीतिक व्यक्तिहरूलाई भेटेर अन्तरक्रिया गर्न लगाउने, चाडपर्वहरूमा सोसँग सम्बन्धित परियोजना कार्यहरू दिन सकिन्छ । 

उल्लेखित बुँदा केही उदाहरण मात्र हुन्, यसमा स्थानीय पाठ्यक्रमको वास्तविक कार्यान्वयनकर्ता शिक्षकहरू मार्फत अझ परिष्कृत र राम्रो बनाउन सकिनेछ ।

महत्वपूर्ण कुरा के हो भने, स्थानीय पाठ्यक्रम स्थानीय विषयवस्तुको सूची मात्र होइन, शिक्षण सिकाइ र मूल्याङ्कनको पनि स्थानीयकरण हो । स्थानीय पाठ्यक्रमका लागि स्थानीय शिक्षण विधि खोजी गरौँ । 

आचार्य, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनमा विद्यावारिधिको शोध गर्दै छन् ।