Edukhabar
विहीबार, २० बैशाख २०८१
विचार / विमर्श

विद्यार्थी, शिक्षक र कर्मचारी दलका दास बनेपछि कसरी हुन्छ शिक्षामा सुधार ?

विहीबार, १५ मंसिर २०७९

शिक्षाको विषयमा अझ सघन विमर्श जरुरी छ । त्यो बाटोमा हामी सबै लागौं । किनभने हामी शिक्षामा धेरै तल छौं चाहे, त्यो विद्यालय शिक्षाको हकमा होस् वा उच्च शिक्षाको हकमा होस् । त्यो सुधार्न सकिन्छ भन्ने विश्वास पनि छ मलाई । ‘दलीयकरणको जाँतो, नागरिक र व्यावसायिक अस्मिताको हरण’ लामो कालदेखि लेखिरहेको विषय हो । हामीलाई राजनीतिक व्यवस्था चाहिन्छ । दलीय व्यवस्था खोज्यौं । तर दलीय व्यवस्था यस्तो खोज्यौं कि ‘नागरिकहरु सबै दलको समर्थक वा सदस्य रहून् । र, त्यो अन्तर्गत सबैले आफूबारेमा सोचून । प्रोफेसर, विद्यार्थी वा कर्मचारी पहिला राजनीतिक दलको सदस्य होओस् ।’ यस्तो खोजेको हैन ।

तर अहिलेको स्थिति यस्तो छ । त्यसले शिक्षालाई गाँजेको छ । त्यसकारण दलीयकरणको जाँतोले नागरिक र व्यावसायिक अस्मिताको हरण गरिरहेको छ ।

अहिलेको विश्वविद्यालय प्रणाली गलत छ भन्ने लाग्छ । त्यसलाई सुधार्नु, पूनर्संरचना गर्नु अति नै आवश्यक छ । यो दुइटै कुरा चाहिँ विश्वविद्यालय भन्दा बाहिरका कुरा हुन् । विश्वविद्यालयलाई ठीक लिकमा राख्नका लागि सरकारले र राजनीतिक दलले काम गर्नुपर्छ । 

विश्वविद्यालय भित्रको पठनपाठनको पूनरावलोकन पनि जरुरी भइसकेको छ । अहिले भइरहेको पठनपाठन बिग्रिरहेको छ, त्यसलाई सुधार्ने कसरी हो ? सबभन्दा महत्वपूर्ण कुरा विश्वविद्यालय भित्रका दुईटा कुरामध्ये सही प्राध्यापकको चयन र सम्वरण हो । 

प्राध्यापक भनेको विश्वविद्यालय प्रणालीको मुटु हो । त्यो सही भएन भने विद्यार्थी पनि सही निस्किदैन । त्यही भएर सही प्राध्यापक कसरी चयन गर्ने र त्यो प्राध्यापकको सम्वरण कसरी गर्ने ? यी दुइटै कुरा महत्वपूर्ण छ । छान्ने कुरा र छानिसकेपछि उसको प्रोफेशनल क्वालिटी बढाउँदै जाने कुरामा ख्याल गर्नुपर्छ ।

शिक्षा पद्धति सुधार्नका लागि उच्च शिक्षाको भित्र पनि, बाहिर पनि काम गर्नुपर्छ । बाहिरले उच्च शिक्षा स्थिति सुध्रने वातावरण बनाउनुपर्छ । त्यो भनेको सरकार र दलको कुरा हो । मुख्य गरेर दलको कुरा हो भन्ठान्छु म । किनभने दल र सरकारको भेद हुन छोडिरहेको छ ।

हामी नेपाली काँग्रेस सरकार भन्छौं, एमाले सरकार भन्छौं । त्यो नेपालको सरकार भन्न छोड्यौं हामीले । नेपालको संसद पनि भन्न छोड्यौं झण्डै झण्डै । त्यसकारण दलहरु अरु किसिमले नै हावी छन् । 

लोकतन्त्र र गणतन्त्र हाम्रो लागि प्यारो छ । तर यसको अर्थ हाम्रो जीवन, शिक्षास्थल, कार्यस्थल आदि समस्त क्षेत्रहरुमा दलको प्रभाव जति विस्तारित र गहिरो बन्यो, देश उति उँधो लाग्छ, नेपालीहरुको जीवन सुसंस्कृत र सुखी र समृद्ध हुन्छ भन्ने कदापि हैन । विद्यालय या विश्वविद्यालयका विद्यार्थी, कर्मचारी, शिक्षकहरु दलीय पहिचानमा लिप्त रहँदा, विद्यार्थी, कर्मचारी र शिक्षकले व्यवसायिक उत्कृष्टता तर्फको स्वधर्म पालन नगर्दा साथै विद्यालय र विश्वविद्यालयको सिंगो व्यवस्थापकीय प्रणाली दलीयकृत हुँदा, शिक्षाका क्षेत्रले संविधान, कानून, नीति आदिमा अंकित उद्देश्य हासिल गर्न नसक्ने निश्चित भएको छ । विद्यार्थी, शिक्षक, कर्मचारी दलका दास बन्दा व्यावसायिक उत्कृष्टतालाई तिलाञ्जलि दिइरहेको मात्र हैन, शिक्षा क्षेत्रका यी तीन मूलकर्ताहरु सँगै आपसी विवाद र ध्वंसमा उत्रिरहेको हामी सबैले अनुभव गरिरहेका छौं । शिक्षा मन्त्री र प्रधानमन्त्रीले समेत विद्यालय र विश्वविद्यालयका स्थापित विधि, मूल्य र मान्यतालाई लत्याउँदै दलीय विद्यार्थी, कर्मचारी र शिक्षक संगठनलाई अवैध प्रश्रय दिएको प्रष्ट भएको छ । मानौं, यो देश र जनता दलहरुकै निमित्त जन्मेका र हुर्केका हुन् ।

राजनीतिक दलको भ्रातृ संगठनका रुपमा विद्यार्थी संगठन, शिक्षक संगठन, कर्मचारी संगठन बन्ने÷बनाउने परिपाटी रहँदा विद्यालय र विश्वविद्यालयमा अनेक विकृति भित्रिए  । त्यस माथि दल पिच्छेका र दल विशेष भित्रका गुट र उपगुट र नेता विशेषका आआफ्नै शिक्षक र विद्यार्थी, कर्मचारी नेता विश्वविद्यालयमा हावी रहँदा विश्वविद्यालयको पठनपाठन र प्रशासन अस्तव्यस्त भएका छन् ।

विश्वविद्यालयमा दलका दास विद्यार्थी, शिक्षक, कर्मचारी आदिले पूर्णतया अनधिकृत अपराधिक र अनैतिक तवरले ताल्चा लगाउने, शिक्षक र प्रशासकलाई धम्क्याउने, निर्घात कुट्ने, विश्वविद्यालयको कागजपत्र च्यात्ने आदि गर्दैछन् । यो सबै घृणित कारवाही दल र नेताहरुको आडमा भइरहेका छन् । यो परम्परा कायम रहने हो भने उच्च शिक्षा उँभो लाग्दैन भन्ने कुरा नेताहरुले बुझ्नु पर्यो भन्ने आग्रह हो मेरो ।

दल र नेताहरुले विश्वविद्यालयको स्वामित्व लिएकै छैन । दल र नेताहरु धेरै हकमा विद्यार्थी, शिक्षक र कर्मचारीमा अपनत्वको भाव अत्यन्त कम छ । उता विद्यार्थी, शिक्षक र कर्मचारीमा आफ्नो नेताप्रतिको आस्था, अनुराग र अपनत्व छ  । यसरी हेर्दा के देखिन्छ भने विश्वविद्यालयमा हामी पढाइरहेका छौं, शिक्षकहरुले विद्यालयमा पढाइरहेका छन्, तर आफ्नो आइडिन्टीटी के हो ? आफ्नो व्यवसाय के हो ? अझ सोझो अर्थमा भन्नुपर्दा भक्ति एकातिर, नुन एकातिर छ । एकातिरको नुन खाइरहेको छ, अर्को तिर भक्ति देखाइरहेको छ । हामी आफूले अनुभुत गर्ने र दलहरुलाई पनि अनुभुत गर्न लगाउन अत्यन्त आवश्यक छ । हैन भने हामी राम्रो प्रणाली बनाइरहेका छैनौं । 

दलहरु सबै सुन्निने र अरु सबै क्षेत्र टाक्सिने । दल पनि बलियो भएको छैन, सुन्निरहेको छ । मान्छेहरु वरिपरि झुम्मिएका छन्, राजनीतिक शुद्धताको आवरण छैन । घोषणापत्रमा लेखिएका कुराहरु पालना गर्न को को तयार छन्, को को छैनन् ? यसको विवेचना छैन । यसकारण दल सुन्निने कुरा हो यो । अरु सबै टाक्सिने, अरु सबैको अस्मिता हरण गर्ने, नागरिकको, विद्यार्थी, प्राध्यापककको, व्यवसायीको अस्मिता हरण गर्ने र आफू सुन्निने । यो कसैका लागि लाभदायक छैन । योबारेमा दलहरुले गम्भीरता पूर्वक सोच्नु जरुरी छ । 

साथै प्राध्यापक साथीहरु, शिक्षक साथीहरुलाई पनि नुन विश्वविद्यालयको खाने, सेवा दलको गर्ने, यो बानीबाट टाढा हुन आग्रह गर्दछु । दलहरुप्रति हामीले समीक्षा गर्नुपर्यो, दलहरुप्रति भक्ति देखाउने हैन । विश्वविद्यालय दलीय अखडा हैनन् बरु विश्व ऐतिहासिक ज्ञान र सीपको मनन्, समालोचना, प्रवर्तन र नवप्रवर्तनको चौतारी हुन् भन्ने मान्यतामा जानुपर्छ ।

यो कसरी होस् भन्ने चाहन्छु भने सबभन्दा पहिले दलहरुले आत्मसात गरोस् । हरेक दलको छलफलको विषय बनोस् । 

मार्टिन चौतारीले आयोजना गरेको उच्च शिक्षा सुधार्ने चार सुत्र शिर्षकमा समाजशास्त्री मिश्रद्वारा व्यक्त विचारको मुख्य अंश । 

प्रतिक्रिया