Edukhabar
आइतबार, ०९ बैशाख २०८१
विचार / विमर्श

शैक्षिक अनुगमन : नतिजामा परिमार्जन नगर्ने, केवल तीर्थाटन !

बुधबार, २४ जेठ २०८०

कुनै पनि कार्यक्रमको सफल कार्यान्वयनका लागि कार्यक्रमका क्रियाकलाप तथा बिभिन्न पक्षहरुको सामयिक तथा आवधिक अवलोकनको आवश्यकता हुन्छ । यही सामयिक अवलोकन नै अनुगमन हो । अनुगमनले कुनै पनि कार्यक्रममा विभिन्न रुपमा लगाईनु पर्ने लगानी, लक्षित समय तालिका, लक्षित कृयाकलाप, अपेक्षित उपलब्धी आदि पूर्व निर्धारित योजना अनुसार सम्पन्न अथवा हासिल भैरहेको छ वा छैन निर्धारण गर्दछ । त्यस अनुरुप कार्यक्रमको लक्ष्य, क्रियाकलाप, सञ्चालनमा देखिएका बिषमता वा त्रुटि वा कमजोरीहरुलाई सुधार्नका लागि आवश्यक उपाय अपनाउने अवसर प्राप्त गर्न कोशीस गर्दछ । नियमित तथा प्रभावकारी अनुगमनका लागि एउटा स्थापित प्रणालीको विकास हुनुपर्नेमा दुईमत नहोला । यस तथ्यलाई दृष्टिगत गरी अनुगमनका आधारभूत सिद्दान्तको परिधिभित्र रही प्रभावकारी अनुगमनका लागि केन्द्रदेखि स्थानीय तह सम्मको सुचनाको पहिचान, सुचना सँकलन, सँकलित सुचनाको विश्लेषण र त्यसको सँक्षेपिकरण गर्ने जस्ता न्युनतम प्रकृया समेटेर अनुगमन प्याकेज नै तयार हुनु पर्दछ । सोहि अनुरुप कार्य सञ्चालन हुनु पर्दछ । ताकि यसले आगामी कार्यक्रम बनाँउदा पृष्ठपोषण गरोस् ।

यो सर्वमान्य सिद्दान्त हो । साँच्चै अनुगमन यो सिद्दान्तमा हिँडेको छ त ?

शिक्षासँग सरोकार राख्ने व्यक्ति भएको हुँदा सन्दर्भ पनि शिक्षासँगै जोडौँ । करिव ३ दशक अघिको कुरा हो । जोश थियो । के के न गरिन्छ कस्तो लाग्थ्यो । डिजिटल क्यामेराको जमाना थिएन । रिलवाला क्यामेरा भिरेर हिँडिन्थ्यो । स्वभाविक रुपमा अनुगमनमा पनि सोहि क्यामेरा प्रयोग गरिन्थ्यो । स्टाईल मानिन्थ्यो क्यामेरा भिरेर हिँड्न । त्यति बेला जोशै थियो । हिँडिन्थ्यो । त्यसै शिलशिलामा एक दिन एउटा विद्यालय पुगियो । टाढै बाट देखियो, स्कुलमा कुनै समारोह छ । केराको थाममा सल्लाको पातले बेरिएको, ध्वजा पताका, विद्यालय परिसरमा भिड देखिन्थ्यो । विद्यार्थी फुलका गुच्छा लिएर लाईनमा थिए । 

किन आज के समारोह छ ? 

हजुर आउने थाहा पाएर खुशयालिमा गरेको सर ।

म कतै अनुगमनमा जाँदा खबर गरेर जान्नथेँ । 

यहाँ कसरी थाहा पाए ? 

पल्लो स्कुलमा हिजो हजुर पुगेको थाहा पाईयो । हाम्रो स्कुलको बारे सोध्नु भा–को रहेछ । त्यसैले पक्कै आउनु हुन्छ भनेर !

ए, बाबा ठाकुरे !

अरु अनुगमनमा आउला भनेर डराँउछन् । तिमीहरु स्वागत द्वार बनाउछौँ !  अचम्म ! 

सर, यहाँ कोहि आँउदैन, पहिलो पटक शिक्षाको व्यक्ति आएको छ । खुशी नहुनु ?! 

मलाई अचम्म पारे ।

हिजो आजका नेताहरुले लाउने जस्तो गलाभरी माला लगाई दिए ! 

म भावुक हुने मान्छे, भाव बिभोर भएँ, म अलपत्र परेँ, के भन्नु ! के नभन्नु ! 

अब भन्नोस्, शिक्षा कार्यालयले के गर्नु पर्नेछ यहाँ ? 

सर, यहाँ हेडसर पढाउन आउनुहुन्न, वहाँको ठाँउमा फलानोले पढाउनुहुन्छ । त्यस वापत एक हजार पाउनुहुन्छ । हामीलाई कि हेडमास्टर नै नियमित आउनु पर्यो, होईन भने वहाँको ठाँउमा अर्को मान्छे भर्ना गर्न पाउनु पर्यो । 

माग जायज थियो । 

म पनि जोसिलै थिएँ । घोषणा गरेँ : म अफिस पुगेको एक हप्तामा कि हेडसर नियमित हुनुहुन्छ की तपाईहरुले भनेजस्तो अर्को व्यक्ति भर्ना गर्ने अधिकार पाउनुहुन्छ । 

रिलवाला क्यामेराले भारी भाको फोटो खिचेँ । सबै व्यहोरा खुल्ने गरी फोटो समेत धुलाइवरी टाँसेर ५ पृष्ठको रिपोर्ट तयार गरी अफिसमा पेस गरेँ । 

सोचेँ । छिट्टै कारवाही हुन्छ । आज होला, भोलि होला, भएन ! 

हाकिमसाब कहाँ गएँ, विषय उठाएँ, तपाई अली नयाँ हुनुहुन्छ, बिस्तारै हुन्छ, नआत्तिनुस् न ! 

मैले बुझिन, हामी किन व्यावसायिक छैनौँ ? कहिले हुन्छौँ ?

अर्को एउटा घटना छ । नामै अझै सम्झेको छु । डोल्पाको तपरिजा हाईस्कुल । शे– फोक्सुन्डो तालको किनारमा छ । सदरमुकाम दुनै बाट पैदल हामीलाई १३ घण्टा लाग्यो, त्यहाँ पुग्न । एउटा व्यक्तिको पहलमा सवै आवासीय रुपमा चलेको । पहिले त विश्वासै लागेन । सबै कप्युटर व्यवस्था, विद्यार्थीलाई चाहिने वर्षदिनको कापी, कलम, पेन्सिल र्याकमा व्यवस्थित छ । त्यो अभिभावकसँग उठाएको हैन । सबै विद्यालयको संयोजकले व्यवस्था गरेको ! 

कसरी सम्भव भयो ? मेरो स्वभाविक सवाल । 

संयोजकको स्विस साथीले उपलव्ध गराएको । उपल्लो डोल्पा जाने पर्यटकले संयोगले सहयोग गरेको बुझियो । हामीले अब के गर्नु पर्यो त ? 

सर, यसलाई सरकारले जिम्मा लिनु पर्यो । म यहाँबाट हिँडे भने यो नियमित होलाकि नहोला चिन्ता लाग्छ । त्यति बेला सम्म बागमतीमा धेरै पानी बगिसकेको थिया े। सिष्टमले कसरी काम गर्छ त्यो थाहा पाईसकेको थिएँ । म पहिला जस्तो भावुक हुन छोडिसकेको थिएँ । 

अब संयोजकलाई अलमल्याउने बिचार गरेँ । तिमीले ५ वटा गाविसले सहयोग गर्ने सहमति ल्याउ । म आवासीय विद्यालयको रुपमा विभागवाट सञ्चालन हुने कुराका लागि सिफारिस गर्छु । यसो भनेको मात्र के थिएँ म फर्कने बेला सम्ममा ५ वटै गाविसको सहयोग गर्ने कमिटमेण्ट लिएर आए । म अप्ठेरोमा परेँ !

माथि झै राम्रो रिपोर्ट तयार गरेँ । विभागमा अनुगमन प्रतिवेदनमा हाकिम सावको तोक लगाउने बेलामा भनेँ । 

“कार्यक्रम”,मात्र भनेर हुन्न, आगामी बर्षको कार्यक्रममा आवासीय विद्यालयको रुपमा विकास गर्ने” लेख्नु पर्यो !

किन ?

हजुरले जागिरका दौरान धरै राम्रा काम गर्नु भएको होला । तर यो काम गरे पुण्य मिल्छ । दूर दराजमा एक्लो व्यक्तिले यस्तो काम गरेको छ । ती अनकण्टारमा बस्नेका लागि यो नगरी हुन्न । वहाँले मेरो भावना बुझ्नु भो । मैले भनेकै व्यहोराको तोक लगाउनु भो । तर पनि कुन्नी किन हा े! त्यो ब्यवहारमा भने जान सकेन । लामो समय सम्म विद्यालय संयोजकको फोन उठाँउन सकिन । आँफैमा लाज लाग्यो । हामी किन निरीह भयौँ ?

अनुगमनले कार्यक्रमको प्रभावकारीता जाँच्ने भन्दा अनुगमनका लागि  अनुगमन हो भन्ने बुझ्ने भएँ । प्रतिवेदन लेखाको अडिटका लागि मात्र हो भन्नेमा बिश्वस्त हुन थालेँ । धेरै प्रतिवेदन लेखियो । धेरै साथीहरुले लेखे । लेखिरहेका छन्।  प्रतिवेदन दराजमा मात्र सिमित भए । उपलब्धि परीक्षणका रुपमा कहिल्यै प्रयोग भएनन् । यसलाई कहिल्यै महत्व दिईएन । लिइएन । बिस्तारै अनुगमनको परिभाषा मेरो लागि परिवर्तन हुन थाल्यो ।
मेरो जस्तै अनुभव सुनाँउथ्यो एकजना साथीले !

तलव रोक्नु पर्ने प्रतिवेदन लिएर अफिस पुगेको उ पुग्नु अगावै निकासा भै सकेछ । त्यो पनि त्यो व्यक्तिको मात्र जसको तलव रोकिनु पथ्र्यो !

सबै त्यस्ता छैनन् । तर राम्रा र नराम्रा त छुट्टिनु पर्यो नी ! त्यो रिपोर्टको विष्लेषण त हुनु पर्यो नी ! झट्ट हेर्दा यी अति साना कुरा हुन् । तर प्रतिनिधि घटना हुन् । यी कुराले समग्र चित्र उजागर गर्छ । 

“बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ।” यस्ता अनुभव धेरै साथीहरुका छन् । मेरा साथीहरु बेलाबेला यस्तै कुरामा ठुलै स्वरमा बम्कन्थे । 

“बाबु के गर्छस, सक्छौ जागिर नखाउ, सक्दैनौ जागिर खाउ, तातो रिस नगर, तिमी जुनदिन निर्णय गर्ने ठाँउमा पुग्छौ, सही निर्णय गर ।” 

म भन्थेँ, आशा गरौँ, आज त्यसमा केही परिमार्जन भो कि ! 

म सँधै सम्झीन्छु । 

“गुरुले सिकाएर परीक्षा लिन्छ, समयले परीक्षा लिएर सिकाउँछ ।”

समयले सिकायो । यहाँ भावनाले धेरै काम गर्दैन । नियम त छ । कार्यान्वयन छैन। सबैलाई थाहा छ । तर सुधार्दैन । नियममा काम गर्नेले गरीरहेको छ । ट्यापटुप जानेकाले फाईदा लिएको छ । दुःखी दिनानुदिन दुःखी हुँदो छ। कसैको एउटा कार्यक्रम सकेर फर्कँदा नफर्कँदै एयरपोर्ट बाटै अर्कोमा मनोनयन छ । कसैको जिन्दगी भरीमा पासपोर्ट नै बनेको छैन । कसैले छात्रबृत्तिमा मनोनयन भएर जान्छ । केहि लामो समय वस्छ । मन परेन भनेर बीचैमा छोडेर आँउछ । त्यस्तोलाई त कार्वाही गर्नु पर्ने हो । 

बिडम्वना ! लगत्तै अर्कोमा मनोनयन हुन्छ । हामीसँग ज्वलन्त उदाहरण छन् । आमा भन्नुहुन्छ “बोल्नेको पिठो बिक्छ। नबोल्नेको चामल पनि बिक्दैन ।” ए बाबा ठाकुरे ! नबोल्नेका लागि पनि नियम र कानुन छ भनेर बनाएको हैन भन्या !? अनुगमन खै ?

प्रत्येक मन्त्रालय र विभागमा अनुगमनका महाशाखा छन् । करोडौँ रकम अनुगमनका नाममा खर्च हुन्छ । कार्यक्रम चुस्त छैनन् । छैनन् भनेर अनुगमन प्रतिवेदन दिने र कार्यक्रम बनाउने निकाय एउटै छ । आफैँले बनाएको कार्यक्रमको औचित्यतामा आफँैले प्रश्न गर्ने चलन छैन । कार्यक्रम कसरी सुध्रिन्छ ? 

“हिँड्दैछ पाईला मेट्दैछ ।” एउटा सरकारले राम्रो गर्न खोजेको कार्यक्रम, ६ महिनामा परिवर्तन हुने अर्को सरकारले विना विश्लेषण खारेज गरिदिन्छ । लहडमा कार्यक्रम बन्छ । लहडमा सकिन्छ । कङ्गाल हुन लाग्दा पनि चेत नखुल्ने हो?

समाधान के त ?

सबै मन्त्रालय र विभागमा रहेका अनुगमन महाशाखा कानुनतः मन्त्रालय अन्तरगत छन । जसले कार्यक्रम बनायो उसैले अनुगमन गर्दा प्रभावकारी देखिएन । त्यसैले अब उप्रान्त अनुगमन महाशाखालाई मन्त्रालय अन्तरगत नभै योजना आयोग अन्तरगत राखौँ ।  जो सिधै प्रधानमन्त्री कार्यालय अन्तरगत होस् । अनुगमन प्रतिवेदन मन्त्रालय बिभागको प्रमुखलाई हैन योजना आयोगको सम्बन्धित विषय हेर्ने माननिय सदस्यकहाँ पेश गर्ने परिपाठी बसालौँ । ताकी कार्यक्रमको औचित्यता नरहने अवस्था देखिएमा आगामी कार्यक्रममा त्यसलाई परिमार्जन गर्ने हैसियत होस् । दक्षिण अफ्रिकामा यो मोडलमा काम हुने रहेछ । यो परीपाटीमा कार्यक्रम बनाउनेले औचित्यता पुष्टि नगरेको खण्डमा योजना आयोगले सो कार्यक्रम हटाईदिँदो रहेछ । यस किसिमले नियन्त्रण हुने परीपाटी बसेमा कार्यक्रमका लागि कार्यक्रम बन्ने बनाउने चलनमा परिमार्जन हुन सक्ला । अन्यथा राज्यको करोडौँ रकम अनुगमनका नाममा खर्च भई रहन्छ।  तर त्यसले कुनै नतिजामा परिमार्जन गर्दैन । तर “अनुगमनः तीर्थाटन” भने भईरहन्छ । जो आज भईरहेको छ ।

[email protected]

शिक्षा मन्त्रालयका पूर्व उपसचिव बस्याल पछिल्लो समय विभिन्न स्थानीय सरकारमा कार्यरत थिए ।  

प्रतिक्रिया