Edukhabar
विहीबार, २७ बैशाख २०८१
विचार / विमर्श

लोक शब्दमा शिक्षा

ऐतिहासिकता झल्कने र आधुनिकता टल्कने शिक्षाको राष्ट्रिय निती तय गर्दै शिक्षालाई समय सापेक्ष बनाउन ढिला नगरियोस्

आइतबार, १२ कार्तिक २०८०

विद्वान चार्ल्स रङ्गेल भन्छन्, ‘मानिसलाई अज्ञानता र गरिबीसँग लड्न योग्य बनाउने माध्यम शिक्षा हो ।’ 

रङ्गेलले भनेजस्तो हाम्रो देशको सन्दर्भमा शिक्षाले समाजको अज्ञानता र गरिबी हटाएको छ त ?

समाजमा अज्ञानता व्यापक छ । विभिन्न प्रकारका रुढीवादी, अन्धविश्वास, चलन, प्रचलन, मूल्य र मान्यताहरु छन् । धामी, झाँक्री, बोक्सी, छाउपडी, घुम्टो, देवकी प्रथा जस्ता चलनहरु जिवित छन् । गरिबी हाम्रो देशको ठूलो समस्या हो ।

शिक्षाले हरेक शिक्षित व्यक्तिलाई आफ्नो चाहना अनुरुपको पेशागत ज्ञान र सीप सिकाउन नसक्दा विश्वविद्यालयसम्म अध्ययन गरेका शिक्षित युवापुस्ता आपूmले प्राप्त गरेका शैक्षिक प्रमाणपत्रहरु घरमा थन्क्याएर वैदेशिक रोजगारको लागि पलायन भएको अवस्था छ । यसरी हेर्दा चाल्र्स रङ्गेलले भने जस्तो शिक्षाले समाजको न त अज्ञानता हटाएको छ न त गरिबी नै । 

लोक शब्दमा पनि शिक्षा आलोचनाको क्षेत्र बनेको छ । कृषि पेशामा संलग्नहरुको गुनासो छ, शिक्षाले छोरा छोरीलाई कृषि उत्पादनसंग जोडिएका कुनै पनि ज्ञान तथा सीप सिकाउन सकेन । राज्यले किसान परिवारका छोराछोरीहरुलाई परम्परागत रुपमा रहेको कृषि र पशुपालन प्रणालीलाइ आधुनिकीकरण, यान्त्रीकीकरण र व्यवसायिकिरण गर्न सक्ने शिक्षा दिएको भए आज शिक्षित जनशक्ति विदेशिने थिएनन् । गाउँहरु उत्पादनमा आत्मनिर्भर बन्न सक्ने थिए । रोजगारीको सिर्जना हुने थियो । पढे लेखेका छोराछोरीहरु रोजगारीको लागि विदेश भासिने थिएनन् । रोजगारीका लागि विदेश गएका आफ्ना छोरा बुहारी घर मै हुने थिए । 

विश्वविद्यालयसम्म पढाएर स्वदेशमा आयआर्जनका कुनै पनि अवसर नभए पछि साहुबाट क्रृण खोजी छोरीछोरीहरुलाई विदेश पठाउन परेको आम नेपालीको समान भोगाई  छ । देशका विश्वविद्यालयहरु वेरोजगार जनशक्ति उत्पादन गर्ने कारखानाको रुपमा सञ्चालन छन् । गाउँमा पढे लेखेकाहरु छैनन् । शिक्षितहरुमा न त माटोमा काम गर्ने मन छ न त ढङ्ग नै । अन्तराष्ट्रिय बजारका लागि कामदार उत्पादन गर्ने विश्वविद्यालयहरुमा सरकारले किन लगानी गरिरहेको छ ? देशको शिक्षालाई व्यवसायी, व्यवहारिक तथा रोजगारमैत्री बनाउने कहिले ? 

अहिले एकातिर शिक्षित जनशक्ति विदेशमा पसिना बगाउन बाध्य छ भने अर्कोतिर गाउँघरका खेतवारीहरु बाँझिएका छन् । नेपालका कृषि विश्वविद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थी इजरायलमा गएर ज्यान गुमाउन बाध्य भए । राज्यले स्वदेशमा नै आधुनिक कृषि फर्महरु खोलेको भए नेपाली विद्यार्थी विदेशमा ज्यान गुमाउनु पर्ने थिएन । 

लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्दै आएका बिषय विज्ञ मुक्ति काफ्ले भन्छन्, “हाम्रो शिक्षा सिद्घान्त र दर्शनमा आधारित छ । राज्यले शिक्षालाई समय सापेक्ष रुपान्तरण गर्न सकेन । शिक्षालयहरुमा पृथ्वीनारायण शाह, अब्राहम लिङ्कन, महात्मा गान्धी, कालीदास, पाणिनी, देवकोटा, लेखनाथ, भानुभक्तका जीवनीहरु पढाइयो । उनीहरुबाट प्राप्त हुनसक्ने प्रेरणा हस्तान्तरण गर्न सकिएन । शिक्षार्थीलाई सिर्जनसील, अनुसन्धानकर्ता एवम् निर्माणकर्ता बनाईएन । आइन्सटाइन, न्यूटन, डार्विन, मार्सल, मार्कोनी, ग्यालिलियो, राइट ब्रदर्स् आदि विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्ति एवम् व्यक्तित्वहरुले प्रतिपादन गरेका सिद्धान्तहरु कण्ठ गराउने र सोही जमोजिम उत्तर लेख्ने ढाँचाका प्रश्नावलीहरु निर्माणगरी प्रमाण पत्र वितरण गरियो  ।” 

काफ्ले निराश हुँदै भन्छन् 'यस्तो ढाँचाको शिक्षाले विद्यार्थीमा सिर्जनसीलता मर्छ ।  मौलिकता हराउँछ ।’ 

मुक्तिसरका शब्दहरुमा प्रतिकार गर्ने कुनै शब्द नभेटाए पछि म निशब्द टोलाई रहें । 

प्रसिद्ध वैज्ञानिक हेलेन केलरको बुझाइमा शिक्षाको उच्चतम सिकाइ सहनशीलता हो । सहनशीलताले मानिसलाई बुद्घ तथा गान्धीरुपी मानवतावादी व्यक्तित्व निर्माण गर्न सघाउँछ । उदार र सहिष्णु बन्न सहयोग गर्दछ । अहिले समाजमा सहनशीलता हराउँदै गएको देखिन्छ । शिक्षित छोराछोरीहरुबाट नै आमा बुबाहरुलाइ बृद्घाश्रममा जान बाध्य बनाईएका समाचारहरु आउने गरेका छन् । विश्वविद्यालयहरुमा शिक्षा दीक्षा दिने गुरुजनहरुलाई कार्यकक्षामा थुन्ने, मोसो लगाउने जस्ता अनैतिक हर्कतहरु हुने गरेका छन् । पछिल्लो समयमा अस्पताल परिसर मै डाक्टरहरुलाई कुट्ने जस्ता कामहरु हुने गरेका छन् । समाजमा सकारात्मक सोचको अभाव छ । डिप्रेसन, सम्बन्ध बिच्छेद, पारिवारिक विखण्डन, अविश्वास, दलाली, तस्करी, ठगी, लुटपाट, जस्ता कार्यहरु व्याप्त छन् । अनुशासन, सहिष्णुता, असल आचरण, लोककल्याणकारी चिन्तन जस्ता मानवीय गुणहरु हराउँदै गएका छन् । समाजको यो तस्वीरले हेलेन केलरले भने जस्तो हाम्रो शिक्षाले नागरिकहरुमा सहिष्णु व्यवहार एवम् असल आचरण निर्माण गर्न नसकेको देखाउँछ । 

शिक्षा व्यक्तिको सर्वाङ्गीण विकासको माध्यम हो । सर्वाङ्गीण विकास अन्तरगत कुनै पनि व्यक्ति व्यवसायिक, अध्यात्मिक, सांस्कृतिक, नैतिक, बौद्घिक, सामाजिक, भाषिक, सौन्दर्यात्मक तथा मानवीय गुणहरुले सुसज्जीत हुन आवश्यक ठानिन्छ । शिक्षाले उल्लेखित विशेषताहरुले सम्पन्न नागरिकहरु उत्पादन गर्न सकेको छ त ? नेपाली समाजको वर्तमान अवस्थाले नागरिकहरुमा असल आचरणको अभाव देखाउँछ । हरेक देशको मुख्य सम्पति भनेको त्यहाँका शिक्षित, अनुशासित एवम् कर्मशील नागरिकहरु हुन् । असल तथा सक्षम नागरिकहरुको अभावमा देशको विकास संभव हुदैन ।  देश विकास हुन सक्दैन । यसर्थ राज्यले राष्ट्रिय शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, एवम् शिक्षण सिकाइलाई समय सापेक्ष बनाउनु पर्दछ । 

अन्त्यमा, शिक्षाको कार्य व्यापक हुन्छ । अहिले हामी एक्काईसौं शताब्दीको तेस्रो दशकमा हिंडिरहेका छौं । यो शताब्दी विज्ञान र प्रविधिको युग हो । यो युगसंग हिड्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु शिक्षाको कार्य हो । तसर्थ राज्यले तय गरेको शिक्षाको मापदण्ड भित्र ऐतिहासिकता झल्कने (पूर्वीय सभ्याताको शास्तार्थले प्रशिक्षित समाज) र आधुनिकता टल्कने (पाश्चात्यले हासिल गरेका वैज्ञानिक उपलब्धीहरुको उपयोगको सीप भएको समाज ) निर्माण गर्न आवश्यक हुन्छ । यसको लागि शिक्षाको राष्ट्रिय निती, कार्यक्रम, पाठयक्रम र पाठ्यपुस्तकहरुमा संशोधन, परिममार्जन र परिवर्तन गर्दै शिक्षालाई समय सापेक्ष बनाउन ढिला नगरियोस् । 

प्रतिक्रिया