Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति बन्न अनुसन्धान गरेकालाई प्राथमिकता (कार्यविधि सहित)

स्नातकोत्तर तह मात्रै उत्तीर्ण गरेका व्यक्तिले पनि उपकुलपतिमा दर्खास्त दिन सक्नेछन् ।

मंगलबार, २३ माघ २०८०

काठमाडौँ–पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति बन्नका लागि अनुसन्धानमा पोख्त व्यक्तिलाई प्राथमिकता दिने गरी कार्यविधि बनेको छ । 

त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुन ‘र्‍यांक जर्नल’मा लेख प्रकाशित हुन पर्ने प्रावधान नभए पनि पूर्वाञ्चलमा भने क्यु १ देखि क्यु ४ सम्म एकल वा संयुक्त लेख लेख्ने व्यक्तिलाई प्राथमिकता दिने गरी कार्यविधि बनेको छ । यस्तो लेख प्रकाशित हुनेले स्वतः १० अंक पाउने छन् । 

प्राध्यापक पदमा काम गरेको अनुभवलाई पहिलो प्राथमिकतामा राखिएको छ । उच्च शिक्षाका क्षेत्रमा प्राध्यापन गरे बापत प्राध्यापक पदमा काम गरेको प्रति वर्ष २ अंकका दरले बढीमा १० अकंसम्म दिने प्रावधान राखिएको छ । त्यस्तै विद्यावारिधि उपाधिलाई ५ अंक, स्वदेशी वा विदेशी विश्वविद्यालयमा प्रतिष्ठानको पदाधिकारीको अनुभव भएमा चार अंक, प्राज्ञिक अनुसन्धानमूलक परियोजनाहरू सम्पन्न गरेको भएमा ६ अंक दिने कार्यविधि बनाइएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यविधिमा अनुसन्धान परियोजनालाई ४ अंक मात्रै छुट्याईएको थियो । 

त्यस्तै विद्यालय सम्बन्धी सोच पत्र र चार वर्षे व्यावसायिक कार्य योजना बापत ३० अंक दिने कार्यविधिमा उल्लेख छ । यसमा पनि सोच पत्रको लागि १० र बिजनेस प्लानलाई २० अकं छुटाइएको छ । त्रिविको कार्यविधिमा सोच पत्र र ४ वर्षे योजनाको लागि ३० अंक मात्रै थियो । प्रस्तुतीकरणमा २० अंक र अन्तरवार्तालाई १५ अंक छुट्याईएको छ । 

उपकुलपतिको कार्यविधिमा कुनै पनि  राजनीतिक दलको सदस्य नभएको व्यक्ति मात्रै  विश्वविद्यालयको उपकुलपति हुने उल्लेख छ । स्नातकोत्तर तह मात्रै उत्तीर्ण गरेका व्यक्तिले पनि उपकुलपतिमा दर्खास्त दिन सक्नेछन् । उपकुलपतिको उम्मेदवारले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र समेत पेस गर्नु पर्ने हुन्छ । मापदण्डमा भनिएको छ, ‘प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हात कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र पेस गर्नु पर्नेछ ।’ 

शिक्षा मन्त्री अशोक कुमार राई संयोजक रहेको उपकुलपति सिफारिस समितिमा शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल सदस्य छन् । उपकुलपतिको उम्मेदवारले १५ दिन भित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा दर्खास्त दिनु पर्ने हुन्छ ।

कार्यविधि पढ्नुहोस् : 

प्रतिक्रिया