नेपालको विद्यालय शिक्षा प्रणाली अहिले पाठ्यक्रम पुनर्संरचनाको ऐतिहासिक र निर्णायक मोडमा उभिएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को कार्यान्वयन पश्चात् पनि राष्ट्रले अपेक्षित शैक्षिक, आर्थिक र सामाजिक रूपान्तरणको अनुभूति गर्न सकेको छैन। यस्तो अवस्थामा "आत्मनिर्भर, उत्पादनमुखी, सिर्जनात्मक र रूपान्तरणकारी शिक्षा" को बहस केवल प्राज्ञिक विलासिता नभएर राष्ट्रिय जीवनको अपरिहार्य आवश्यकता बनेको छ। वर्तमान शिक्षा प्रणालीले सैद्धान्तिक रूपमा उच्च अङ्क ल्याउने तर बजार, जीवन र मानवीय जीवनमा असान्दर्भिक हुने "दक्ष बेरोजगार" उत्पादन गरिरहेको छ। यस लेखले वर्तमान पाठ्यक्रमका गम्भीर संरचनात्मक चुनौतीहरूको समालोचनात्मक विश्लेषण गर्दै २१ औँ शताब्दीको माग अनुरूपका चार `C´ सीप, STEAM ढाँचा, अनुभवात्मक सिकाइ (Experiential Learning), र उत्पादनमुखी नमुना (Productive Learning Model) मा आधारित पाठ्यक्रमको खाका प्रस्तुत गर्दछ। साथै, यस प्रस्तावले पूर्वीय आध्यात्मिक विज्ञान, रैथाने जीवन पद्धति र उच्च चेत (High Consciousness) लाई आधुनिक प्रविधिसँग जोड्दै "के घटाउने, के थप्ने र कसरी कार्यान्वयन गर्ने" भन्ने विषयमा पूर्ण व्याख्यात्मक नीतिगत मार्गचित्र (Policy Roadmap) प्रस्तुत गर्दछ।
१. पृष्ठभूमि र वर्तमान चुनौतीहरूको समालोचनात्मक विश्लेषण
शिक्षा कुनै पनि सार्वभौम राष्ट्रको सर्वाङ्गीण विकास, सामाजिक न्याय र आर्थिक आत्मनिर्भरताको मेरूदण्ड हो। नेपालमा विगत केही दशकदेखि राजनीतिक परिवर्तनहरूसँगै आवधिक रूपमा पाठ्यक्रम परिमार्जन र सुधारका प्रयासहरू नभएका होइनन्। तथापि, ती सुधारहरू केवल "कागजी, प्राविधिक र संरचनागत" परिधिभित्रै सीमित रहे; कक्षाकोठाको जीवन्त धरातल र विद्यार्थीको व्यवहारसम्म पुग्न सकेनन्। आजको मुख्य चुनौती भनेकै हाम्रो शिक्षा प्रणालीले समयको द्रुत गति, प्रविधिको विकास र बजारको वास्तविक मागलाई आत्मसात गर्न नसक्नु हो।
वर्तमान शिक्षा प्रणाली अझै पनि केही गम्भीर संरचनात्मक रोगहरूबाट ग्रसित छ, जसको तत्काल उपचार खोजिनु आवश्यक छ:
• स्मरणशक्ति केन्द्रित भार (Rote Learning Overload): शिक्षण विधिमा सिकाइ भन्नाले सूचनाको यान्त्रिक भण्डारण र परीक्षाको हलमा त्यसको पुनरुत्पादन (Regurgitation) गर्ने क्षमतालाई मात्र बुझाउने गरेको छ। यसले विद्यार्थीको नैसर्गिक सृजनशीलता, उत्सुकता र मौलिकतालाई कण्ठ गर्ने असमर्थताको भारीले थिचेको छ। परिमाणस्वरूप अपेक्षाकृत नतिजा आएको छैन।
• परीक्षा केन्द्रित चुनौतीपूर्ण मूल्याङ्कन: 'मूल्याङ्कन' वास्तवमा सिकाइ सुधारको एउटा निरन्तर र सकारात्मक साधन हुनुपर्ने थियो। तर, व्यवहारमा यो विद्यार्थीको वर्गीकरण गर्ने र असफलको विल्ला भिराएर उनीहरूको आत्मबल गिराउने एउटा डरलाग्दो साधन पो बन्यो कि भन्ने आंशका बनेको छ। वर्षको अन्त्यमा लिइने तीन घण्टाको परम्परागत लिखित परीक्षाले विद्यार्थीको समग्र जीवन, प्रतिभा र क्षमताको अपूर्ण फैसला गरिरहेको छ। जीवन पढाउन र जीवनको मूल्यांकनमा असफल देखिएको छ।
• जीवन र उत्पादनको प्रक्रियासँग विच्छेद: विद्यालयीय शिक्षाले विद्यार्थीलाई आफ्नो माटो, रैथाने कृषि, स्थानीय प्रविधि र मौलिक संस्कृतिबाट टाढा धकेल्दै छ। नतिजास्वरूप, औपचारिक शिक्षाको प्रमाणपत्र हातमा पर्दा विद्यार्थीमा रोजगारमुखी व्यावहारिक सीप, उद्यमशील मानसिकता र समस्या समाधान गर्ने मौलिक क्षमताको चरम अभाव देखिन्छ।
• मानवता र प्रकृतिवादबाट विच्छेद (Disconnection from Humanism and Naturalism) : वर्तमान शिक्षा प्रणाली व्यवहारिक ज्ञान र सीपमा केन्द्रित भए पनि मानवता, नैतिक मूल्य र प्रकृतिसँगको सम्बन्ध कमजोर हुँदै गएको छ। यसले विद्यार्थीलाई प्रकृति, समाज र सहअस्तित्वको भावना भन्दा बढी प्रतिस्पर्धा र उपभोगमुखी सोचतर्फ धकेलिरहेको देखिन्छ।
समस्याको चुरो: हाम्रा विद्यालयहरू देशका लागि आवश्यक "उत्पादन गर्ने सक्षम नागरिक" होइन, केवल "परीक्षामा पास हुने र पहिलो अवसरमै देश छोड्न खोज्ने उपभोक्ता" उत्पादन गर्ने कारखाना जस्ता भएका छन्। कौशलमा र मुल्यमा आधारित (Skill and value based) हुनुपर्ने पाठ्यक्रम ज्ञानको भारी (Content-heavy) हस्तान्तरण गर्ने केन्द्र मात्र बनेको छ। यो दुखद हो।
२. नयाँ पाठ्यक्रमको दार्शनिक तथा सिद्धान्तगत आधार
२१ औँ शताब्दीको नयाँ पाठ्यक्रम कुनै आकस्मिक राजनीतिक सनक वा सतही रहरको भरमा नभई स्थापित र प्रमाणित शैक्षिक दर्शन, पूर्वीय जीवनचेत एवं सिकाइ सिद्धान्तको बलियो जगमा उभिनुपर्छ। नयाँ पाठ्यक्रमले देहायका सिद्धान्तहरूलाई आफ्नो मुख्य मार्गनिर्देशक आधार बनाउनुपर्छ:
• पूर्वीय दर्शन, अनुशासन, इमान्दारीता र आध्यात्मिक विज्ञान: नेपालको रैथाने पहिचानका रूपमा रहेका जप, तप, भक्ति, ध्यान, योग, आरोग्यता र नैतिकतालाई शिक्षाको आधार बनाइनुपर्छ। अर्गानिक आहार, बिहार र सादा विचारका माध्यमबाट विद्यार्थी भित्र आत्मविश्वास, स्वरोजगार र उच्चमानवीय चेतको निर्माण गर्नु यसको प्राथमिक दर्शन हुनेछ। मूल्य, चरित्र तथा समग्र कल्याण शिक्षामा पाठ्यक्रम केन्द्रित हुनुपर्छ ।
पाठ्यक्रमले नैतिकता, आत्मअनुशासन, सचेतन अभ्यास (Mindfulness), ध्यान केन्द्रित गर्ने क्षमता, मानसिक स्वास्थ्य, शारीरिक तन्दुरुस्ती र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै विद्यार्थीको बौद्धिक, भावनात्मक, सामाजिक र नैतिक विकास सुनिश्चित गर्नुपर्छ। यसले असल, जिम्मेवार र आत्मनिर्भर नागरिक निर्माणमा सहयोग पुर्याउँछ।
• ज्याँ पियाजेको रचनावाद (Constructivism): यस सिद्धान्त अनुसार ज्ञान शिक्षकले विद्यार्थीको खाली दिमागमा हालिदिने कुनै निर्जीव वस्तु होइन। ज्ञान त विद्यार्थीले आफ्नै अनुभव, वरिपरिको वातावरणसँगको अन्तर्क्रिया, खोज र सक्रियताबाट निर्माण गर्ने एउटा सचेत प्रक्रिया हो।
• लेभ भाइगोत्स्कीको सामाजिक विकास सिद्धान्त (Social Development Theory): सिकाइ कतै कुनामा एक्लोपनमा बस्दा मात्र हुँदैन; यो त सामाजिक अन्तर्क्रिया, निरन्तर सञ्चार र सामूहिक सहकार्य (Collaboration) बाट तीव्र, दिगो र अर्थपूर्ण हुन्छ।
• जोन डिउईको अनुभवात्मक सिकाइ (Experiential Learning): डिउईको प्रसिद्ध कथन छ - "शिक्षा जीवनको तयारी होइन, शिक्षा त आफैँमा जीवन हो।" तसर्थ, 'गरेर सिक्ने' (Learning by Doing) प्रक्रिया नै नयाँ पाठ्यक्रमको केन्द्रबिन्दु हुनुपर्छ, जहाँ सिद्धान्तले व्यवहारको र व्यवहारले सिद्धान्तको पुष्टि गर्दछ।
• मानवतावादी तथा प्रकृतिवादी आधार ( Humanestic and Naturalist curriculum ): पाठ्यक्रम मानव कल्याण, मानवीय मूल्य, सहअस्तित्व, करुणा र प्रकृतिप्रतिको जिम्मेवारीमा आधारित हुनुपर्छ। शिक्षाले विद्यार्थीलाई प्रकृतिसँग सामञ्जस्यपूर्ण जीवनयापन, दिगो विकास, वातावरणीय चेतना र जिम्मेवार नागरिकताको अभ्यास गर्न सक्षम बनाउनुपर्छ ।
• मनोसामाजिक र ध्यान साक्षरता (Mindfulness & Emotional Intelligence): आधारभूत तहदेखि नै प्रत्येक दिनको पहिलो १५ मिनेट 'मौन ध्यान' (Mindfulness), योग, र आत्म-चिन्तन (Self-reflection) का लागि छुट्याउने नीतिगत व्यवस्था गर्ने । यसले विद्यार्थीको मानसिक स्वास्थ्य, एकाग्रता र संवेगात्मक सन्तुलन (Emotional Balance) कायम गर्छ ।
• नैतिक मूल्य र चरित्र मापन (Character Portfolio): शैक्षिक मूल्याङ्कनमा 'चरित्र' लाई केवल मार्कसिटको कुनामा एउटा अक्षर लेख्ने विषय नबनाई, विद्यार्थीको सहयोगी भावना, पर्यावरण प्रतिको संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई 'चरित्र पोर्टफोलियो' (Character Portfolio) का रूपमा मूल्याङ्कनको ठुलो हिस्सा (१०-१५%) बनाउने ।
३. २१ औँ शताब्दीको शैक्षिक ढाँचा: दृष्टि, लक्ष्य र सक्षमता
नयाँ पाठ्यक्रमले राष्ट्रको भविष्य निर्माण गर्ने हुँदा यसको दूरदृष्टि र लक्ष्य स्पष्ट हुनुपर्दछ।
पाठ्यक्रमको दृष्टि (Vision): “शिक्षा केवल सूचना वा ज्ञानको आर्जन होइन; यो त उत्पादन, नवप्रवर्तन, चरित्र निर्माण, मानसिक सुस्वास्थ्य र मानवीय जीवन रूपान्तरणको जीवन्त माध्यम हो।”
यस दूरगामी दृष्टिले नेपाली विद्यार्थीलाई निम्नलिखित तीनवटा मुख्य रूपान्तरण तर्फ निर्देशित गर्ने लक्ष्य राख्दछ:
• पहिलो: विद्यार्थीलाई बजारमा रोजगार खोज्ने (Job Seeker) निरीह जनशक्ति होइन, बरु आफ्नै क्षमतामा रोजगार सिर्जना गर्ने (Job Creator) उद्यमी बनाउने।
• दोस्रो: परीक्षामा केवल उच्च अङ्क वा ग्रेड ल्याउने संकुचित सोचबाट माथि उठाएर जीवनका वास्तविक र व्यावहारिक समस्या समाधान गर्न सक्ने (Problem Solver) बनाउने।
• तेस्रो: केवल अरूको उत्पादन उपभोग गर्ने उपभोक्ता (Consumer) होइन, देशको अर्थतन्त्रमा योगदान दिने वास्तविक उत्पादक (Producer) र नैतिक रूपमा असल मानिस बनाउने।
सक्षमता र बहु-विषय एकीकरण (Interdisciplinary Integration): ज्ञान, सीप, मूल्य र व्यवहारको समन्वित विकासमार्फत विद्यार्थीलाई सिर्जनशील, आलोचनात्मक चिन्तनशील, समस्या समाधानकर्ता, आत्मनिर्भर, जिम्मेवार र जीवनोपयोगी सक्षम नागरिक बनाउनु नै पाठ्यक्रमको मूल सक्षमता हो।
त्यसैले नयाँ पाठ्यक्रमले विभिन्न विषयहरूलाई अलग्गै कोठा (Compartments) मा राखेर पढाउने परम्परागत शैलीको अन्त्य गर्नुपर्छ। वास्तविक जीवनका समस्याहरू बहु-विषयक र जेलिएका हुन्छन्, तसर्थ सिका इ प्रक्रिया पनि एकीकृत हुनुपर्दछ।
उदाहरणका लागि, यदि कक्षामा "पानी" भन्ने विषय पढाइँदै छ भने, त्यसलाई विज्ञान अन्तर्गत 'जलचक्र' (Water Cycle), गणित अन्तर्गत 'आयतन, मापन र लागत' (Volume/Costing), सामाजिक अध्ययन अन्तर्गत 'पानीको वितरण, राजनीति र स्रोतको संरक्षण' (Water Politics), र कला विधा अन्तर्गत 'पानीको सौन्दर्य र चित्रकला वा कविता' सँग एकापसमा जोडेर सिकाउनुपर्छ। यसबाट विद्यार्थीले कुनै पनि विषयलाई टुक्रामा होइन, समग्रतामा बुझ्ने क्षमता प्राप्त गर्छन्।
४. पाठ्यक्रम सुधारको रणनीतिक कार्यदिशा
परम्परागत सैद्धान्तिक पाठ्यक्रमबाट २१ औँ शताब्दीको रूपान्तरणकारी पाठ्यक्रमतर्फ प्रस्थान गर्न शिक्षण सिकाइको समग्र विधिमै आमूल परिवर्तन (Pedagogical Shift) ल्याउनु अनिवार्य छ। यसका लागि केवल व्याख्यानमा आधारित (Lecture-based) शिक्षण विधिलाई त्यागेर परियोजना तथा क्रियाकलापमा आधारित विधिलाई अँगाल्नुपर्छ। कक्षाकोठा शिक्षक केन्द्रित हुनुको साटो विद्यार्थी केन्द्रित हुनुपर्छ, जहाँ शिक्षक केवल शासक होइन, एक उत्प्रेरक वा मार्गदर्शक (Facilitator) का रूपमा प्रस्तुत हुन्छन्। अर्थात शिक्षक ज्ञानको एकमात्र स्रोत वा व्याख्याता होइन, बरु सिकाइ प्रक्रियाका Facilitator (सहजीकर्ता), Mentor (मार्गदर्शक), Supporter (सहयात्री), प्रेरक (Motivator ) Promoter (प्रवर्द्धक) र Innovator (नवप्रवर्तनकर्ता) का रूपमा रहनेगरि तयार गर्नुपर्छ। यस भूमिकाले विद्यार्थीलाई खोज, अनुसन्धान, सिर्जना, आलोचनात्मक सोच र आत्म सिकाइ तर्फ प्रेरित गर्दै नवप्रवर्तनशील र जीवनोपयोगी सक्षम नागरिक निर्माणमा सहयोग गर्छ।
शिक्षकमा आफ्नो विषयको गहिरो ज्ञानसहित प्रभावकारी शिक्षण गर्ने शैक्षिक सीप हुनुपर्छ। उनीहरूले विद्यार्थी, अभिभावक र सहकर्मीसँग स्पष्ट र प्रभावकारी संवाद गर्न सक्ने सञ्चार क्षमता विकास गर्नुपर्छ। विद्यार्थीलाई सिकाइप्रति प्रेरित गर्ने प्रेरणादायी भूमिका, साथै नैतिक मूल्य र सकारात्मक व्यवहार विकास गराउने चरित्र निर्माण क्षमता पनि आवश्यक हुन्छ। सिकाइलाई निरन्तर सुधार गर्न मूल्याङ्कन सीप, आधुनिक शिक्षणका लागि प्रविधि दक्षता, र शिक्षण प्रक्रियालाई सुधार र समृद्ध बनाउन नवप्रवर्तन तथा अनुसन्धान गर्ने क्षमता शिक्षकमा अनिवार्य रूपमा हुनुपर्छ।
के घटाउने ?
नयाँ पाठ्यक्रमले सबैभन्दा पहिले पाठ्यपुस्तकहरूमा रहेका अनावश्यक र कण्ठ गर्नुपर्ने दोहोरिएका विषयवस्तुहरूलाई हटाउनुपर्छ। प्राथमिक तहदेखि उच्च तहसम्म एउटै परिभाषा र सिद्धान्तहरू बिनाकुनै व्यावहारिक परिमार्जन दोहोरिने क्रमलाई पूर्ण रूपमा रोकिनुपर्छ। जीवनसँग असम्बन्धित, केवल परीक्षा उत्तीर्ण गर्नका लागि मात्र कण्ठ गर्नुपर्ने लामा परिभाषाहरू र पुराना तथ्यहरूको बोझलाई कम्तीमा पनि आधा घटाइनुपर्छ। साथै, वर्षको अन्त्यमा लिइने ३ घण्टाको परम्परागत लिखित परीक्षाको एकाधिकारलाई पूर्ण रूपमा हटाएर जीवनमूखि बनाउनुपर्छ ।
के थप्ने ?
नयाँ पाठ्यक्रममा २१ औँ शताब्दीका जीवनोपयोगी सीपहरूलाई अनिवार्य रूपमा समावेश गरिनुपर्छ। यस अन्तर्गत मुख्य रूपमा Four `C´ Skills अर्थात् Communication (सञ्चार सीप), Collaboration (सामूहिक सहकार्य), Critical Thinking (आलोचनात्मक वा तार्किक सोच), र Creativity (सिर्जनात्मकता) लाई प्रत्येक विषयको अभिन्न अङ्ग बनाइनुपर्छ। विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई एकीकृत रूपमा सिकाउने STEAM शिक्षा प्रणालीलाई आधारभूत तहदेखि नै लागू गरिनुपर्छ।
यसका साथै वित्तीय साक्षरता, डिजिटल साक्षरता, आर्टिफिसियल इन्टेलिजेन्स (AI) को नैतिक र सिर्जनात्मक प्रयोग, र उद्यमशीलता शिक्षालाई पाठ्यक्रममा थपिनुपर्छ। मानसिक एकाग्रताका लागि दैनिक १५ मिनेटको 'मौन ध्यान र योग' तथा हरेक विषयमा सैद्धान्तिक ज्ञानसँगै अनिवार्य परियोजना कार्य (Mandatory Project-Based Learning) को व्यवस्था हुनुपर्दछ।
५. नवीन मोडेलहरू: उत्पादनमुखी सिकाइ, नवप्रवर्तन र डिजिटललाइजेसन र स्थानीयकरण
उत्पादनमुखी सिकाइ मोडेल (Productive Learning Model): यो मोडेल नयाँ पाठ्यक्रमको मुटु हो। यसको मुख्य मार्गदर्शक सिद्धान्त हो - "प्रत्येक सिकाइ प्रक्रियाले जीवनमा केही न केही सकारात्मक उत्पादन वा परिणाम दिनुपर्छ"।
यो उत्पादनमुखी ढाँचालाई तीन व्यापक क्षेत्रमा विभाजन गरेर व्याख्या गर्न सकिन्छ:
• मूर्त वस्तुको उत्पादन (Product): विद्यार्थीले केवल विज्ञानमा 'ऊर्जा' को परिभाषा मात्र घोक्ने होइन, बरु सानो प्रोजेक्ट मार्फत आफैँ सोलार लाइट वा वाटर फिल्टर बनाउन सिक्ने; अथवा स्थानीय स्तरमा फ्याँकिएका प्लास्टिक र फोहोरलाई पुनःप्रयोग गरी उपयोगी सामग्री बनाउने।
• व्यावहारिक सेवाको सिर्जना (Service): विद्यार्थीले विद्यालय र समुदायमा डिजिटल साक्षरता अभियान चलाउने, साना वित्तीय बचत समूहहरूको कुशल व्यवस्थापन गर्ने वा स्वास्थ्य, सरसफाइ र मनोसामाजिक सचेतना सेवा प्रदान गर्ने।
• सामुदायिक समस्याको समाधान (Solution): आफ्नो गाउँ-ठाउँको फोहोरमैला व्यवस्थापन, खानेपानीको समस्या वा कृषि क्षेत्रमा देखा परेका रोगहरूका विरुद्ध प्राविधिक तथा व्यावहारिक समाधानका उपायहरू खोज्न विद्यार्थीलाई कार्यमूलक अनुसन्धानमा लगाउने।
• नवप्रवर्तन र डिजिटलाइजेसन (Innovation and Digitalization Model): पाठ्यक्रममा नवप्रवर्तन, डिजिटल साक्षरता , AI र प्रविधिको प्रभावकारी प्रयोगलाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ, जसले विद्यार्थीलाई आधुनिक, सिर्जनशील, समस्या समाधानकर्ता र प्रविधिमैत्री सक्षम नागरिकका रूपमा विकास गर्छ।
• पाठ्यक्रमको स्थानीयकरण (Localization): नेपालको भौगोलिक, सांस्कृतिक र आर्थिक विविधतालाई सम्बोधन गर्न पाठ्यक्रम स्थानीय धरातलसँग जोडिनु आवश्यक छ।
तराई क्षेत्रका विद्यालयहरूमा: धान वा अन्य मुख्य बालीको खेती गर्दा लाग्ने लागत, श्रम, मलखादको अनुपात र उत्पादन पछिको नाफा-नोक्सानको 'गणितीय र आर्थिक विश्लेषण' नै त्यहाँको गणित र सामाजिक विषयको व्यावहारिक पाठ बन्नुपर्छ। साथै आधुनिक प्रविधि (Agri-Tech) र स्मार्ट कृषिका स-साना उपकरणहरूको प्रयोगलाई रैथाने खेती प्रणालीसँग जोडिनुपर्छ।
पहाडी वा हिमाली क्षेत्रमा: आधुनिक गह्रा खेती (Terrace Farming), स्थानीय जडीबुटीहरूको पहिचान, संरक्षण, र पर्या-पर्यटन (Eco-tourism) को भूगोल र विज्ञानलाई व्यावहारिक रूपमा पाठ्यक्रममा समावेश गरिनुपर्छ।
६. मूल्याङ्कन प्रणालीमा आमूल परिवर्तन (Reformed Assessment System)
वर्तमान समयमा प्रचलित केवल प्राप्ताङ्क र अक्षर ग्रेडिङ (Grading) दिने प्रणालीले विद्यार्थीको वास्तविक क्षमता, चरित्र र सीपको मापन गर्न सक्दैन। तसर्थ, मूल्याङ्कन प्रणालीलाई आमूल परिवर्तन गरी ८० प्रतिशत प्रयोगात्मक/व्यावहारिक र २० प्रतिशत सैद्धान्तिक ढाँचामा रूपान्तरण गरिनेछ, जसले विद्यार्थीको सिकाइको निरन्तर मूल्याङ्कन (Continuous Assessment) गर्न सकोस्।
यस नयाँ मूल्याङ्कन प्रक्रियालाई चारवटा मुख्य क्षेत्रमा विभाजन गरी १०० प्रतिशतको भार यसरी निर्धारण गरिएको छ:
• परियोजना कार्य (३५ प्रतिशत भार): यस अन्तर्गत विद्यार्थीले वर्षभरि गरेका नवप्रवर्तन, स्थलगत अनुसन्धान, कार्ययोजनाको निर्माण र प्रत्यक्ष रूपमा गरेका वस्तु वा सेवाको उत्पादनको सूक्ष्म मूल्याङ्कन गरिन्छ।
• व्यावहारिक अभ्यास र प्रयोगशाला (२५ प्रतिशत भार): यसमा विद्यार्थीको प्रयोगशाला कार्य (Lab Work), फिल्ड भिजिट वा शैक्षिक भ्रमणको रिपोर्ट, र वास्तविक सीप प्रदर्शन (Practical Demonstration) लाई मुख्य आधार मानिन्छ।
• कक्षा सहभागिता, नेतृत्व र चरित्र पोर्टफोलियो (२० प्रतिशत भार): यस अन्तर्गत विद्यार्थीको समूहमा काम गर्ने क्षमता (Teamwork), कक्षाकोठामा गरिने प्रस्तुतीकरण (Presentation), नियमितता, सामाजिक अनुशासन, ध्यान-योगको अभ्यास तथा पर्यावरणप्रतिको संवेदनशीलतालाई 'चरित्र पोर्टफोलियो' का रूपमा मापन गरिन्छ।
• परम्परागत लिखित परीक्षा (२० प्रतिशत भार): लिखित परीक्षाको भारलाई केवल २० प्रतिशतमा सीमित गरी यसका माध्यमबाट विद्यार्थीको कण्ठ गर्ने क्षमता होइन, केवल आधारभूत अवधारणाको बुझाइ, तार्किक क्षमता र समालोचनात्मक सोचको परीक्षण मात्र गरिन्छ।
७. नेपाल सरकारका लागि नीतिगत सिफारिसहरू (Policy Recommendations)
नेपालको शिक्षा क्षेत्रमा युगान्तकारी र ऐतिहासिक रूपान्तरण ल्याउनका लागि नेपाल सरकारले तत्काल निम्न नीतिगत र कानुनी कदमहरू चाल्नुपर्छ:
• राष्ट्रिय पाठ्यक्रम पुनर्संरचना उच्चस्तरीय आयोगको परिचालन: वर्तमानमा प्रा.डा. बालचन्द्र लुइटेलको कार्यदलले गरिरहेको पाठ्यक्रम परिमार्जनको कार्यलाई थप गति दिँदै यसमा उद्योगी, प्रविधि विज्ञ, कृषिविद् र प्रत्यक्ष कक्षाकोठामा रहेका अनुभवी शिक्षकहरूको सुझावलाई अनिवार्य रूपमा समावेश गरी कानुनी मार्गचित्र तयार गर्ने।
• “One Student One Product” (एक विद्यार्थी, एक उत्पादन) नीति: प्रत्येक विद्यार्थीले प्रत्येक शैक्षिक सत्रको अन्त्यमा अनिवार्य रूपमा कम्तीमा एउटा वस्तु वा सेवाको उत्पादन, एउटा नवीन परियोजना, र एउटा सामाजिक वा सामुदायिक योगदान प्रस्तुत गर्नुपर्ने कानुनी नीति राष्ट्रिय स्तरमै लागू गर्ने।
• विद्यालयलाई "Mini-Economy" (लघु-अर्थतन्त्र) का रूपमा विकास गर्ने: विद्यालयहरूलाई उद्यमशीलता शिक्षाको केन्द्र बनाउन त्यहाँ स-साना व्यावहारिक व्यवसायहरू (जस्तै: अर्गानिक तरकारी खेती, हस्तकला, साबुन वा स्यानिटाइजर बनाउने आदि) सञ्चालन गर्न आवश्यक कोष र अनुमति दिने। विद्यार्थीद्वारा उत्पादित सामग्रीहरूको बजारीकरणका लागि 'विद्यार्थी कल्याण तथा उद्यमशीलता कोष' (Student Entrepreneurship Fund) खडा गर्ने र वार्षिक रूपमा "School Fair" वा शैक्षिक मेला आयोजना गर्ने।
• शिक्षक-अनुसन्धाता (Teacher-Researcher) रूपान्तरण कार्यक्रम: शिक्षकहरूलाई परम्परागत 'व्याख्याता' को भूमिकाबाट मुक्त गरी कम्तीमा ३०% को 'पेडागोजिकल स्वायत्तता' दिने। शिक्षकले कक्षाकोठामै गर्ने 'कार्यमूलक अनुसन्धान' (Action Research) लाई उनको वृत्तिविकास र बढुवासँग जोड्ने तथा देशव्यापी रूपमा प्रविधि, AI को प्रयोग, र परियोजना आधारित शिक्षण सम्बन्धी सघन व्यावहारिक तालिम अनिवार्य गर्ने।
• विद्यालयलाई सिर्जनाको केन्द्र बनाउने (School as a Center of Creation): विद्यालयलाई केवल पढाइ - सिकाइको स्थल नभई सिर्जना, नवप्रवर्तन र उत्पादनको केन्द्रका रूपमा विकास गर्नुपर्छ, जहाँ विद्यार्थीले ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै वास्तविक जीवन उपयोगी सीप र समाधान उत्पादन गर्न सकून्।
• स्थानीय पाठ्यक्रमको अनिवार्यता र स्वायत्तता: कुल पाठ्यक्रमको कम्तीमा २० देखि ३० प्रतिशत अंश स्थानीय आवश्यकता, रैथाने ज्ञान, दिगो प्रविधि र सीपका लागि स्थानीय तहलाई नै पूर्ण स्वायत्तता दिने।
८. कार्यान्वयन रोडम्याप र सम्भावित चुनौतीहरू
यो क्रान्तिकारी परिवर्तन एकैरातमा वा हतारमा सम्भव नभएकाले योजनाबद्ध रूपमा रणनीतिक योजना मार्फत कार्यान्वयन गरिनुपर्छ।
• नीतिगत तयारीको चरण: आवश्यक नीतिगत र कानुनी ढाँचाहरूको निर्माण गर्ने, विशेषज्ञ समूहद्वारा नयाँ पाठ्यक्रमको विस्तृत खाका (Design) तयार पार्ने र देशका विभिन्न क्षेत्रबाट पाइलट (नमुना) विद्यालयहरूको चयन गर्ने।
• परीक्षण र परिमार्जनको चरण: चयन गरिएका निश्चित नमुना विद्यालयहरूमा यो नयाँ पाठ्यक्रम लागू गरी परीक्षण गर्नुपर्छ। त्यसबाट प्राप्त हुने व्यावहारिक कठिनाइ र पृष्ठपोषण (Feedback) सङ्कलन गरेर पाठ्यक्रममा आवश्यक परिमार्जन गर्नुपर्छ।
• शिक्षामा लगानी वृद्धि (Increase in Investment in Education): शिक्षा राष्ट्रको दीर्घकालीन विकासको आधार भएकाले यस क्षेत्रमा पर्याप्त र निरन्तर लगानी वृद्धि गर्नुपर्छ, जसले गुणस्तरीय मानव पूँजी निर्माण गर्दै समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणमा सहयोग पुर्याउँछ।
• पूर्ण प्रबोधीकरण र देशव्यापी कार्यान्वयन: देशैभरका सबै विद्यालयहरूमा नयाँ पाठ्यक्रम पूर्ण रूपमा लागू गर्नुपर्छ। यसका लागि आवश्यक डिजिटल र भौतिक सामग्रीहरूको वितरण गर्नुपर्छ र शिक्षकहरूलाई व्यापक व्यावहारिक तालिम प्रदान गर्नुपर्छ। परम्परागत मूल्याङ्कन प्रणालीलाई पूर्ण रूपमा विस्थापित गरी नयाँ व्यावहारिक मूल्याङ्कन प्रणालीलाई स्थिर बनाउनुपर्छ।
सम्भावित चुनौती र समाधानका उपायहरू
यसको कार्यान्वयनमा मुख्य रूपमा तीनवटा चुनौतीहरू देखा पर्न सक्छन्:
१. शिक्षकहरूको परम्परागत मानसिकता: यसलाई शिक्षकहरूका लागि प्रोत्साहन भत्ता, कार्यसम्पादन मूल्याङ्कनमा नवप्रवर्तनको अङ्क जोड र सघन व्यावहारिक प्रशिक्षण दिएर समाधान गर्न सकिन्छ।
२. स्रोत-साधन र डिजिटल पूर्वाधारको अभाव: यसलाई स्थानीय सरकारको शैक्षिक बजेट वृद्धि र सार्वजनिक-निजी साझेदारी (PPP Model) मार्फत हल गर्न सकिन्छ।
३. अभिभावकको परम्परागत मूल्याङ्कनवादी मानसिकता: यसका लागि व्यापक अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्ने र विश्वविद्यालय भर्ना वा रोजगारी प्रक्रियामा 'लिखित अङ्क' भन्दा विद्यार्थीको 'व्याहारिक सीप, चरित्र र पोर्टफोलियो' लाई प्राथमिकता दिने कानुनी व्यवस्था गरिनुपर्छ।
९. निष्कर्ष
नेपालको शिक्षा प्रणालीलाई केवल "कागजी उपलब्धि र ओहोदा" बाट "वास्तविक जीवन परिवर्तन र राष्ट्रिय समृद्धि" तर्फ लैजाने यो एउटा अभूतपूर्व र ऐतिहासिक अवसर हो। अबका विद्यालयहरू केवल "पढाउने, घोकाउने र परीक्षा लिने केन्द्र" होइनन्, बरु "उत्पादन, नवप्रवर्तन, पूर्वीय संस्कार र सिर्जनाको जीवित प्रयोगशाला" बन्नुपर्छ। पाठ होइन जीवन सिकाउनु पर्छ। पाठको परीक्षा होइन जीवनको परीक्षा उत्तीर्ण हुनेगरि पढाउनु तथा सिकाउनुपर्छ।
शिक्षालाई जबसम्म हामी हाम्रो माटो, आधुनिक प्रविधि, वास्तविक उत्पादन र मानवीय चेतनासँग जोड्दैनौँ, तबसम्म मुलुक आर्थिक रूपमा आत्मनिर्भर र स्वाधीन बन्न सक्दैन। भविष्यको नेपाल कस्तो हुने भन्ने कुरा आज हाम्रा कक्षाकोठाहरू कस्ता छन् र हामीले विद्यार्थीलाई कस्तो पाठ्यक्रम पढाउँदै छौँ भन्ने कुराले निर्धारण गर्दछ। तसर्थ, यो रूपान्तरणकारी पाठ्यक्रमको प्रस्ताव केवल शैक्षिक सुधारको एउटा दस्तावेज मात्र होइन, यो समृद्ध, न्यायपूर्ण, नैतिक र आत्मनिर्भर नेपाल निर्माणको सबैभन्दा बलियो प्रस्थान विन्दु हो।
पाण्डे, श्री सुनपकुवा माध्यमिक विद्यालय उर्लाबारी-०२, मोरङका शिक्षक हुन् ।
प्रतिक्रिया