Edukhabar
आइतबार, २२ असार २०८२
विदेशमा शिक्षा

ईक्यानमा चुनावी रन्को, दुई समूह प्यानल बनाएरै मैदानमा

सोमबार, २५ माघ २०७२

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका कन्सल्टेन्सि आवद्ध नेपाल शैक्षिक परामर्श संघ ईक्यानको नयाँ नेतृत्वका लागि दुई समूह प्यानल बनाएरै चुनावमा भिड्ने भएका छन् । आगामी फागुन १५ गतेका लागि तय गरिएको १० औं महाअधिवेशनको मिति नजिकिदैं गर्दा आआफ्ना प्यानलमा रहने उम्मेद्वारहरुको अन्तिम छनौटका लागि दुवै समूह आन्तरिक छलफलमा ब्यस्त रहेका छन् ।

वर्तमान प्रथम उपाध्यक्ष प्रकाश पाण्डे र तृतीय उपाध्यक्ष सरोज बस्नेत अध्यक्षमा भिड्ने भएका छन् । उनीहरु छुट्टा छुट्टै प्यानल बनाएरै चुनावी मैदानमा उत्रने तयारी गरेको श्रोतले जनाएको छ ।
पाण्डे प्रगतिशिल समूहको प्रतिनिधित्व गर्छन् भने बस्नेतले आफ्नो प्यानलमा प्रजातान्त्रिक विचारधारा राख्नेहरुलाई छनौट गरेका छन् ।

पाण्डेको प्यानलमा वर्तमान कार्यसमितिका कोषाध्यक्ष र सहकोषाध्यक्ष क्रमशः शालिकराम भण्डारी र यसोदा भट्टराई तथा विष्णुहरी पाण्डे उपाध्यक्षका लागि तय भएका उम्मेद्वार हुन् ।
यसैगरी बस्नेतका तर्फबाट वर्तमान कार्यसमितिका महासचिव महेशबाबु तिमिल्सिना, कार्यसमिति सदस्य द्धय भूपेन्द्र सिटौला र पदम भट्टराई उपाध्यक्षका उम्मेद्वार हुने भएका छन् ।

पाण्डेले महासचिवमा अहिलेका द्धितीय सचिव सन्तोष प्याकुरेललाई छानेका छन् भने बस्नेतले प्रथम सचिव राजेन्द्र रिजाललाई आफ्नो प्यानलमा राखेका श्रोतले जनाएको छ ।

यसैगरी कोषाध्यक्षमा खड्ग ताम्लिङ् पाण्डे प्यानलबाट र भरत रेग्मी बस्नेत प्यानलबाट  उम्मेद्वार हुने भएका छन् । सहकोषाध्यक्षमा पाण्डेको टिममा रमेश वाग्ले र बस्नेतको टिमबाट राकेश श्रेष्ठलाई उठाउने तयारी छ ।
कार्यसमितिका अन्य पदका लागि दुवै समूहले आन्तरिक छलफल जारी राखेका छन् ।

अहिले सम्म तय भएका उम्मेद्वारको नामावली हेर्दा ईक्यानको चुनाव राजनीतिक रुपमा विभक्त भएको प्रष्ट देखिन्छ । यद्यपी दुवै समूहले आफूलाई ब्यवसायिक धारको बताएका छन् ।

ईक्यान विशुद्ध ब्यवसायी आवद्ध संस्था भएकोले राजनीतिक विचारधाराबाट प्यानल बनाएको नबुझ्न बस्नेतले आग्रह गरे । 'हामी राजनीति भन्दा पनि पेशागत मर्यादा र विकासको कुरा गर्छौ, यसलाई राजनीतिक रुपमा नबुझ्नु होला' बस्नेतले भने, 'मेरो उम्मेद्वारी विशुद्ध पेशागत मर्यादाका लागि हो, यहि विषयमा हामी साथीभाई विच छलफल जारी छ ।'

यसैगरी अध्यक्षका प्रत्यासी पाण्डेले अहिले सम्म ईक्यानले गर्दा भएको उपलब्धिको संरक्षण गर्दै समय अनुसार परिस्कृत र अझ बढि ब्यवसायिक बनाउन उम्मेद्वारी दिन लागेको बताए । सबै विचार क्षेत्र र समुदायबाट प्रतिनिधित्व गराउने आफ्नो प्रयास रहेको उनको भनाई छ । 'सबैलाई स्विकार्य हुने नेतृत्व बनाउने गरी हामी छलफलमा छौं, अझै टुङ्गिएको छैन' उनले भने, 'भर्खरै सम्पन्न साधारण सभाले तय गरेको म्याण्डेडका आधारमा संस्था र यस संग आवद्ध सदस्यहरुको पेशागत दक्षता बृद्धि, राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा एक्सपोजरका लागि मेरो उम्मेद्वारी हो ।'

दुई पक्ष प्यानल बनाएरै मैदानमा उत्रन लागेको बारे आफूलाई कुनै जानकारी नभएको अध्यक्ष राजेन्द्र बराल बताउँछन् । वहालवाला अध्यक्ष भएका नाताले आफू कुनै पनि   गुटमा नलाग्ने बरु अभिभावकका रुपमा व्यवािसयक मर्यादा कायम गर्न सक्ने ब्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्न चाहेको उनको भनाई छ ।

'ब्यवसायिक साथीहरु आवद्ध संस्था भएकोले यहाँ गुट उपगुट हैन समग्र ब्यवसायको मर्यादा र ब्यवसायिक धर्मका बारेमा छलफल हुन्छ' उनले भने, 'ईक्यानको लविङ् र सहकार्य पछि राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकेको कुरालाई नयाँ आउने नेतृत्वले मनन् गर्दै थप ब्यवपस्थ तगर्ने तर्फ हामी सचेत छौं, नयाँ नेतृत्व त्यहि अनुसार सहमतीमा बनाउन म कृयाशिल छु ।'

विभिन्न विवादका कारण ईक्यानको ईतिहासमा अब बन्ने अध्यक्ष तेश्रो हो । संस्थापक एस.के श्रेष्ठ पछि उत्तम पन्त र बराल मात्रै अध्यक्ष भएका छन् । ईक्यानसंग असहमती जनाउँदै पन्तले राजिनामा दिएपछि उद्धव केसी र दिपक गुरुङ् ईक्यानका कार्यवहाक अध्यक्ष भएका थिए । त्यस पछि बराल दुई कार्यकाल अध्यक्ष भए ।

प्रकाशित मिति २०७२ माघ २५ गते

प्रतिक्रिया