Edukhabar
मंगलबार, ०१ जेठ २०८१
विचार / विमर्श

फेसबुक होइन टेक्सबुक

मंगलबार, २८ भदौ २०७३

टेक्सबुक–नोटबुक कि फेसबुक ?’ भन्ने प्रश्नमा आजभोलि शिक्षक विद्यार्थी दुवैबाट ‘फेसबुक’ भन्ने जवाफ सहजै पाइन्छ । पंक्तिकारलाई परीक्षामा स्नातक तहको विद्यार्थीले लेख्दै गरेको उत्तर हेर्ने अवसर प्राप्त भएको थियो । एक विद्यार्थीको उत्तरमा दाबी थियो, फेसबुकको कुनै पनि प्रकृतिको शैक्षिक मूल्य छैन !

विद्यार्थीको दाबी जस्तै फेसबुकले आफ्नो समय बर्बाद गरेको भन्ने शिक्षक धेरै छन् । अझ लाइक र कमेण्टमा दिन बितेको पत्तै नपाउनेहरुले आफूहरु फेसबुक ‘एडिक’ भएको गुनासो समेत गर्न थालेका छन् ।
पछिल्लो सयम संसारमा विकसित प्रविधिहरु मध्ये फेसबुक संसारभर छरिएका मानिसहरुको बीच एक आपसमा प्रत्यक्ष भेटघाट, कुराकानी, छलफल तथा अन्तत्र्रिmया गर्ने, सामिप्यता बढाउने, भावना तथा तस्वीरहरु आदानप्रदान गर्ने साझा चौतारी बन्न पुगेको छ । कतै कतै शैक्षिक तथा सामाजिक काममा सहयोग जुटाउने काम पनि यसबाट भएको छ ।

इण्टरनेटको पहुँच पुगेका देशका अधिकांश भागका मानिसहरुले फेसबुक प्रयोग गर्न थालेका छन् । वैदेशिक रोजगारीमा जानेहरु र स्वदेशमा बस्ने आफन्तजनहरुका बीचमा यो कुराकानीको सहज र भरपर्दो माध्यम बनेकाले निश्चित उमेर समूहका मात्र नभएर ज्येष्ठ नागरिकहरुले समेत यसको प्रयोग गर्दै आएका छन् । ‘भिडियो कल’को सुविधाले गर्दा मानिसहरु थप आकर्षित भएका हुनसक्छन् । मानिसहरुमा एक्लोपनबाट हुने निराशाबाट थोरै भए पनि यसले मुक्ति दिएको छ । कुण्ठित भावनाहरु अभिव्यक्त गरेर मानिसले आफूलाई सहज बनाउने सुविधा पाएका छन् । तर यसका सकारात्मक भन्दा नकारात्मक पक्षहरुले तुरुन्तै समाजलाई प्रभाव पारिरहेका छन् ।  विद्यार्थी अर्थात किशोरवस्था तथा युवा वर्ग नै फेसबुकको बढी प्रयोगकर्ता रहेको सहजै अनुमान गर्न सकिन्छ ।

सूचना, शिक्षा, मनोरञ्जन आदि आदि क्षेत्रमा यसको उपयोग पनि गरिएको छ । जसरी सामाजिक सञ्जाल भनिएको छ, त्यसैगरी सामाजिक तथा कल्याणकारी काममा समेत यसको उपयोग गरिएका आंशिक समाचारहरु आउँछन् ।

विद्यार्थी, शिक्षक, कर्मचारी सबैको  महत्वपूर्ण समयको बर्बादी गरिदिएको, पारिवारिक सम्बन्धमा खलल पु¥याउँदै परिवारका सदस्यहरु टाढा र बाहिरियाहरु नजिक हुने अवस्था आएको, लाइक, कमेण्ट र च्याटको प्रयोगले मानिसहरुको घण्टौं समय वितेर काममा प्रभाव परे पछि कतिपय निकाय वा संस्थाले फेसबुकमा प्रतिबन्ध लगाएका समाचार पनि आइरहन्छन् । यस्ता समाचारमा तस्विरको दुरुपयोग हुनेदेखि अपराधका समाचारहरु नौला भएनन् ।

अनेकन् सकारात्मक कुराको बाबजुद नेपाली समाजमा थोरै संवेदनशीलताको ह्रास गराउनमा फेसबुकको कहीं न कहीं भूमिका देखिन्छ । अपरिपक्व र अस्वस्थ प्रतिष्पर्धाको पत्रकारिताले यो अवस्था सिर्जना भएको हुनुपर्छ । हुनतः पत्रकार आचारसंहिताले (संशोधित तथा परिमार्जित २०६४) वीभत्स दृश्य र तस्वीर प्रकाशन÷प्रसारण गर्न नहुने पनि भनेको छ । तथापि प्रिण्ट मिडियाले नभए पनि अनलाइन सञ्चार माध्यमहरुमा वीभत्स दृश्य र तस्वीर प्रकाशन प्रसारण गर्ने क्रम रोकिएको छैन । उक्त प्रकाशन फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत् क्षणभरमै हजारौंको पहुँचमा पुग्छ । सञ्चार माध्यमको सबैभन्दा ठूलो शक्ति भनेकै यसले पार्ने प्रभाव हो । सजिलै र छिट्टै यसले आम समुदायमा प्रभाव पार्दछ । त्यसैले फेसबुक प्रयोगकर्ता पनि यसबाट प्रभावित नहुने कुरै भएन ।

पत्रकारितामा एउटा भनाइ छ, हजार शब्दमा व्यक्त गर्न नसकिने कुरा एउटा तस्वीरले सजिलै सँग व्यक्त गरिदिन्छ । फेसबुकले तस्वीर प्रकाशनको सुविधा अत्यन्त सहज किसिमले दियो । जुनसुकै खाले तस्वीरहरु पनि यसमा प्रकाशन भएका देखिन्छन् । राजनीतिक समाचारका ‘मेकर’ हरुको जीवन मरणका समाचार तस्वीर सहित पत्रकारितामा आउँथे । त्यसैको सिको आज फेसबुक प्रयोगकर्ताहरुले गर्दा चरम संवेदनहीनता पं्रर्दशन हुन थालेको छ । समाजमा कोही कसैको मरण भयो घर परिवारका सबै सदस्यले थाहा नपाउँदै सूचना र तस्वीर सम्प्रेषण गर्ने कुसंस्कृति बढ्दो छ । घरमा परिवारका सदस्यको मरण भएको छ, परिवार शोकमा डुबेका छन् तर बाहिरियाहरु फेसबुककै लागि तस्वीर खिच्न तछाडमछाड गरिरहेका अशोभनीय व्यवहार देखिन्छ । यी तस्वीर तुरन्तै फेसबुकमा अपलोड गर्ने प्रवृतिले अर्को दुर्घटना निम्त्याउने खतरा आइलागेको छ ।

नेपाली समाजका आफ्नै परम्परागत संस्कार र संस्कृतिहरु छन् । हाम्रो समाजमा मानिसको मरण भएपछि उसको अनुहार छोपिदिने प्रचलन छ । छोरा वा परिवारका सदस्यले एकपटक मुख हेर्ने बाहेक खुल्ला राखिदिने चलन छैन । यसका खास कारण होलान् ।

तर यतिखेर  शोकाकुल पारिवारिक सदस्यमाथि चोट थप्ने गरी तस्वीर खिच्ने चलनलाई कसरी बन्देज लगाउने भन्ने बारेमा बहस हुनु आवश्यक भइसक्यो । यसबाट नेपाली समाज संवेदनाहीन बन्दै गएको पुष्टि हुन्छ । त्यसकारण यस्तो प्रवृतिको नियन्त्रण आवश्यक भइसक्यो । नियन्त्रणको कुरा कानुनले गर्छ । तर कानुननै सबै कुरा होइन ।

समाजलाई सबैभन्दा बढी चलायमान् तुल्याउने क्षेत्र भनेको शिक्षा नै हो । शिक्षालयबाट तुरुन्तै यसका सकारात्मक पक्षहरुलाई समाजमा पु¥याउन सकिन्छ ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई शिक्षाको क्षेत्रमा उपयोग गर्न आवश्यक छ । ईण्टरनेट मार्फत् प्राप्त हुने विशाल ज्ञान राशि र त्यसको प्रस्तुति कक्षाकोठामा हुनसक्ने गरी आधुनिक सञ्चार प्रविधिको विकास हाम्रा कक्षाकोठाहरुमा पुगिसकेको त छैन, तर जनजीवनमा भित्रिसकेको प्रविधिलाई कसरी उपयोग गर्ने भन्ने कुराको छलफल त्यहींबाट हुनु पर्ने भइसकेको छ ।

त्यसो गर्ने हो संवेदनाहीन बन्दै गएको समाजलाई विद्यार्थी मार्फत् फेसबुकको सही उपयोग गर्न प्रेरित गर्न सकिन्छ । हैन भने फेसबुकले टेक्सबुक तथा नोटबुकलाई पछि पार्ने र मानिसहरुको समय बर्बाद गर्ने मात्रै काम गर्ने खतरा छ ।

प्रतिक्रिया