Edukhabar
मंगलबार, ०१ जेठ २०८१
विचार / विमर्श

शिक्षक हप्काउँछ, विद्यार्थी ठुस्किन्छ ! अनि शिक्षामा गुणस्तर कसरी निस्किन्छ ?

बुधबार, २६ असोज २०७३

हामी शिक्षक, जे गर्छौ मुखैले गर्छौ । एकाध शिक्षालय अपवाद होलान्, नभए देशभरका अधिकांश विद्यालयमा कार्यरत शिक्षकहरुको साझा कार्यशैली हो, यो । शिक्षाको सिद्धान्त विपरीत शिक्षकहरु मुखाले बनेका छन् । फलस्वरूप आफूहरुले अनावश्यक बोझ र दुःख झेलिरहेका छन् भने विद्यार्थीहरुले सोचे अनुरुप प्रतिफल पाउन सकेका छैनन् । साथसाथै शिक्षक र विद्यार्थीका बीचमा अनावश्यक द्वन्द्व चलिरहेको छ ।
शिक्षण गर्नका लागि शिक्षा नै पढ्नुपर्छ, यो संसारको सार्वभौम मान्यता हो । तर हाम्रोमा भने शिक्षा नपढे पनि शिक्षणमा लाग्न पाइने चलन अझै हटिसकेको छैन । २०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापनापछि शिक्षामा निजी क्षेत्रको प्रवेश भयो । फलतः शिक्षा दुई धारमा बाँडियो, निजी र सरकारी गरेर । सरकारी विद्यालयमा शिक्षा पढ्नै पर्ने अनिवार्य व्यवस्था भइसकेको छ । भलै, केही विषयमा शिक्षा नपढे पनि शिक्षाकै विषयवस्तुमा आधारित रहेर लिइने अध्यापन अनुमति पत्रको परीक्षा उतीर्ण गर्नैपर्छ, शिक्षणमा जानका लागि । बिना अध्यापन अनुमति पत्र शिक्षण पेशा अपनाउन पाइदैन । तर निजी विद्यालयको अवस्था फरक छ । त्यहाँ शिक्षा पढेका भन्दा अन्य विषय पढेका व्यक्तिहरुको खोजी बढी हुन्छ । शिक्षा संकायलाई आजसम्म लाग्ने आक्षेप के हो भने त्यहाँ विषयवस्तु कम पढाइन्छ, केवल शिक्षण विधि मात्र सिकाइन्छ । त्यसो त शिक्षामा विषयवस्तु कम भएको होइन, विधागत बहस निकै कम भएको मात्र हो । मानविकी, व्यवस्थापन, विज्ञान लगायतका क्षेत्रका विषयगत बहस र गहनता बढी पाइन्छ । यी क्षेत्रमा व्यापक अध्ययन अनुसन्धान पनि भएका छन् तर शिक्षा विषयमा अझै पनि अलिक कम नै अध्ययन अनुसन्धान भएका छन् । शिक्षाले त्यस्तो अध्ययन अनुसन्धानका क्षेत्रमा आज पनि आफूलाई लगाउन नसक्नु बिडम्बना नै हो । त्यसकारण निजी विद्यालयहरुले अन्य विषय पढेका जनशक्तिको खोजी गर्दछन् । निजी विद्यालयमा व्यवासायिक मानसिकता हुनु अस्वभाविक होइन । व्यवसायमा मुनाफा लिनका लागि विषयगत प्रभाव सहयोगी बनेको देखिन्छ । उदाहरणका लागि, शिक्षणको माध्यम अङ्गेजीलाई बनाएको कुरालाई लिन सकिन्छ । भाषा पढाउनुको उद्देश्य त सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता सिपको शिक्षण हो भन्ने सिद्धान्त छ तर व्यवहारमा अङ्ग्रेजी माध्यममा पढाउनुलाई नै निजी विद्यालयले गुणस्तरका रुपमा प्रस्तुत गरेका छन् ।
विद्यालय शिक्षामा नेपाली, अङ्ग्रेजी भाषाका अतिरक्त विभिन्न विषयगत विधाहरु पनि समावेश छन् । ती विषयगत विधाहरु पढाउने शिक्षक शिक्षा संकायबाट मात्रै आपूर्ति हुन सक्ने अवस्था सिर्जना भइसकेकै छैन । तसर्थ अन्य संकायका मानिसहरु पनि शिक्षणमा आएका छन् । साथसाथै देशको शैक्षिक जनशक्तिको धेरै हिस्सा रोजगारी लागि शिक्षा क्षेत्रमा लाग्दछ । यसरी जाने जनशक्तिमा विषयवस्तुको ज्ञान भए पनि प्रस्तुतीकरणको ज्ञान नहुँदा समस्या सिर्जना भएको छ  । शिक्षण विधिको जानकारीको अभावमा शिक्षक स्वयंले दुख पाएको छ नै विद्यार्थीको भविष्यमाथि पनि खेलवाड भएको छ । साथै शिक्षणमा जाने सबैखाले जनशक्तिले तालिमका अवसर पनि पाउँदैनन् । तालिम पनि झारा टराईको छ । तालिममा तालिमको भन्दा सेवा सुविधातिर मानिसहरुको ध्यान बढी जान्छ । पूर्व सेवाकालीन तालिम शिक्षण पेशामा लाग्नेहरुलाई दिदै दिइदैन भने हुन्छ ।
बाल मनोविज्ञानका बारेमा उचित जानकारी नदिँदा विद्यार्थी र शिक्षकका बीचमा द्वन्द्व सिर्जना भएको छ । शिक्षकलाई विद्यालय उमेर समूहको विद्यार्थीको बारेमा समेत जानकारी नहुनु आफैमा दुखद कुरा हो । विद्यालय उमेर समूहका विद्यार्थीहरुका आआफ्नै उमेरगत मनोविज्ञान र त्यही बमोजिमका प्रवृत्तिहरु हुन्छन् । माध्यमिक तह पढ्ने किशोरावस्थाका बालबालिकाहरुको शिक्षण निकै जटिल छ । विद्यार्थीको भविष्य निर्धारण गर्ने सबैभन्दा महत्वपूर्ण उमेर मानिने किशोर अवस्था विद्यार्थी स्वयंका लागि पनि एक कठिन उमेर हो । शारीरिक हिसाबले बलशाली हुने यो उमेरमा विद्यार्थी स्वयं आफू के गर्दैछु भन्ने थाहा नपाउन सक्छ । त्यसका लागि उसलाई उचित परामर्श र सही व्यवाहरको आवश्यकता पर्दछ । तर कुनै पनि शिक्षालयमा त्यस्तो परामर्शको व्यवस्था भएको सुनिँदैन । चाहे त्यो काठमाडौंको नाम चलेका स्कुल होस् चाहे त्यो उपत्यका बाहिरको होस् । नौ देखि बाह्र कक्षा पढ्ने विद्यार्थीलाई ऊ किन पढ्न स्कुल आइरहेको छ भन्ने कुराको जानकारी समेत विद्यालयले दिन सकेको छैन । शहरिया धनाढ्य परिवारका छोराछोरी पढाउने विद्यालयहरुले उनीहरुले पढ्नुको औचित्य पुष्टि गरिदिन सकेका छैनन् । फलतः धनको आडमा उनीहरु रवाफिला बन्ने र त्यसबाट विभिन्न दुर्घटनाहरु निम्तिने गरेका छन् । अन्य मध्यवर्गीय परिवारका विद्यार्थीका हकमा पनि किशोरवस्थाका विद्यार्थी र शिक्षकका बीचमा कुनै न कुनै द्वन्द्व रहेकै देखिन्छ । कतै शिक्षकले हप्काइ दप्काइ गरेर विद्यार्थीलाई चुप लगाएको छ भने कतै विद्यार्थीले शिक्षकलाई निरीह तुल्याएको छ । फलतः कक्षाकोठाको वातावरण असहज बनिरहेको छ । त्यस्तो अवस्थामा शिक्षणको वातावरण बन्ने कुरै भएन । सञ्चार माध्यमको विस्तारका कारण लठ्ठीको प्रयोग घटे पनि पूरै बन्द भएको छैन । विद्यालयहरु प्रशासनिक निरकुंशताका कारण बन्धक बनेकै अवस्था छ । सही परामर्शका अभावमा विद्यार्थीहरु कुलतमा फस्न पुग्दछन् ।
शिक्षणमा शिक्षण सामग्रीको महत्वपूर्ण भूमिका रहन्छ । आधार सामग्री, पूरक सामग्री र सहायक सामग्रीहरुका रुपमा शिक्षण सामग्रीको वर्गीकरण गरिएको पाइन्छ । यस्ता शिक्षण सामग्रीहरुले शिक्षकको कार्यभार त घटाउँछन् नै सिकाइलाई रोचक तुल्याएर विद्यार्थीको सिकाइलाई दिगो बनाउन पनि सहयोग गर्दछन् । बिडम्बना आधार सामग्रीका रुपमा रहेका पाठ्यपुस्तक पनि समयमै देशभर पु¥याउन नसकेको अवस्था छ । कतिपय अन्य सामग्री विद्यालयहरु आफैले पनि निर्माण गर्न सक्छन् । तर कुनै पनि विद्यालयले त्यस्ता सामग्री निर्माण गर्ने कुरा त छाडिदिऊँ त्यस्तो वातावरण समेत बनाएका छैनन । नाम चलेका नामुद विद्यालयका प्राज्ञिक नेतृत्वलाई समेत शैक्षिक सामग्रीका बारेमा थाहा छैन भने त्यस्ता विद्यालयहरुमा कसरी पढाइन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । शिक्षकका हातमा सामग्री हुने हो भने त्यसले विद्यार्थीलाई अवश्य जिज्ञासु बनाउँछ र विद्यार्थी पढाइतर्फ आकर्षित हुनसक्छ । विद्यालय शिक्षाका उपल्ला कक्षाहरु प्रायशः काग कराउँदै छ पिना सुक्दैछका भरमा चलेका छन् । शिक्षक अगाडि पढाइरहेको हुन्छ भने कक्षामा विद्यार्थी आफ्नै धुनमा मस्त हुन्छ । फलस्वरुप शिक्षक पिरियड गुजार्ने र कोर्स भ्याउने ध्यानमा मात्रै हुन्छ । यस्ता कक्षाहरुमा विद्यार्थी र शिक्षकका बीचमा द्वन्द्व चर्कन पुग्छ ।  
शिक्षण पेशा अन्य पेशाजस्तो सजिलो पेशा होइन । यसमा दिनहँु प्रत्यक्ष मानिसहरुसँग अन्तक्र्रिया गरिरहनुपर्ने हुन्छ । विद्यालय तहका किशोरवस्थाका बालबालिकाहरुसँग अन्तक्र्रिया गर्नु आफैमा चुनौतीपूर्ण कुरा हो । शिक्षकको मुखले मात्र विद्यार्थीलाई आश्वस्त तुल्याउन सकिन्न । निश्चित शैक्षिक सामग्रीहरु प्रयोग गर्ने र विद्यार्थी मनोविज्ञानलाई पनि ध्यानमा राख्ने हो भने अपेक्षित नतिजा मात्र होइन, शिक्षकको कार्यबोझ घट्ने, विद्यार्थीको सिकाइ दिगो हुन कार्यका साथै शिक्षक र विद्यार्थीका बीचमा सिर्जना हुने द्वन्द्व पनि निराकरण हुने निश्चित छ । नभए शिक्षक विद्यार्थी सम्बन्ध सुमधुर हुन नसक्ने देखिन्छ । यसमा शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालयको सामूहिक प्रयत्नको आवश्यकता महत्वपूर्ण कुरा हो ।     

 

प्रतिक्रिया