Edukhabar
मंगलबार, ०१ जेठ २०८१
विचार / विमर्श

कक्षाकोठामा किन छैन चाहिने कुरा ?

मंगलबार, ३० कार्तिक २०७३

बढ्दो शहरीकरण, संयुक्त परिवारको विघटन, यातायातको सञ्जाल तथा मोबाइल फोन लगायत प्रविधिले गर्दा संसार एकल संस्कृतितर्फ उन्मुख छ ।  हामी नेपालीका आवश्यकता पनि यि कारणले ह्वातै बढेका छन् । रुपैयाँको मूल्यहीनतासँगै बजारका सामानको सुलभताका कारण पारिवारिक सम्बन्धहरु तथा चालचलनमा नयाँपन आएको छ ।

भर्खर मात्रै दशैं तिहार जस्ता चार्डवार्ड मनायौं । यी चार्ड मोटरसाइकल, कार, बस तथा जहाजमा सवार भएर आए त्यसै गरी गए । अर्थात् पारिवारिक तथा नातासम्बन्धीका बीचमा दुःखसुख आदिको भलाकुसारी गर्ने फुर्सद हामीलाई हुन छाड्यो । विदेशका महंगा शहरमा बस्ने छोराछोरीहरु भिडियो मार्फत बाबुआमाको हातको टीका लगाउँछन् तर काठमाडौं ओर्लेर समायोजन हुन गाह्रो मान्न थाले ।

देउसी भैलो सस्ता हिन्दी गीतका साथमा गाडी चढेर बजार बजार डुल्यो । गाउँको हटिया जानुस् या शहर जानुस् वा घरमै बसेर टिभी हेर्नुस् देउसी भैलो वा मालश्री एकै प्रकारको पाउनुहुनेछ । समग्रमा के हो भने, चाडवाड तथा संस्कृति कर्मकाण्डी बन्दै जाँदा हामी पनि एकल संस्कृतिमा चाहेर वा नचाहेर पनि फसिसकेका छौं । भौगोलिक, जैविक, सांस्कृतिक, राजनीतिक, शैक्षिक लगायतका विविधतालाई हामी बिर्सिसकेका छौं ।  

आत्महत्या गर्न विवश तुल्याउन एकल संस्कृतिको भूमिका महत्वपूर्ण छ । देश तथा सत्ता चलाउनेहरु आफ्नो पद वा जागिर जोगाउननै व्यस्त छन्, जनतालाई एकल संस्कृतिमा झुलाएर । उनीहरु राजनीतिक तथा आर्थिक अराजकतामा नै आफ्नो राज चलाइरहेका छन् । जनतालाई अँध्यारो वा गुमराहमै राखेर । कमिसन खान पल्किएकाहरुका कानमा जनआवाजको बतास लाग्दैन । नेपाल पनि आत्महत्या गर्ने मुलुकहरु मध्ये दश भित्रमा नै पर्छ भन्ने तिनीहरु सुनेर पनि नसुनेझै गर्छन् । तसर्थ मानिसलाई अकालको त्यो यात्राबाट रोक्ने चासो तिनीहरुलाई हुने कुरै भएन ।

मानसिक रोग तथा असफलताको क्षणिक आवेग, महत्वकांक्षाको अप्राप्ति, प्रेममा असफलता, आर्थिक क्षेत्रको अस्वस्थ प्रतिष्पर्धा आदिआदि कारण मानिसहरु अपह्त्ते तर्फ उन्मुख भएका छन् । अस्पतालको बिल तिर्न नसकेर होस् या पारिवारिक खटपटले होस् वा असफलता आदि जे कारण भए पनि मनो व्यवस्था सन्तुलित राख्न दिनप्रतिदिन हामीहरु असफल भइरहेका छौं ।

मानसिक रोग वंशानुगत पनि हुन सक्छ वा कुण्ठा तथा तनावले अप्रत्याशित पनि हुनसक्छ भन्ने डाक्टरको भनाइ बुझिन्छ । वंशानुगत भए पनि न्युनीकरण उपाय खोज्नुपर्ने हो । तर पारिवारिक सम्बन्धमा खुकुलोपन बढ्दै जाँदा नेपालीहरु पनि अतालिने अवस्थामा आइपुगेको सहजै अनुमान गर्न सकिन्छ ।

शिक्षा क्षेत्र पनि विविधताबाट विमुख हुँदैछ । बरु हिजो एक भाषा एक भेष भित्र विविधता थियो तर आज बहुलवादले त्यसलाई एकल बनाइरहेको छ । त्यसैको परिणाम हो, ‘आउटडेटेड’ हुन लागेको अंग्रेजी माध्यमको लहर । भारतमा जस्तै नेपालमा आज पनि अंग्रेजीलाई जागिरको पक्का भिसा ठानिन्छ । तर देश विदेश जागिरमा वा व्यवसायमा जानेहरु जापनिज, कोरियन, अरबी आदि भाषाको अध्ययनमा आफूलाई लगाइरहेका छन् तर हाम्रा विद्यालयहरु अंग्रेजीका लागि मरिहत्ते गरिरहेका छन् ।

अभिभावकको चाहना पनि त्यही छ । व्यवाहरवादी र मनोवादी भाषा सिद्धान्त प्रचलनमा छन् । नेपालमा व्यवाहरवादका हिसाबले अंग्रेजीलाई अँगाल्ने हो भने अंग्रेजी, गणित, विज्ञान त नेपालीमा पढाइ हुने मुलुकमा त्यसको के अर्थ ? घर परिवार, स्कुल, साथीसंगी सबै नेपाली नै प्रयोग गर्छन् भने अंग्रेजी कसरी व्यवाहरवादी कोणबाट उचित हुनसक्छ । हाम्रा संविधान ऐन कानुनमा प्रारम्भिक शिक्षाका लागि मातृभाषामा शिक्षा दिनसक्ने कुरा उल्लेख छ । तर नदिन पनि सकिन्छ ।

अंग्रेजीमा दिन पाइन्छ । यसले शिक्षालाई पनि संस्कृति तथा चालचलनलाई जस्तै एकल बनाइरहेको छ । अव्यवस्थित शहरीकरणले शारीरिक कसरतबाट विद्यार्थी विमुख भइरहेका छन् । ‘खेल स्वास्थ्यका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने नारा नारामै सीमित छ । शिक्षालय सञ्चालन गर्नका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु बिना शिक्षण भइरहेको छ । खेल्ने ठाउँ मात्र होइन, आवतजावत, पानी तथा शौचालयको समेत पर्याप्त व्यवस्था नभएका शिक्षालयहरु सर्वत्र देख्न पाइन्छ । विद्यार्थीको उमेर किशोरवस्थातिर लम्कदै गर्दा उसका लागि आवश्यक पर्ने शारीरिक अभ्यास उपलब्ध छैन । घर कोठामा सीमित छ ।

भावनाहरुको आदानप्रदान गर्ने अवस्था छैन । शिक्षा भावी जीवनका लागि हुनुपर्छ । तर भावी जीवनलाई स्वस्थ तुल्याउने प्रत्यक्ष शारीरिक मानसिक स्वास्थ्यसँग जोडिएका विषयहरु शिक्षण हुँदैनन् । किशोर अवस्थाको मनोविज्ञान तथा शारीरिक परिवर्तनको चर्चा प्रत्यक्ष रुपमा खासै गरिदैन । कतिपय कुरालाई अझै पनि लज्जाको विषय ठानिन्छ ।

यस्तो परिवेशमा शिक्षक विद्यार्थीको मनो व्यवस्थालाई कसरी सुव्यवस्थित र सन्तुलित तुल्याउने भन्ने चुनौती आम शिक्षा जगत्को रहेको छ । विद्यार्थीलाई मानसिक स्वास्थ्यका लागि आवश्यक पर्ने मनोपरामर्श सबैतिर उपलब्ध हुन सक्ने अवस्था पनि छैन । रोग लाग्नै नदिने उपायको खोजी एकातिर गर्नुपर्ने छ भने अर्कोतिर रोग लागिसकेपछि त्यसको दीर्घकालिन निदानको उपाय खोज्नुपर्ने बाध्यता छ ।

भनिन्छ, मनोरोगीलाई पूरै निको तुल्याउन चिकित्साविज्ञानलाई समेत बारम्बार चुनौती खडा भएको छ । औषधी खाँदाखाँदा थकित भएर अकालमा प्राण त्याग्नेहरु धेरै छन् । मानसिक रोगले ल्याउने शारीरिक अस्वस्थता समेत डरलाग्दो मानिन्छ ।  पश्चिमाहरुले समेत ध्यान, योग, अक्युप्रेसर आदिलाई स्वीकारेका छन्, मनोव्यवस्थाको सन्तुलनका लागि । किनकी मानसिक स्फुर्ति औषधीले दिदो रहेनछ । श्रमको थकाइबाट मानसिक स्फुर्ति हुन्छ भन्ने विज्ञानको मान्यता छ । तर श्रम गर्ने अवस्थाबाट हाम्रो व्यवाहर र शिक्षा विमुख छ । योगका पुस्तकहरुमा शशकासनबाट मानसिक रोग निको हुन्छ भनिएको छ । एक्युप्रेसरको पनि भूमिका उल्लेख छ । 

विद्यालय भनेका धेरै मानिसहरुको जमघट हुने स्थान हुन् । समाजलाई सबैभन्दा बढी चलायमान र प्रभावित तुल्याउने काम पनि विद्यालयले नै गर्दछन् । व्यक्ति स्वयंको भावी जीवनको रुपरेखा पनि विद्यालयले नै कोर्छ । तसर्थ विज्ञबाट अध्ययन अनुसन्धान गराई मनोव्यवस्थालाई सन्तुलित राख्ने उपायहरुको खोजी गर्नु आवश्यक छ नभए आगामी दिन अझ भयावह अवस्था नहोला भन्न सकिन्न ।

प्रतिक्रिया