Edukhabar
मंगलबार, ०१ जेठ २०८१
विचार / विमर्श

शिक्षकको ‘लेक्चर’ र विद्यार्थीको बेवास्ता

विहीबार, २३ मंसिर २०७३

भाषा शिक्षणको शैली अझै पनि परम्परागत छ । यही परम्पराका कारणले शिक्षक र विद्यार्थी दुवैले भाषाको अध्ययन अध्यापनबाट सन्तुष्टि प्राप्त गर्न सकिरहेका छैनौं । नेपाली भाषा त के हो र हामी पनि पढाइदिई हाल्छौ भन्ने अन्य विषयका शिक्षकहरु पनि प्रशस्त छन् । उनीहरुको नेपाली भाषाप्रति अत्यन्तै नकारात्मक दृष्टिकोण छ । हामी स्वयं जसरी हीनताबोधले ग्रसित छौं, त्यसैगरी नेपाली भाषा शिक्षक पनि हीनताबोधले ग्रस्त छन् । फलतः विद्यार्थी स्वयंलाई यस भाषाप्रति सकारात्मक दृष्टिकोण सिर्जना गर्न असफल भइरहेका छौं । उपल्लो तहमा नेपाली भाषा साहित्य पढ्नेहरुले निर्धक्क म नेपाली भाषा र साहित्य पढ्छु भनेर भन्न नसक्नुको कारण त्यही हीनताबोध नै हो । तथापि हामीले नेपाली भाषामा व्याख्यान भने दिइरहेकै छौं ।

अंग्रेजी भाषाप्रतिको मानिसहरुको आकर्षण घटेको छैन । यसले लक्ष्मीप्रसाद देवकोटाको पालादेखि आजसम्मै आफ्नो स्थान नम्बर एकमै कायम गरेको छ । तर त्यसको शक्ति खस्कन लागेको हो कि भन्ने संकेत आज शहरबजारतिर खुलेका अन्य भाषा शिक्षणका कक्षाहरुले दिएका छन् । अर्कोतिर अंग्रेजी भाषा आज सर्वसुलभ भएको छ । तथापि शिक्षणको शैली भने पुरानै छ । प्लस टु का कक्षामा आज पनि दशकौं पुराना ‘प्रोफेसर शर्माका डायरी’ हरुले निकै रोजगारी पाइरहेका छन् !

अझ रमाइलो कुरा  त अंग्रेजी भाषालाई नेपालीमा उल्था गरेर अंग्रेजीका भाषा शिक्षकहरु ‘लेक्चर’ दिइरहेकै छन् । जुन शिक्षकले नेपालीमा अंग्रेजीको उल्था गर्न सक्छ, त्यो शिक्षकका ट्युसन कक्षाहरु बढी चलेकै छन् । धन्य, प्लस टुमा भने नेपाली भाषाको पाठ्यपुस्तकलाई प्रोफसर शर्माको डायरीको आवश्यकता नपर्ने किसिमले निर्माण गरिएको छ ।  

भाषा शिक्षण परम्परागत मात्र होइन, सकारात्मक पनि छैन दृष्टिकोण, शिक्षण प्रतिको । कक्षाकोठामा भाषा शिक्षकलाई स्वतन्त्र छोडिदिऊँ भने बिताइहाल्छ कि भन्ने मानसिकता विद्यालयका प्रशासकहरुमा छ । अझ निजी विद्यालयले भाषा शिक्षण र व्याकरण शिक्षणलाई अलग अलग प्रकारले शिक्षण गरेको पाइन्छ । निजी प्रकाशनले व्याकरणका पुस्तक उपलब्ध गराएकै छन् । त्यो विद्यार्थीको आवश्यकता हो कि होइन भन्दा पनि आफूलाई कति लाभ भयो भन्ने हिसाबले महत्व राखेको हुन्छ । त्यसकारण कक्षामा नेपालीका व्याकरणहरु सर्वसुलभ भएका छन् । नेपाली भाषाका भाषा पाठ्यपुस्तकहरु बिस्तारै आगमन विधिलाई अँगाल्दै गएका छन् तर हाम्रा कक्षा कोठाहरु व्याकरणमा जटिलतम् सूत्रहरुका व्याख्यान स्थलमा परिणत भएका छन् । त्यसकारण प्रशासनले निर्देशन दिनु स्वभाविक नै भयो, शिक्षणका लागि । शर्माको डायरी तल्लो कक्षादेखि प्रचलित हुन्छ । गेसपेपरमा प्रतिबन्ध लागे पनि विद्यार्थीले ती प्राप्त गरेकै हुन्छन् । सरकारी विद्यालयमा पनि भाषा शिक्षणका विषयमा खासै छलफल हुँदैन । नेतृत्व तहमा रहेका भाषा शिक्षकहरु पुरानो मानसिकताबाट अझै पनि ग्रसित छन्, त्यसकारण उनीहरु भाषा र व्याकरणलाई अलग त गर्न चाहन्छन् नै, विषयवस्तु शिक्षणलाई नै जोड दिइरहेका देखिन्छन् ।

अझ रमाइलो त भाषा शिक्षकको चतु¥याँइमा पनि छ । विद्यार्थीलाई व्याकरण विषय त्यति रुचिकर नलाग्नु स्वभाविकै हो, त्यसकारण उनीहरु ‘व्याकरण पछि पढौं सर’ भन्दछन् । चतुर भाषा शिक्षकले पनि बठ्याँइ गर्छ र व्याकरण पछिलाई नै राख्छ । परीक्षा सुरु हुन एक दुई दिन अगाडि यसो व्याकरण पुस्तक पल्टाइदियो, विद्यार्थी आफैमा अलमलमा हुन्छ अनि फेरी पढौंला भन्यो । पुस्तक बन्द । पढाइ पनि बन्द । आगमन विधि पनि बन्द ।

हाम्रोमा शिक्षा मूलधारमा छैन । मूलधारको पहिलो नम्बरमा राजनीति नै छ भने दोस्रो नम्बरमा कर्मचारी प्रशासन छ । शिक्षालाई अलिक हेलत्वको विषय ठानिन्छ । तर शिक्षकले त्यही कर्मचारीको छोराछोरीलाई शिक्षा दिन्छ भन्ने कुरा बिर्सिएको छ । शिक्षकलाई पर्याप्त तालिम नदिइनुको कारण नै यही हेलत्व हो । अन्य कर्मचारी भए छ महिना तालिम मात्रै दिइन्छ तर शिक्षकलाई शिक्षा पढेको नाममा पूर्व सेवाकालीन तालिम छ भनिन्छ । पढ्नु र पर्नुमा आकाश जमिनको भेद छ भन्ने कुरा बुझ पचाइएको छ । अझ अंग्रेजीमा त शिक्षा पनि पढ्नु नपर्ने भएको छ । त्यसकारण बिना तालिम नै सिधै कक्षाकोठामा पठाइन्छ ।

शिक्षकले पनि के गरोस् बिचरा ? विधा र व्याकरणलाई भिन्न तुल्याइदिन्छ । शिक्षक भनेको बोल्ने नै होला भन्ने ठान्छ, उसले । अनि ट्वार ट्वार भ्यागुतो जस्तै चिच्याइरहन्छ । विद्यार्थी पनि शिक्षक बोले मात्र आफूले पढे जस्तो ठान्छ तथाथि शिक्षकको बोलीप्रति उसको बेवास्ता नै रहन्छ । शिक्षकले उनीहरुलाई शैक्षणिक गतिविधिमा क्रियाशील गराई व्यस्त गराउन सक्दैन । फलतः उनीहरुलाई पढ्न, लेख्न, बोल्न, सुन्न सिकाउन थाल्ने हो भने शिक्षककै जागिर धरापमा पर्ला भन्ने डर ।

शिक्षकले व्याख्यान नगरिकन विद्यार्थी अभ्यासमा जाँदै जाँदैन भने हुन्छ । विषयवस्तुको व्याख्या आज पनि शिक्षकले हरेक कक्षामा गर्नैपर्ने अवस्था छ । सामान्य प्रश्नमा पनि विद्यार्थी घोत्लिएको पाइदैन । केवल शिक्षकका मुखैबाट उत्तर सुन्न लालायित छ । उत्तर खोजेर लेख्ने बानी नै छैन । विद्यार्थी रुचिलाई ध्यान दिने नाममा विद्यालय प्रशासनहरुले व्याख्यान विधिलाई नै संस्थागत गरिरहेका छन् । यो एकाध क्षेत्रको कुरा होइन, सबैतिर यही नियम लागू भएको छ । त्यसकारण शिक्षणको शैलीमा पनि विविधता छैन भने विद्यार्थीको उत्तरमा पनि त्यस्तो विविधता कमै मात्रामा भेटिन्छ । पढाइ सिपका बारेमा खासै बोलिदैन । मौन पठनमा विद्यार्थीलाई अभ्यस्त गराएको पाइदैन । फलतः उनीहरुको बोध क्षमता नै कमजोर रहेको छ ।

भाषा माध्यम हो भने विषय त्यही माध्यमबाट सम्प्रेषित हुने ज्ञान हो । भाषा शिक्षण भनेको सिपको शिक्षण हो भन्ने कुरा सबैतिर आइसकेको छ तर त्यसलाई कक्षाकोठामा लागू गर्न आज पनि हम्मेहम्मे भएको छ । नेपाली अंगे्रजी वा दुवै भाषा राम्रो भएको विद्यार्थीलाई आफ्नो अध्ययनमा मात्रै होइन, जीवनमै असफलता व्यहोर्नुपर्ने देखिदैन । त्यसकारण भाषा शिक्षणप्रतिको नकारात्मक दृष्टिकोण बदल्नु जरुरी छ । त्यसका लागि भाषा शिक्षकलाई स्वतन्त्र नै छाडिदिनु राम्रो हुन्छ । साथसाथै भाषा शिक्षकलाई तालिमको पनि व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ ।

निजी विद्यालयले पनि सामान्य पुँजीबाट पनि तालिमको व्यवस्था गर्न सक्छन् भने सरकारी विद्यालयका शिक्षकहरुलाई पनि सेवापूर्व सिप केन्द्रित तालिम दिनुपर्ने देखिन्छ । सिप केन्द्रित शिक्षण गर्ने हो भने विद्यार्थीलाई एकातिर अंग्रेजी जस्तो भाषा नेपालीमा पढाउनु पनि पर्दैन भने अर्कोतिर शिक्षकले व्याख्यान गर्दा हुने ‘सकस’ पनि व्यहोर्नु पर्दैन । नेपाली भाषाको हकमा पनि यही कुरा लागू हुन्छ । दुवैलाई लाभैलाभ ! कक्षाकोठामा शिक्षकले पढ्नुपर्दैन भने विद्यार्थीले शिक्षकको पढाइमा दिन गुर्जानु पर्दैन । त्यसो भयो भने हराउँदै गएको पठन संस्कृतिको स्तर पनि उकासिने निश्चित छ ।

प्रतिक्रिया