Edukhabar
आइतबार, ०६ जेठ २०८१
विचार / विमर्श

‘सामाजिक सरलाई चिठ्ठी’

शनिबार, १२ चैत्र २०७३

राजनीतिक रुपमा भएको आन्दोलनसँगै व्यवस्था फेरियो, तर व्यवहार फेरिएन, शिक्षामा पनि परिवर्तन भयो तर पनि शिक्षाको पाठ्यक्रम फेरिएन, शिक्षकको बानी फेरिएन । यस्तो भएपछि परिवर्तनको अर्थ के रहन्छ र? भन्ने प्रश्नले घोचेपछि २०४५ साल माघ १ गते लमजुङमा जन्मिएका प्रज्वल अधिकारीले लेखे –‘सामाजिक सरलाई चिठ्ठी’
बुवा विश्वनाथ र आमा कमला अधिकारीको जेठो सन्तान भएर जन्मिएका उनले काठमाडौं कुलेश्वर आवासिय माविबाट आफ्नो प्रारम्भिक पढाइ सुरु गरे भने पाणिनी संस्कृत माविबाट एसएलसी । साहित्यमा रुचिमात्र नभएर लगनका साथ लागेका उनले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् । केही समय प्राध्यापन पेशामा पनि संलग्न भए । उनी बुक आर्ट नेपालले २०७२ मा र भविष्यवाणी कविता प्रतियोगितामा क्रमशः टप २० र टप १० भित्र सफल पनि भएका छन् । नेपाली साहित्यमा उदीयमान र सम्भावना बोकेको कविको रुपमा उदाएका अधिकारीको कविता योपटकको साताको शिक्षा साहित्यमा ।

सामाजिक सरलाई चिठ्ठी !


सर’
म तपाइँको विषयमा
कहिल्यै पास नहुने सामाजिक प्राणी
सँधै अन्तिम बेञ्चमा बसेर
तपाइँले सोध्नुभएको प्रश्नमा
अनुत्तरित हुने कमजोर विद्यार्थी
मेरो सेरोफेरो किताब मन नपराउने
तपाइँको अप्रिय छात्र ।

कक्षाकोठामा तपाइँकै घण्टीमा 
सबै जात एउटै जात
सबै जात बराबर पढेपछि
वीरबहादुर विश्वकर्मासँग एउटै बेञ्चमा बस्दा
तपाइँकै हातबाट पिटाई आएको जातले बाहुन म

लोग्ने स्वास्नी एक रथका दुई पाटा
पढेर घर फर्कँदा
तपाइँ र गुरुआमाको झगडा छुट्याउन जाँदा
कोदो बारीमा पुगेको छिमेकी म
लागूऔषध खानु हुन्न
यसले स्वास्थ्यमा असर पुर्याउँछ
पढेर तपाइँका लागि
चुरोट किन्न निस्केको जेहेन्दार छात्र म ।

तपाइँले भने मुताबिक
छात्तीमा देश
निधारमा देशको माटो
नशामा नदीहरु अनि शिरमा सगरमाथा राखेर हिँड्दा
पागल ठहरिएको देशभक्त म ।
तपाइँले दुई ढुंगाबीचको तरुल पढाएदेखि
देश बेच्न तयार भएको ब्यापारी म ।

वीर गोर्खाली र खुकुरीको कहानी सुनेपछि
लिपुलेक बचाउन खुकुरी लिएर निस्कँदा
घाइते भएको योद्धा म ।
हिन्दू राज्य नेपाल, राष्ट्रिय जनावर गाई पढेर
धर्म निरपेक्षता स्वीकार गर्न नसकिरहेको गणतन्त्रवादी म 
बडामहाराजधिराजको आफूतिर फर्केको
चोर औंला समातेर हुर्केको सच्चा नेपाली म
कहिल्यै सकिँन माझी आंैला उनीतिर फर्काएर
प्रगतिशील बन्न
धेरैपटक शहीद गेटमा उभिएर
उच्च स्थानमा आसिन महाराज
शहीद हुन् कि होइनन्श्र
सम्झिन खोजिरहेको भुलक्कड विद्यार्थी

मन्दिर, मठ, चैत्य, मस्जिद
हाम्रा अमूल्य सम्पदा
भत्काउन नसक्दा पछाडि परेको क्रान्तिकारी म ।

आज यो भन्दैछु–
सर! म जिन्दगीको परीक्षामा पनि फेल भएँ
हजुर सेवा निवृत्त नहुनुभएको भए
दूरदर्शी बनेर पढाउनु होला
उही तपाइँको अप्रिय छात्र ।

प्रतिक्रिया