Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

शिक्षाविद्को समिति बनाउनेदेखि पाठ्यपुस्तकसम्म बनाउने मेयरको घोषणा

विहीबार, २९ असार २०७४

भक्तपुर – स्थानीय तहको निर्वाचनबाट प्रतिनीधि चुनिएर आएका प्रतिनीधिले शिक्षाविद्हरुको समिति बनाउनेदेखि आफ्नै पाठ्यपुस्तक तयार गर्नेसम्मका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

स्थानीय तहको मातहतमा आएको शिक्षामा व्यापक सुधार ल्याउन भन्दै भक्तपुर नगरपालिकाका जनप्रतिनीधिहरुले उक्त कार्यक्रम बाहिर ल्याएका हुन् । आज भक्तपुर नपाका मेयर सुनिल प्रजापतिले भक्तपुर नपाको पहिलो नगर सभाको उद्घाटनमा सो नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले प्रस्तुत गरेको ती नीति तथा कार्यक्रममा शिक्षासम्बन्धी विभिन्न ८ वटा वुंदाहरु समावेश छन् ।

नपाको कूल ३६ वटा नीति तथा कार्यक्रममध्ये मेयर प्रजापतिले प्रस्तुत गरेको शिक्षा विषयका नीति तथा कार्यक्रममा भक्तपुर नगरलाई ज्ञान विज्ञानको केन्द्र बनाउनेका अलावा सो उद्देश्य पूरा गर्नका लागि २०५६ सालदेखि सञ्चालन गरेको ख्वप कलेज, ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप मावि, शारदा क्याम्पस र शारदा क्याम्पस माविका नयाँ नयाँ विषयहरु थप गर्दै लग्ने उल्लेख छ ।

ख्वप विश्वविद्यालय स्थापना गर्ने दिशातिर अघि बढिरहेको भक्तपुर नपाको नीति तथा कार्यक्रममा ख्वप विश्वविद्यालय अगाडि बढाउन तथा नगरपालिका अन्तरगत आएका विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन र विद्यालय सुधारका लागि शिक्षाविद्हरुको समिति गठन गर्ने वुंदा पनि छ ।

‘भक्तपुर नगरपालिकाद्वारा अहिले ६ वटा शिशु स्याहार केन्द्रहरु सञ्चालित छन्, त्यहाँ कार्यरत शिक्षिका र आयाहरुलाई समायानुकूल तालिमको व्यवस्था गरिनेछ, शिशु स्याहार केन्द्र नभएका वडाहरुमा पनि नयाँ समूह सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिने छ’ नीति तथा कार्यक्रम प्रस्तुतको क्रममा मेयर प्रजापतिले भने, ‘रोजगारीको खोजीमा भक्तपुर नगर क्षेत्रका युवाहरु विदेशीने क्रम पनि बढ्दो छ । त्यसमा कमी ल्याउन र आफ्नै ठाउँमा रोजगारी सिर्जन ागर्न चिनियाँ, जापनी भाषालगायत विभिन्न भाषाको तालिम तथा विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिनेछ ।’

त्यस्तै भक्तपुर नपाले नै सञ्चालन गरिरहेको जनज्योति पुस्तकालयको पनि स्तरोन्नति गर्दै आधुनिक र सुविधासम्पन्न पुस्तकालय बनाउने नीति पेश गर्दै मेयर प्रजापतिले टोल टोलमा रहेका वाचनालय र पुस्तकालयलाई अािर्थक सहयाग गर्ने बताए ।

मेयर प्रजापतिले चुनावको क्रममा पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख भए बमोजिम काम गर्ने बताउँदै भक्तपुरको कला, संस्कृति, सम्पदा संरक्षण, जनजीवन, सरसफाइ, वातावरण, इतिहास आदिबारे अध्ययन अनुसन्धान गर्ने शोधकर्तालाई विषयवस्तुका आधारमा आर्थिक सहयोग गर्ने नीति बनाएको सुनाए ।

उनले भक्तपुरबारेमा छुट्टै पाठ्यपुस्तक नै तयार गरी विद्यालयमा अध्ययनसमेत गराइने बताए । उद्घाटन कार्यक्रममा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छें, सांसद प्रेम सुवाल, इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, त्रिवि शिक्षा संकायका पूर्व डीन पृथुचरण वैद्य, इञ्जिनियर राजेन्द्र श्रेष्ठ, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलगायतले बोलेका थिए ।

सभा शनिबार सकिने भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए ।

 

प्रतिक्रिया