Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक लाईसेन्स नविकरण गर्न सुझाव, पास मार्क ८० !

मंगलबार, १२ मंसिर २०७४

भक्तपुर - शिक्षक हुन आवश्यक अध्यापन अनुमतिपत्र (लाईसेन्स) एक पटक लिएपछि जीवनभरलाई हुने पद्धतीमा सुधार गरी हरेक पाँच पाँच बर्षमा नविकरणको ब्यवस्था गर्न शिक्षाविद्हरुले सुझाव दिएका छन् । यसैगरी ५० अंक ल्याए पास हुने ब्यवस्थामा परिवर्तन गरी ८० अंक तोक्न र विषयगत अध्यापन अनुमतिपत्र जारी गर्न पनि उनीहरुको सुझाव छ ।

अध्यापन अनुमतिपत्रका बारेमा शिक्षक सेवा आयोगले मंगलबार गरेको अन्तरक्रियामा शिक्षाविद्हरूको यस्तो धारणा ब्यक्त गरेका हुन् ।  

शिक्षक हुन चाहने ब्यक्ति कस्तो उत्पादन गर्ने भन्ने बारेमा विश्वविद्यालय तहबाटै ध्यान दिनु पर्ने शिक्षाविद् प्रा.डा मनप्रसाद वाग्लेले बताए ।

'हुन त हामीले नै काम गर्यौं तर विश्वविद्यादयको शिक्षा शास्त्र कमजोर हुँदा गतिला शिक्षक उत्पादन हुन सकेनन्' शिक्षक उत्पादन गर्ने विश्वविद्यालयीय शिक्षा तर्फ आलोचना गर्दै उनले भने 'श्रोतबाटै हेर्न जरुरी छ ।'

शिक्षक हुनलाई फष्ट डिभिजन ल्याउने विद्यार्थी खोज्नु पर्ने सुझाव दिदैं उनले संघीयता संगै बदलिदोँ संरचनामा अध्यापन अनुमतिपत्र वितरणलाई पनि फरक तरिकाले हेर्न सुझाव दिए । जुन प्रदेशले अनुमतिपत्र दिन्छ सोही प्रदेशमा मात्र अध्यापन गर्न पाउने व्यवस्था गर्नुपर्ने र यदी क्षिक अर्काे प्रदेशमा अध्यापन गर्न चाहन्छ भने पुनः अध्यापन अनुमतिपत्र लिनु पर्ने व्यवस्था गर्न पनि उनले सुझाव दिए ।

शिक्षक भनेको नैतिकता र निष्ठासँग जोडिएको पेशा भएकाले यो कुरा बुझाउन नसकिञ्जेल अनुमति पत्रका लागि जति नै जाँच लिए पनि केही परिवर्तन नहुने शिक्षाविद् डा. मीनबहादुर विष्टले बताए ।

'शिक्षक पेशाकै बारेमा सम्पूर्ण रुपमा पुर्नसंरचना गर्नु पर्ने अवस्था छ' उनले भने ।

यस्तै अर्का शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले लिन चाहनेलाई एकभन्दा बढी विषयमा पनि अध्यापन अनुमतिपत्र दिन सकिने व्यवस्था गर्न सुझाव दिए ।

'शिक्षक हुन चाहने हरेक ब्यक्तिले सबै भन्दा पहिला आफूले आँफैंलाई जाँच्ने, उसलाई साथीले जाँच्ने र अन्त्यमा सरकारको संरचनाले जाँचेर मात्रै अध्यापन अनुमति पत्र उपलब्ध गराउनु पर्छ' उनले भने ।

कार्यक्रममा शिक्षा सचिव मधुप्रसाद रेग्मीले विज्ञहरुबाट प्राप्त सुझावका आधारमा नै मन्त्रालय अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा शिक्षाविद् डा. वालचन्द्र लुईटेल आयोगका अध्यक्ष ताना गौतम, शिक्षा मन्त्रालयका सहसचिव डा. हरीप्रसाद लम्साल, पाठ्यक्रम विकास केन्द्रका निर्देशक कृष्ण काप्री, शिक्षक सेवा आयोगका प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलिया, शिक्षकका प्रतिनिधि लगायतले शिक्षक लाईसेन्स र यसलाई प्रभावकारी बनाउने बारेमा धारणा ब्यक्त गरेका थिए ।

आयोगले अहिले सम्म ७ लाख ६५ जनालाई लाईसेन्स दिएको छ । यस मध्ये २०६१ साल देखि २०६७ साल सम्म प्राथमिक तहका १ लाख ९८ हजार ८ सय ३०, ०६१ देखि ०७२ सम्म निमाविमा ३ लाख ६५ हजार २ सय ७५ र सोही अवधिमा मावि तहमा १ लाख ३५ हजार ९ सय ६० जनालाई लाईसेन्स दिएको छ । उच्च माविका २२ हजार ९ सय ८६ जनालाई लाईसेन्स दिएको आयोगले जनाएको छ । ०६८ साल यता प्रावि तहमा लाईसेन्सको परीक्षा भएको छैन ।

प्रतिक्रिया