Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

बाँकी छ पच्चिस दिन, पाठ्यक्रम विकास केन्द्रले अझै दिएन सीआरसी

शुक्रबार, ०५ माघ २०७४

काठमाडौं - शैक्षिक सत्र शुरु हुन पच्चिस दिन मात्रै बाँकी हुँदा सम्म पनि पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशकहरुलाई पाठ्यपुस्तक छाप्न आवश्यक सामग्री उपलब्ध गराएको छैन ।

फागुनबाट शैक्षिक सत्र शुरु हुने हिमाली पाँच जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मनाङ् र मुस्ताङ्का लागि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिईदैं आएको छ ।
तर, केन्द्रले अहिले सम्म पनि नेपाली माध्यमका पुस्तकको कभर र अँग्रेजी माध्यमका लागि आवश्यक कम्प्युटर रेडी कपी (सीआरसी) उपलब्ध गराएको छैन । गएको पुस २६ गते नेपाली माध्यमको टेक्स मात्रै दिएर केन्द्रले पाठ्यपुस्तक छाप्न भनेको थियो । दुवै माध्यममा ५– ५ विषयका पाठ्यपुस्तक छाप्नु पर्छ ।

प्राप्त भएको टेक्स अनुसार आफुहरुले छपाईको काम शुरु गरे पनि पुरा सामग्री नपाउँदा छपाई कहिले सकिन्छ भन्न नसकिने पाठ्यपुस्तक अनुगमन समितिका सदस्य समेत रहेका निजी प्रकाशनका प्रतिनिधि दिपक भण्डारीले बताए ।

'छाप्नका लागि सग्लो चिज चाहियो त्यो नै पाएका छैनौं, छाप्ने काम कहिले सकिन्छ भनेर कसरी भनौं ?' उनले प्रश्न गर्दै भने, 'निजीले समयमा छापेन भनेर बदनाम गर्ने मात्रै काम भयो ।'

१२ महिना काम गर्ने गरी जनक शिक्षा सामग्री केन्द्रलाई जिम्मा दिने तर आफूहरुलाई अनेक  प्रकृयाका नाममा झुलाउने गर्दा विद्यार्थी मर्कामा परेको उनको तर्क छ ।

'हामी विगत १० बर्ष देखि पाठ्यपुस्तक छाप्दै आएका छौं, तर हरेक वर्ष उही झमेला भोग्नु पर्ने अवस्था छ' उनले भने 'छाप्ने जिम्मा पाएका सबै प्रकाशकहरुले बाँडेर छपाईको काम तत्काल शुरु गरेका छौं ।'

जनक शिक्षाले मात्रै छाप्दै आएको पाठ्यपुस्तक २०६४ साल देखि निजी प्रकाशनलाई समेत छाप्न दिने निर्णय भएको थियो ।

तर, छाप्नका लागि पुरा सामग्री उपलब्ध गराउने बारेमा केन्द्र अहिले सम्म पनि गम्भिर छैन ।

'खै के कुराले रोकेको हो हामी पनि बताउन नसक्ने अवस्थामा छौं' केन्द्रका एक कर्मचारीले भने, 'हाकिम सावलाई नै सोध्नु पर्ला ।'

केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीसँग यस बारेमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

माघ २० गते भित्र नेपालगञ्जमा पाठ्पुस्तक नपुर्याए कर्णाली क्षेत्रका विद्यार्थीका हातमा फागुन १ भित्र पाठ्यपुस्तक पुग्न नसक्ने निजी प्रकाशकहरुले बताउँदै आएका छन् ।

गत बर्ष सम्म कक्षा १ र दुईको पाठ्यपुस्तक रंगीन भए पनि यस बर्ष कक्षा ५ सम्मकै पाठ्यपुस्तक रंगीन छाप्ने यस अघिनै तय भईसकेको छ । यस बर्ष १७ वटा निजी प्रकाशकलाई पाठ्यपुस्तकको छपाई जिम्मा दिईएको छ ।

पाँच जिल्ला मध्ये कर्णालीका लागि मात्रै २ लाख १५ हजार १ सय ७० थान पाठ्यपुस्तक आवश्यक पर्छ । मनाङ् र मुस्ताङ्मा ८ हजार ४ सय १० थान  पाठ्यपुस्तक चाहन्छि । कर्णालीका ४० हजार ३४ विद्यार्थी छन् भने, मनाङ्मा ३ सय २० र मुस्ताङ्मा १ हजार ३ सय ६२ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विभागसँग तथ्याङ्क छ ।

सरकारी तथ्यांक अनुसार यो वर्ष देशभर कक्षा १ देखि १० सम्म ५५ लाख ३० हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीका लागि ३ करोड ५७ लाख ६७ हजार ७ सय २६ थाप पाठ्य पुस्तक आवश्यक पर्छ ।

निजीले कक्षा १ देखि ५ सम्म १ करोड ६५ लाख २८ हजार ७० थान पाठ्यपुस्तक छपाइ गर्नेे छ भने जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० सम्म १ करोड ९२ लाख ३९ हजार ६ सय ५६ थान पाठ्य पुस्तक छपाइ गर्ने केन्द्रले जनाएको छ ।

यी पाँच जिल्ला बाहेकका अन्य जिल्लामा भने वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू हुन्छ ।

प्रतिक्रिया