Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

परीक्षाको तयारीमा जुटे नगरपालिका

सोमबार, ०७ फागुन २०७४

काठमाडौं ७ फागुन / आधारभूत शिक्षा र परिक्षाको जिम्मेवारी स्थानीय तहअन्तर्गत आएसँगै जिल्लाका नगरपालिका कक्षा ८ को परीक्षाको तयारीमा जुटेका छन् । पहिले जिल्ला शिक्षा कार्यालयले उक्त परीक्षा लिन्थ्यो । अब आधारभूत तहसम्मको विद्यालय र परीक्षा समेत स्थानीय तहले नै हेर्ने संवैधानिक अधिकार छ ।

नगरपालिका अन्तर्गतका शिक्षा शाखालेवार्षिक परीक्षाका लागि आवश्यक तयारी गरिरहेको जनाएका छन् । कीर्तिपुर नगरपालिकालेपरीक्षा तालिकासमेत सार्वजनिक गरिसकेको बताएको छ ।

शिक्षा शाखा प्रमुख दीनानाथ पन्थीले १२ सय ९ परीक्षार्थी यस परीक्षामा सहभागी हुन गइरहेको बताए । उनले भने, ‘एसईई परीक्षा सँगसँगै कक्षा ८ को वार्षिकपरीक्षा सञ्चालन गर्ने कार्यतालिका छ । नगरपालिकाको लोगोसहितको प्रश्नपत्र तयार गर्न आन्तरिक तयारी भइरहेको छ ।’ नगरपालिकाले प्रश्नपत्र र उत्तरपुस्तिका उपलब्ध गराउने र विद्यालय तथा विद्यार्थीबाट प्रशासनिक खर्च उठाउने गरेर शुल्क लिइने पन्थीले जानकारी दिए ।

शिक्षा कार्यालयमार्फत परीक्षा

सञ्चालन हुँदा झैं अहिले पनि विद्यार्थी र नगरपालिका दुवैमाथि खासै आर्थिक भार नपर्ने उनले बताए । परीक्षा केन्द्र उही विद्यालय रहने भएकाले खर्च कम लाग्ने नगरपालिकाको भनाइ छ । परीक्षा सञ्चालनका लागि ४ लाख रुपैयाँ बजेट छुट्याइएको शंखरापुर नगरपालिकाले जनाएको छ । ‘११ वटा सामुदायिक र ८ संस्थागत विद्यालयको परीक्षा सञ्चालन गर्नुपर्ने छ,’ प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडाले भने, ‘४ लाख रुपैयाँ बजेट छुट्याइसकिएको छ । आधारभूत परीक्षा सञ्चालन कार्यविधि–२०७४ पनि पारित भइसकेको छ ।’

प्रश्नपत्र तयार गर्ने जिम्मेवारी पनि दिइसके पनि परीक्षा तालिका सार्वजनिक भएको छैन । परीक्षा केन्द्र नगरपालिकाले नै तोक्नेछ । उत्तरपुस्तिका छाप्ने तयारी भइरहेको छ । तर मुख्य समस्या कर्मचारी अभाव रहेको उनले बताए । त्यहाँबाट ५ सय ८ जना विद्यार्थीले परीक्षा दिनेछन् । तर शिक्षा शाखा एक जना स्रोत व्यक्तिको भरमा छ । नगरपालिकाले विभाग र मन्त्रालयमा कर्मचारी आवश्यकता रहेको जानकारी दिइसकेको छ । कर्मचारी अभावबाटै गुज्रिरहेको अर्को नगरपालिका हो तारकेश्वर ।

कुल ५६ संस्थागत र १५ सामुदायिक विद्यालय नगरपालिका अन्तर्गत रहेको त्यस नगरमा १८ हजार परीक्षार्थी रहेको शिक्षा शाखा प्रमुख बाबुराम काराखेतीले बताए । ‘७० भन्दा बढी आधारभूत तहको विद्यालय हेर्न जम्मा दुईजना कर्मचारी छौं,’ काराखेतीले थपे, ‘नयाँ संरचनामा हामीलाई पठाइयो तर न स्थानीय विकास मन्त्रालय न शिक्षा मन्त्रालयले कुनै तालिम दियो ।’ नयाँ संरचना भएकाले कार्य सञ्चालनमा अन्योल हुनुको साथै पर्याप्त कर्मचारी नभएको उनले गुनासो गरे ।

तारकेश्वरमा एसईईकै मोडेलमा परीक्षा लिइने तयारी छ । ८ वटा परीक्षा केन्द्र तोकिएको उक्त नपामा केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष रनिरीक्षक रहने गरी परीक्षासञ्चालन गर्ने तयारी भइरहेको छ । प्रतिविद्यार्थी सामुदायिकमा २ सय र संस्थागतमा ५ सय उठाइनेछ । ‘करिब ११ लाख रुपैयाँ खर्च लाग्नेछ । ४ लाख अझै अपुग जस्तो देखिएको छ,’ काराखेतीले भने । प्रश्नपत्र पुर्‍याउन र परीक्षा प्रयोजनका लागि यातायातको व्यवस्थाबारे तयारीहुन बाँकी छ ।

कागेश्वरी मनोहरामा ३८ संस्थागत र ११ सामुदायिक विद्यालय नगरपालिकाअन्तर्गत पर्छन् । १५ सय दुई विद्यार्थी यस वर्ष सहभागी हुनेछन् । १० लाख रुपैयाँ खर्च हुने र ४ लाख जति संस्थागत विद्यालयबाटै उठ्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख हेम आचार्यले बताए । उनले भने, ‘एसईई बिहान, यो परीक्षा दिउँसोबाट लिन्छौं । एसईई सँगै परीक्षा सञ्चालन गर्दा खर्च कम हुन्छ ।’ डेढ महिनाअघि नै परीक्षा सञ्चालन कार्यविधितयार भइसकेको उनलेजानकारी दिए ।

कान्तिपुरबाट

प्रतिक्रिया