Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

विद्यार्थीलाई लाम नलगाउन तथा खादा, माला वञ्देजको तयारी

विहीबार, १३ बैशाख २०७५

काठमाडौं - शिक्षाका कुनै पनि कार्यक्रममा विद्यार्थीलाई लाम लगाउन रोक्न तथा त्यस्ता कार्यक्रममा खादा माला वञ्देज गर्न शिक्षा मन्त्रालयले तयारी थालेको छ । भुकम्पको तीन बर्ष पुगेको दिन दाताले बनाईदिएको विद्यालयको उद्घाटन गर्न गोरखा पुगेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले लाममा बसेका विद्यार्थीको हातबाट पुष्प गुच्छा लिदैं गरेको विषय प्रति सामाजिक सञ्जालमा चर्को आलोचना भए पछि मन्त्रालयले उक्त तयारी थालेको हो ।

सामाजिक सञ्जालमा ब्यक्त आलोचना पछि मन्त्रीले उक्त तयारी थाल्न शिक्षा सचिवलाई निर्देशन दिएको उनको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

गोरखाको लुइँटेलमा रहेको अमर ज्योति जनता माध्यमिक विद्यालयमा मन्त्री पोखरेलले लाम लागेका विद्यार्थीको हातबाट पुष्प गुच्छा लिएका थिए ।

उक्त तस्वीर सञ्चार माध्यम र सामाजिक संजालमा विभिन्न कोणवाट भएको टिप्पणी प्रती गम्भिर ध्यानाकर्षण भएको उनको सचिवालयद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।

'हामी कार्यक्रम स्थलमा पुग्दा मन्त्री ज्युको स्वागतका लागी हातमा फुलका गुच्छाहरु लिएर लामबद्ध विद्यार्थी बसिरहेका भेटीए । जुन कुरा आयोजक बाहेक अरु कसैलाई जानकारी थिएन । लामबद्ध विद्यार्थीको मनोविज्ञानमा असर नपार्न र हौसला प्रदान गर्नका लागी विद्यार्थीबाट माननीय मन्त्री ज्यूले फुलका गुच्छा लिनुभयो' उत्तः प्रेस नोटमा भनिएको छ, 'माननीय मन्त्री ज्युले तत्काल शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल र शिक्षा विकास तथा समन्वय इकाई गोरखा जिल्ला प्रमुख दीपेन्द्र सुवेदीलाई कुनै पनि कार्यक्रममा विद्यार्थीलाई परम्परागत शैलीमा लाइनमा राखेर स्वागतका लागी प्रयोग गर्न नमिल्ने र यो संस्कार गलत भएकोले आइन्दा नर्गन/नगराउन निर्देशन गर्नुभयो । साथै काठमाण्डौ फर्के लगतै यस्ता संस्कारहरु सदाका लागी अन्त्य गर्न शिक्षा सचिवलाई फाईल तयार गर्न पनि निर्देशन दिनुभएको छ ।'

यस अघि मन्त्री पोखरेलले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त घटना प्रति घुमाउरो पारामा गल्ति स्विकार गरेका थिए ।

पढ्नुहोस् : शिक्षा मन्त्रीले घुमाउरो पारामा स्विकारे गल्ति

'उक्त प्रसङ्गलाई जे जसरी प्रस्तुत गर्न खोजिएको छ उक्त प्रसङ्ग माननीय मन्त्रीको जिवन व्यवहारसंग कहींकतैं नमिल्ने र यस्ता बिषयमा माननीय मन्त्री सधैं सचेत रहेको कुरा आम जनसमुदायमा स्पष्ट पार्न चाहन्छु' मन्त्रीका सञ्चार सहयोगी सुनिल खड्काद्धारा जारी प्रेस नोटमा भनिएको छ ' २०७२ को महाभुकम्पमा देशले गुमाएका नागरिक प्रती संम्झना गर्दै हिजो माननीय मन्त्री ज्युले माला र खादा पनि नलगाउन निर्देशन दिनुभएको र नयाँ पद्वती निर्माण गर्न अनुरोध गर्नुभएको पनि स्मरण गराउन चाहन्छौं ।'

यो पनि पढ्नुहोस् : सामाजिक सञ्जालमा शिक्षा मन्त्रीको चर्को आलोचना

प्रतिक्रिया