Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

संसदमा अस्थायी शिक्षक परीक्षाबारे चासो, परीक्षाबाटै बञ्चित हुने चिन्ता !

बुधबार, २० असार २०७५

काठमाडौं - अस्थायी शिक्षकका लागि तय भएको परीक्षाको तयारी अन्तिम चरणमा पुग्दै गर्दा संसदमा उक्त परीक्षाबारे चासो ब्यक्त भएको छ । प्रमुख प्रतिपक्षी दलकी सांसद रंगमती शाहीले हिमाली जिल्लाका कतिपय शिक्षकहरु परीक्षाबाटै बञ्चित हुने सम्भावना प्रति चिन्ता ब्यक्त गर्दै परीक्षा केन्द्र थप गर्नु पर्ने माग गरेकी छन् ।  

बुधबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै सांसद शाहीले मौसमका कारण हिमाली जिल्लाहरुबाट नियमित फ्लाईट हुन नसकेकोले कतिपय शिक्षकहरु बञ्चित हुने भन्दै हिमाली जिल्लामा पनि परीक्षा केन्द्रको ब्यवस्था गर्न माग गरेकी हुन् । 

'शिक्षा आयोग खोलिएको छ दुई चरणमा परीक्षा हुँदैछ यसबाट हिमाली जिल्लाका शिक्षकहरु बञ्चित हुने सम्भावना बढेको छ' उनले भनिन्, 'एक त यो मौसमले नियमति फ्लाईट हुन सकेको छैन, त्यसैमा भारतीय पर्यटकहरु कैलास मानसरोवरमा जाँदै गर्दा टिकट नपाईने समस्या र टिकट पाईहाले पनि  न्यून वर्गका परीक्षार्थीहरु यसबाट बञ्चित हुन सक्ने सम्भावना भएको हुनाले हिमाली जिल्लामा शिक्षा आयोगको परीक्षा केन्द्रको ब्यवस्था गरियोस् भन्ने जोडदार माग गर्दछु ।'  

पटक पटक स्थगित हुँदै आएको अस्थायी शिक्षकको परीक्षा यही असार २९ र ३० गते हुँदै छ । पहिलो दिन निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा हुने गरी शिक्षक सेवा आयोगले यस अघि नै तय गरेको छ । 

हिमाली जिल्लाहरुमा कम परीक्षार्थी हुने हुँदा उनीहरुका लागि आवश्यक प्रश्नपत्र, उत्तर पुस्तिका लगायतका अन्य सामग्रीको ढुवानी गर्दा धेरै खर्च लाग्ने तर्क गर्दै आयोगले सुगम क्षेत्रमा केन्द्र निर्धारण गरेको हो । 

'संसदमा कुरा उठेर मात्रै पनि भएन, किन भने यस अघि नै परीक्षा केन्द्र निर्धारण भईसकेका छन्, त्यसका लागि आवश्यक सामग्री पुर्याउने गरी प्याकिङ्को काम अन्तिम चरणमा भईरहेको अवस्था छ, अव त परीक्षाको सबै तयारी लगभग सकिईसकेको छ' आयोगका एक जना कर्मचारीले भने, 'परीक्षाको सम्वेदनशीलता महत्वपूर्ण हुने हुँदा त्यो कायम गर्न पनि ध्यान दिनु जरुरी भएकोले सुगम स्थानमा केन्द्र निर्धारण गरिएको हो ।'

उक्त परीक्षाका लागि पूरानै संरचना अनुसार विकास क्षेत्र अन्र्तगत हुने गरी विभिन्न ५ क्षेत्रमा परीक्षा केन्द्र निर्धारण भईसकेको छ । 

सुदुरपश्चिमको लागि कञ्चनपुर, मध्यपश्चिमको लागि नेपालगञ्ज, पश्चिमाञ्चलका लागि पोखरा, मध्यमाञ्चलका लागि काठमाडौं र पूर्वाञ्चलका लागि झापाको विर्तामोड र चन्द्रगढीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र निर्धारण भईसकेको छ । 

उक्त परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको छ । 

 

प्रतिक्रिया