Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको परीक्षा सफलता पूर्वक सम्पन्न, तीन महिना भित्र नतिजा निकाल्ने लक्ष्य

शनिबार, ३० असार २०७५

भक्तपुर - लामो समय देखि अल्झिएको अस्थायी शिक्षकको परीक्षा सम्पन्न भएको छ । पटक पटक स्थगित हुँदै शुक्रबार र शनिबारका लागि तोकिएको परीक्षा सफलतापूर्वक सम्पन्न भएको शिक्षक सेवा आयोगले जनाएको छ । शुक्रबार निमावि र मावि तहका अस्थायी शिक्षकको परीक्षा भएकोमा शनिबार प्राथमिक तहका शिक्षकको परीक्षा भएको थियो ।

शनिबारको परीक्षामा ९५ प्रतिशत धेरैको सहभागिता रहेको प्रारम्भिक तथ्याङ्क संकलन भएको आयोगका अध्यक्ष ताना गौतमले बताए । १६ हजार धेरै परीक्षार्थीमा साढे १४ हजार धेरै सहभागि भएको उनको भनाई छ ।

परीक्षाका लागि पूरानै संरचना अनुसार विकास क्षेत्र अन्र्तगत हुने गरी तोकिएका विभिन्न ५ क्षेत्रमा ७९ परीक्षा केन्द्रमा शनिबारको परीक्षा भएको थियो । सुदुरपश्चिमका लागि धनगढी, मध्यपश्चिमको लागि नेपालगञ्ज, पश्चिमाञ्चलका लागि पोखरा, मध्यमाञ्चलका काठमाडौं र पूर्वाञ्चलका लागि झापामा परीक्षा केन्द्र निर्धारण गरिएका थिए ।

उल्लेखित विभिन्न पाँच क्षेत्रमा तोकिएका केन्द्रमा जिल्ला स्थित परीक्षा समिति मार्फत् आवश्यक सुरक्षा सहितको प्रवन्ध र आयोगले आफ्ना कर्मचारी मार्फत् ब्यवस्थापकीय कार्य गरेको थियो ।

धेरै खाले शंका, चुनौती र अप्ठ्याराका विचमा परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न हुनुले सफल भएको पुष्टि भएको गौतमले बताए ।  

'धेरै जनाको आआफ्नो तर्क, स्वार्थ र चाहना थिए ती सबैलाई मिलाएर अघि बढ्दै परीक्षा गर्नु आफैंमा चूनौतिपूर्ण त थियो नै' उनले भने 'परीक्षामा भएको सहभागिताले पनि अस्थायी शिक्षकको समस्या सँधैंका लागि अन्त्य हुने दिशामा अघि बढेको छ ।'

उक्त परीक्षाको नतिजा ३ महिना भित्र निकाल्ने लक्ष्य राखिएको गौतमले बताए ।

उक्त परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो । परीक्षामा कति परीक्षार्थी सहभागि भए भन्ने अन्तिम तथ्याङ्क आएपछि मात्रै भन्न सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया