Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षकको कापी परीक्षणको शुल्क बढ्यो, अन्तर्वार्तामा पनि वृद्धि

बुधबार, १९ मंसिर २०७५

भक्तपुर - शिक्षक सेवा आयोगले लिने परीक्षाको कापी परीक्षण र अन्तर्वार्ता लिनेहरुको शुल्क वृद्धि भएको छ । कापी परीक्षण गर्ने र अन्तर्वार्तामा बस्नेहरुलाई उपलब्ध गराईएको रकम निकै कम भएको भन्दै आयोगले शुल्क वृद्धि गर्न अर्थ मन्त्रालयसंग लविङ् गर्दै आएको थियो । गएको मंसिर ९ गते अर्थ मन्त्री युवराज खतिवडाले रकम बढाउने निर्णय गरेका हुन् ।  

आयोगले विषयगत र वस्तुगत तर्फ तह अनुसार प्रति कापी छुट्टा छुट्टै पूर्णाङ्कका लागि छुट्टा छुट्टै रकम उपलब्ध गराउँदै आएको थियो । जस अनुसार माविको २० पूर्णाङ्कका लागि यस अघि दिईदैं आएको १० रुपैंयालाई बढाएर ३० बनाईएको छ भने ५० पूर्णाङ्कका लागि यस अघि दिईदैं आएको २० रुपैंयालाई बढाएरु ६५ पुर्याईएको छ । यस्तै सय पूर्णाङ्कका लागि यस अघि दिईदैं आएको ४० लाई बढाएर ९० पुर्याईएको छ । 

निमावि तर्फ २०, ५० र १०० पूर्णाङ्कका लागि दिईदैं आएको १०, २० र ४० रुपैंयालाई बढाएर माविकै जस्तो क्रमशः ३०, ६५ र ९० रुपैंया बनाईएको छ । 

यस्तै प्रावि तर्फ सोही पूर्णाङ्कका लागि क्रमशः रु. ८, १५ र ३० रहेकोमा बढाएर क्रमशः रु. २०, ३० र ६० बनाईएको छ । 

यसै गरी बस्तुगत तर्फ यस अघिको २५ वटा बराबर रु. ५, ५० वटा बराबर रु. ६ र १०० वटा बराबर रु. ८ लाई यथावत राखिएको छ । 

तर अन्तर्वार्तामा बस्नेहरुले पाउने रकममा भने वृद्धि गरिएको छ । जस अनुसार यस अघि रु. १५ सय पाउने माविको लागि रु. २ हजार, १२ सय पाउने निमाविका लागि १६ सय र एक हजार पाउने प्राविका लागि रु. १२ सय तोकिएको छ । अन्तर्वार्तामा ५ जना बराबर १ समूह निर्धारण गरिएको हुन्छ । 

कापी परीक्षण र अन्तर्वार्तामा बस्नेहरुलाई दिने शुल्कमा भएको बृद्धिले काममा थप प्रभावकारिता ल्याउने आयोगका अध्यक्ष ताना गौतमले दावी गरे । 

'विद्यमान रकम निकै कम भएकोले प्रभावकारी कार्य सम्पादन गर्न असजिलो भएको परीक्षकहरुको गुनासो पनि थियो, त्यसमा संशोधन गर्न आवश्यक भएर हामीले अर्थ मन्त्रालयमा प्रस्ताव गरेका थियौं सोही अनुसार शुल्क वृद्धि भएको हो' उनले भने, 'यसले परीक्षकहरुले जाँगर देखाएर कार्य सम्पादन हुने अपेक्षा गरेका छौं ।'

 

प्रतिक्रिया