Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षा विभागकै नाममा परिपत्र !

आइतबार, २३ मंसिर २०७५

भक्तपुर - निकायको नाम परिवर्तन भएको ५ महिना पछि शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षा विभागकै नाममा परिपत्र गरेको छ । विद्यालयहरुको भौतिक निर्माणको अवस्था अद्यावधिक गरी प्रतिवेदन बुझाउन भन्दै ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई गरिएको परिपत्र शिक्षा विभागकै लेटरहेडमा गरिएको हो । शिक्षा विभाग आर्थिक प्रशासन शाखा मार्फत् गरिएको उक्त परिपत्रमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलकै हस्ताक्षर छ । गएको बुधबार गरिएको उक्त परिपत्रमा कार्यालयको छाप भने केन्द्रकै प्रयोग गरिएको छ । 

संघीयता कार्यान्वयन सँगै चालु आर्थिक बर्षको पहिलो दिनबाट शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव श्रोत विकास केन्द्र बनाईएको थियो । उक्त नाम लामो भएको र याद गर्न गाह्रो भएको तर्क सहित परिवर्तन गर्न भन्दै केन्द्रले प्रकृया शुरु गरेको केही दिनमै पुरानै नाममा परिपत्र गरिएको हो । केन्द्रले हालकोे नाम परिवर्तन गरी संघीय शिक्षा विभाग राख्न आग्रह गर्दै शिक्षा मन्त्रालयमा पत्राचार गरेको छ । 

'यस अघि त फेरिएको नामबाट परिपत्र हुन्थ्यो यस पटक फेरी पहिलेकै निकायको लेटरहेडमा पत्र आयो' एक जना एकाई प्रमुखले भने 'नाम फेर्न प्रकृया शुरु भएको खबर पढेको २ दिन भएको छैन पुरानै नामबाट पो परिपत्र आयो, यसमा केही संयोग पो छ की !'

उक्त परिपत्रमा साविकका जिल्ला शिक्षा कार्यालय तथा हालका एकाईबाट विगत विभिन्न आर्थिक बर्षहरुमा भौतिक पूर्वाधार निर्माणका लागि निकासा भएको रकम मध्ये महालेखा परीक्षक कार्यालयबाट बेरुजु कायम भई हाल सम्म फछ्च्र्यौट हुन बाँकी रहेका विद्यालयको अवस्था अद्यावधिक गर्न निर्देशन गरिएको छ । तीन वटा वर्गमा बाँडेर विवरण अद्यावधिक गर्न भनिएको छ । जसमा भौतिक निर्माणको कार्य पुरा भएको तर कार्य सम्पादन प्रतिवेदन तयार नभएको, आँशिक कार्य भएको र कार्य सम्पादन प्रतिवेदन नबनेको र भौतिक निमार्ण कार्य नहुनाको कारण, रकम आदी विस्तृत विवरण अद्यावधिक गरी केन्द्रमा पठाउन भनिएको छ ।  

प्रतिक्रिया