Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

विहीबार, २७ मंसिर २०७५

काठमाडौं २७ मंसिर / डा. गोविन्द केसीले १५औं अनशनका बेला आफूसँग भएका सहमति पालनाका लागि सरकारको ध्यानाकर्षण गरेका छन्। सरकारले छलछाम गरेर सहमति तोड्ने षड्यन्त्र गरे १६औं पटक अनशन बस्ने चेतावनी उनले दिएका छन्।

‘प्रधानमन्त्री केपी ओलीले सहमति पालना गर्ने भनेका छन्, यसमा आशावादी छौं,’ सिरहाको दक्षिणवर्ती सोठियाइनको विपन्न बस्तीमा स्वास्थ्यसेवा दिइरहेका डा. केसीले नागरिकसँग बुधबार भने, ‘पुस २ गतेसम्मको समयसीमाबारे सरकारलाई पुनः स्मरण गराउन चाहन्छु।’

उनले कुनै पनि बहाना वा ढिलाइ नगरी छिट्टै संसद्बाट चिकित्सा शिक्षा ऐन जारी गर्नसमेत माग गरे। ‘पटकपटक सरकारले सहमति गरेर जनतालाई झुक्याउँदै आएकाले पूर्ण विश्वस्त हुने अवस्था छैन तर सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनेमा आशावादी छौं’, उनले भने। डा. केसीले आफूले जनताका लागि, सिस्टम बसाल्न, प्रजातान्त्रिक मूल्यमान्यता स्थापित गर्न, सामाजिक न्यायका लागि सत्याग्रह गर्दै आएको पनि बताए। ‘१५ चोटि लडें। म सबै दलको सरकारविरुद्घ लडेको छु,’ उनले भने, ‘कांग्रेसको सरकार भएका बेला लडेें, माओवादी, एमाले र माओवादीको संयुक्त सरकार हुँदा पनि लडें।’ जनतालाई रैती ठान्ने, बेथितिलाई मलजल गर्ने, भ्रष्टलाई पोस्नेविरुद्ध सास रहुन्जेल लड्ने उनले बताए। ‘लडेरै प्रजातान्त्रिक मूल्यमान्यता स्थापित गराइन्छ’, उनले भने।

आफूले धेरै काम गरिसकेको भन्दै उनले थपे, ‘अब जनताको काम जनप्रतिनिधि र सरकारबाट पूरा हुनुपर्छ।’ आफ्नो आन्दोलन राजनीतिक नभएर जनताको मुद्दाका लागि भएको उनले बताए। सरकारले सहमति कार्यान्वयन गर्नेमा विश्वस्त हुनुहुन्छ भन्ने जिज्ञासामा डा. केसीले भने, ‘सहमति कार्यान्वयन भएन, छलछाम भयो भने म १६औं सत्याग्रह सुरु गर्न पछि हट्दिनँ तर मलाई सरकारसँग विश्वास छ, सहमति कार्यान्वयन हुनेछ।’ यसअघि साउन ११ गते सरकार र डा. केसीबीच नौबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

केसी र सरकारबीच हाल सञ्चालनमा रहेका विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, चिकित्सा शिक्षामा पोस्ट ग्राजुएट (पिजी) निःशुल्क गर्ने, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा एमबिबिएस पठनपाठन सुरु गर्ने, चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठह-याएका पदाधिकारीलाई सिफारिसबमोजिम दुई महिनाभित्र कारबाही गर्ने, चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड निर्धारणका लागि ऐन परिमार्जन गर्नेलगायतको सहमति भएको थियो।

विपन्न बस्तीमा २० घण्टा
लहानबाट १४ किमि दक्षिण सोठियाइन गाउँको पोखरी डिलमा रहेको साँघुरो कोठामा डा. गोविन्द केसीले यस भेगका झन्डै तीन सय बिरामीको उपचार गरे। उनले उक्त कोठामा २० घण्टा बिताए। यो सबै समय उनले विभिन्न समस्याबाट पीडित बिरामीको उपचारमा खर्च गरे।

उनी यहाँबाट बुधबार दिउँसो फर्केका छन्। उनले सोमबार दिउँसोबाट यस भेगका बिरामीलाई स्वास्थ्य सेवा दिएका थिए। शीतलहरको सिरेटाको पनि बेवास्ता गर्दै डा. केसी उपचारमा जुटेका थिए।

यस भेगका धेरैले उनलाई यसअघि चिनेका थिएनन्। ‘सबैको राम्रो उपचार होस् भनेर आफ्नो ज्यान दाउमा लगाउने डाक्टर यिनै पो रहेछन्,’ डा. केसीलाई देखेपछि शिक्षक रामदयाल यादवले सुनाए, ‘डाक्टरको भेषमा उनी भगवान् हुन् कि भगवानको भेषमा डाक्टर, थाहा छैन।’ सरकारभन्दा अगाडि ग्रामीण जनताको दुःखमा मलम लगाउन डा. केसी आएको उनले टिप्पणी गरे।

शिविरको संयोजन गरेका वडाध्यक्ष बिल्टु यादवले डा. केसीलाई निस्स्वार्थ र मानवतावादी चिकित्सकका रुपमा पाएको बताए। ‘डा. केसीका लागि दुःखीको सेवा नै प्रमुख प्राथमिकता रहेको पाएँ,’ उनले भने, ‘उहाँको जीवनशैली र सेवाभावलाई जति बुझ्यो उति बुझ्न मन लाग्छ।’

स्थानीय स्वास्थ्यचौकी प्रमुख कल्पना यादवले भनिन्, ‘बिरामीको उपचारमा यति गम्भीर डाक्टर पनि यो देशमा रहेछन्। बिरामीसँगको व्यवहार, उपचार गर्ने शैली हामी सहयोगीसँगको समन्वय सबै उच्च कोटिको पाएँ।’

सखुवानन्कारकट्टी–२ का वडाध्यक्ष बिल्टु यादवले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्न खोज्दा डा. केसीले अस्वीकार गरे। दुःखमा हामी नेपाली सँगै छौं भन्ने सन्देश दिन पनि आफू मधेसको दुर्गम बस्ीतमा आएको डा. केसीले सुनाए। उनले भने, ‘यहाँ आएका बेला केही न्यानो कम्बल बाँड्न, बिरामीको उपचार गर्न र भएका औषधि पनि दिन मन लाग्यो। मैले कुनै ठूलो काम गरेको छैन, तपाईंहरुले तीन दिनसम्म सहयोग गरिदिएर मैले यहाँका जनताको सेवा गर्न पाएँ। हजुरहरुलाई धेरै धन्यवाद। मेरा लागि जनताको सेवा गर्न पाउनुभन्दा ठूलो सम्मान र खुसी अरु केहि होइन।’ यसपछि उनी टेम्पो चढेर बिदा भए। उनले तीन दिनदेखि लहानबाट सोठियाइन टेम्पोमै जानेआउने गरेका थिए।

नागरिकमा मिथिलेश यादवले लेखेका छन् ।  

प्रतिक्रिया