Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

तीन शिक्षक बिरुद्ध मुद्धा, भ्रष्टाचार र नक्कली प्रमाणपत्रको अभियोग

विहीबार, २७ मंसिर २०७५

काठमाडौं - भ्रष्टाचार र नक्कली प्रमाणपत्रको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही र नवलपरासीका तीन शिक्षक विरुद्ध छुट्टा छुट्टै मुद्धा दायर गरेको छ । 

रुपन्देहीको श्री जोगडा माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक जैस मुहम्मदले बिदाको विवरण सच्याएर भ्रष्टाचार गरेको तथा सोही विद्यालयका प्रधानाध्यापक निजामुद्दिन खाँले विद्यालयमा आवश्यक विज्ञान सामग्री खरिद गर्नको लागि निकासा भएको रकम हिनामिना गरेको अख्तियारको दावी छ । 

'पूर्व प्रधानाध्यापक मुहम्मदले सेवाबाट अवकाश हुँदा सरकारी रकम लिनेखाने बदनियतले आफूखुसी बिरामी बिदा ३३१ दिन बनाई अनाधिकार एवं गैरकानूनी तरिकाले सरकारी कागजको व्यहोरा सच्याई दुई लाख सैतीस हजार नौ सय सत्र रुपैंया भुक्तानी लिएको सप्रमाण पुष्टि हुन आएको' अख्तियारको दावी छ  । 

सोही विद्यालयका प्रधानाध्यापक खाँले 'विद्यालयमा विज्ञान सामग्री खरिद गर्नको लागि निकासा भएको रकमबाट विज्ञान सामग्री खरिद गरेकोमा खरिद गरेको सामग्री मध्ये दुई लाख एकाउन्न हजार छ सय सतसठ्ठी रुपैयाँ चौंतीस पैसा बराबरको सामग्री विद्यालयमा दाखिला नगरी सरकारलाई हानि नोक्सानी पुर्याएको' अख्तियारको दावी छ ।  

यस्तै नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको श्री राधाकृष्ण निम्न माध्यमिक विद्यालयका तत्कालीन शिक्षक सुरेन्द्र कुमार कहारको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।

कहारले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको हाईस्कूल तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको दावी सहित अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् । 

 

प्रतिक्रिया