Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

उप प्रधानमन्त्री पनि सत्याग्रही केसीकै पक्षमा, आन्दोलन जायज रहेको टीप्पणी

बुधबार, ०९ माघ २०७५

काठमाडौं - उप प्रधानमन्त्री उपेन्द्र यादवले चिकित्सा शिक्षाका बेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा. गोविन्द केसीका पक्षमा मुख खोलेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादवले बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा राज्यले केसीका माग पुरा गर्नु पर्ने बताउँदै केसीलाई सहयोग गर्ने संकेत दिएका हुन् ।  

इलामबाट शुरु केसीको १६ औं सत्याग्रहको १५ औं दिनमा यादवको टीप्पणी सार्वजनिक भएको हो । सरकारले गरेको सहमति इमानदारीसाथ कार्यान्वयन गर्नु पर्ने उनले बताए ।  

'म आफैं आन्दोलन गरेर आएको मान्छे, के ठेगान भोली फेरी आन्दोलनमै जानु पर्छ की, त्यसैले यस बारेमा मैले धेरै कमेण्ट गरिन' यादवले भने 'राज्यले गरेको सम्झौता ईमान्दारीताका साथ कार्यान्वयन गर्नु पर्छ ।' 

यो संगै उनले गुणस्तरीय चिकित्सा शिक्षाका सवालमा सरकारले ध्यान दिने पनि बताए । 

संघीय संसदमा पुगेको चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा पक्ष प्रतिपक्ष बीच तनाव बढिरहेका बेला सत्ता साझेदार घटक संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवको उक्त धारणालाई अर्थपूर्ण रुपमा लिईएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केसीका माग नागरिकका पक्षमा भएको भन्दै यस अघि देखि नै उनको समर्थन गर्दै आएको छ । संसदीय समितिले बुहमतका आधारमा पास गरेको प्रतिवेदन केसीसँग यस अघि सरकारले गरेको सम्झौता विपरित भन्दै काँग्रेसको विरोध छ ।  

आफ्ना नेताका नाममा खुलेका अस्पताल बन्द गर्ने सरकारको निर्णय विरुद्ध उत्रिएको काँग्रेसले मंगलबारको संसद बैठकमा अवरोध गर्दा गर्दै पनि सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई उक्त विधेयक पेश गर्न समय दिए पछि संसदमा धकेलाधकेल नै भएको थियो । 

पढ्नुहोस् : धकेलाधकेल गर्दै शिक्षा मन्त्री !

 

प्रतिक्रिया