Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

३ मध्ये पहिलो मेडिकल कलेज सञ्चालनका लागि कार्य प्रारम्भ

शुक्रबार, ०८ चैत्र २०७५

रुपन्देही - संघीय सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत् निर्माणको घोषणा गरेको ३ मध्ये पहिलो मेडिकल कलेज सञ्चालनका लागि कार्य प्रारम्भ भएको छ । 

तिलोत्तमा नगरपालिका स्थित शंकरनगर र करिहया सामुदायिक वनको जग्गामा स्थापना हुने बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण विकास आयोजना कार्यालय स्थापना भएसँगै उक्त कार्य प्रारम्भ भएको हो ।

कलेज निर्माण अघि गर्नु पर्ने पूर्वाधार निर्माणको कामका लागि स्थापना गरिएको  कार्यालयको प्रधानमन्त्री केपी ओलीले शुक्रबार उद्घाटन गरेका छन् । कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी मेडिकल कलेज ठूलो आयोजना भएकोले सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेको बताए । 

कार्यक्रममा नेकपाका महासचिव समेत रहेका विष्णु पौडेलले आफू अर्थमन्त्री रहेकै बेला सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेकोमा बल्ल काम शुरु भएको भनदे जस लिने प्रयास गरे । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मेडिकल कलेजका लागि आवश्यक २ सय बिघा जग्गाको व्यवस्था प्रबन्ध भइसकेको जानकारी दिए । 

कार्यालयमा प्रमुख सहित उपसचिव, शाखा अधिकृत, इञ्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगी सहित सात जना कर्मचारीको दरबन्दी तय भईसकेको छ । कार्यालय स्थापना भए पनि कानुनी र ईआईए, गुरुयोजना निर्माण, जग्गा प्राप्ति लगायतका कार्यको प्रकृया बाँकी नै भएकाले तत्काल केन्द्रबाटै काम हुने शिक्षा मन्त्रालयका उपसचिव मानबहादुर घिमिरेले बताए । 

उक्त कलेज शिक्षा मन्त्रालय अन्र्तगत त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुनेछ । 

संघीय सरकारले चालु आर्थिक वर्षको वजेटमा तिलोत्तमा, महोत्तरीको बर्दिबास र सुर्खेतमा गरी तीनवटा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो । यसका लागि एकमुष्ट ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । तीन सय शैयाको अस्पताल बनाएर तीन वर्षसम्म संचालन गरे पछि कलेजले एमबीबीएस तहका विद्यार्थी भर्ना गर्न पाउने सरकारले ब्यवस्था गरेको छ ।

 

प्रतिक्रिया