Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

किस्ट मेडिकल कलेजका विद्यार्थी ठगिएको छानबिन टोलीको ठहर

सोमबार, ११ चैत्र २०७५

काठमाडौं ११ चैत / किस्ट मेडिकल कलेजले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीबाट अवैध शुल्क उठाएको सरकारी छानबिन टोलीले ठहर गरेको छ । बढी लिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न र कलेज सञ्चालकलाई कारबाही गर्न टोलीले सरकारलाई सिफारिस गरेको छ । कलेजले अवैध शुल्क उठाएको र त्यसको विरोध गर्ने विद्यार्थीलाई आन्तरिक परीक्षामा फेल गरिएको समाचार नयाँ पत्रिकाले प्रकाशित गरेपछि प्रधानमन्त्री केपी ओलीले गम्भीर चासो व्यक्त गरेका थिए । उनकै निर्देशनअनुसार शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालको संयोजकत्वमा सतर्कता केन्द्रको समेत प्रतिनिधित्व रहेको चार सदस्यीय छानबिन टोली गठन गरिएको थियो । 

कलेजले विद्यार्थीबाट अवैध शुल्क उठाउनुका साथै उत्तरपुस्तिका जाँचमा पनि चरम लापरबाही गरेको प्रतिवेदन टोलीले प्रधानमन्त्रीलाई बुझाएको छ । छानबिन समितिका एक सदस्यका अनुसार कलेज सञ्चालकले तोकिएभन्दा बढी शुल्क लिएको स्वीकार गरेका छन् । विश्वविद्यालय, परीक्षा, रजिस्ट्रेसन, काउन्सिल शुल्कलगायत नाममा बढी रकम उठाइएको छ । प्रतिवेदनमा अवैध शुल्क लिने कलेजलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरिएको छ । 

छानबिन टोलीले कलेजसँग आन्तरिक परीक्षाको उत्तरपुस्तिका र कागजात मागेको थियो । एउटा सेमेस्टरमा ९० विद्यार्थीको सिट भएपनि कलेजले करिब तीन दर्जन उत्तरपुस्तिका मात्र उपलब्ध गराएको थियो । छानबिन टोलीका एक सदस्यले ४१ विद्यार्थी फेल भएको पाइएको बताए । ‘ठूलो संख्यामा उत्तरपुस्तिका नदिएको र उपलब्ध गराइएका उत्तरपुस्तिकासमेत भद्रगोल छन्,’ ती सदस्यले भने, ‘उत्तरपुस्तिकामा परीक्षकको हस्ताक्षर छैन, एउटै ब्याचका उत्तरपुस्तिका पनि फरक–फरक किसिमका छन्, अस्वाभाविक देखिन्छ ।’ 

उपलब्ध गराइएका उत्तरपुस्तिकामा दिइएको प्राप्तांक ठीक हो–होइन भन्ने यकिन गर्न विज्ञहरूबाट थप छानबिन गर्न टोलीको सिफारिस छ । आन्तरिक परीक्षाको कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्नुपर्ने र कडाइका साथ अनुगमन गरिनुपर्ने सिफारिस सरकारी टोलीले गरेको छ । 

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया