Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

शिक्षक अभाव टार्न अपनाईएको उपाय नै अलपत्र

शुक्रबार, ०५ कार्तिक २०७३

काठमाडौं / ‘५० इञ्चको टेलिभिजन, ल्यापटप, डेस्कटप कम्प्युटर, प्रोजेक्टर, एडप्टर, इन्टरनेट डिभाइस, क्यामरालगायतका उपकरण विद्यालयमा छन्’ दोलखाको भीम माविका प्रधानाध्यापक रामबहादुर बुढाथोकीले भने, ‘तर ती सामानहरु जे प्रयोजनका लागि जडान गरिएको हो त्यो काम भएन, टुलुटुलु हेरिरहेका मात्रै छौं ।’

विद्यालयहरुले भोगिरहेको विषयगत शिक्षक अभाव टार्न सरकारले यसै शैक्षिक सत्रदेखि प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम अर्थात् 'भर्चुअल कक्षा' शुरु गर्न लागेको थियो । भक्तपुरको सानोठिमी स्थित शैक्षिक जनशक्ति विकास केन्द्र (एनसिइडी) को स्टुडियोबाट शिक्षकले गर्ने पठन पाठन सम्बन्धित विद्यालयका कक्षा कोठामा प्रविधिका माध्यामबाट पुर्याउने गरी उक्त कक्षा सञ्चालन गर्ने योजना बनाईएको हो । तर, शैक्षिक सत्रको आधा समय गुज्रिसक्दा पनि त्यो कार्यक्रम शुरु भएको छैन । त्यसैले बुढाथोकी हेडसर ती कक्षाका लागि भनेर जोडिएका सामाग्री टुलुटुलु हेर्न बाध्य छन् ।

यो टुलुटुलु हेराईमा बुढाथेकी हेडसर त एक प्रतिनिधि पत्रा हुन् । उनी जस्तै देशका ११ जिल्लाका एकसय विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावक भित्तामा टाँसिएका यीनै प्राजेक्टर हेरेर दिन विताईरहेका छन् ।

'भर्चुअल कक्षा' सञ्चालनको प्राविधिक काम गर्ने जिम्मा केन्द्रलाई दिईएको छ ।  सूचना तथा सञ्चारको युग भनेर चिनिएको अहिलेको समयमा प्रविधिको उपयोग गरी शिक्षण क्रियाकलाप गर्ने सोचले एनसिइडीले 'भर्चुअल कक्षा'को अवधारणा ल्याए पनि एनसिइडीकै कारण त्यसमा ढिलाइ भइरहेको बुढाथोकीले बताए ।

‘एनसिइडीले जेठबाट साउनमा कक्षा सञ्चालन गर्ने भनेका थिए । तर, अहिलेसम्म भएको छैन’ उनले भने । भर्चुअल कक्षाको लागि केन्द्रले जुन तदारुकता देखाउनुपर्ने हो त्यो नदेखाएको सरोकारवालाहरुको गुनासो छ ।

विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्न आवश्यक सबै सामग्री जडान भइसकेको पनि तीन महिना भइसकेको छ । तीन महिनाअघि नै सबै जडान भइसकेको उक्त सामग्रीको प्रयोग गर्न नपाउँदा टुलुटुलु हेर्नुको विकल्प आफूहरुसँग नभएको सम्बन्धित विद्यालयका प्रअहरुको भनाइ छ ।

‘निक्कै उत्साहित भएर हामीले प्राजेक्टर राखेका थियौं, त्यही अनुसार विद्यार्थीलाई बताएका पनि थियौं, तर अहिलेसम्म पनि त्यसको सुरुवात हुन सकेको छैन ।’ प्रअ बुढाथोकीले फेरि भने ।

एनसिइडीको उक्त कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा नआउनुको कारणबारे आफू अनविज्ञ रहेको उनी बताउँछन । ‘कहिलेदेखि प्राजेक्टरबाट कक्षा सुरु हुने हो, थाहा छैन, विद्यार्थी, शिक्षकले र अभिभावक सम्मले सोध्न थालिसके ।’

सरकार परिवर्तन पछि भएको कर्मचारीको सरुवाका कारण पनि कामले गति लिन नसकेको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक सूर्य गौतमको परीक्षा बोर्डका सदस्य सचिवमा सरुवा भएपछि विभागकी निर्देशक देवकुमारी गुरागाईलाई केन्द्रको कार्यकारी निर्देशकमा सरुवा गरिएको छ । 

'हामीकहाँ सिष्टमले कहाँ काम गर्छ र ! त्यसमाथि सरकारी अड्डा त ब्यक्ति कै पर्खाईमा बस्छन्' उक्त श्रोतले भन्यो, 'एउटा मोसनमा काम भईरहेको थियो, सरुवाले त्यसमा ब्रेक लगायो ।' 

उक्त विधिबाट पठनपाठन गराउने अवधारणा सफल बनाउन छनोटमा परेका विद्यालयहरुमा सबै उपकरण पुगिसकेको र जडान पनि सकिसकेको केन्द्रका उपनिर्देशक एवं सूचना अधिकारी बोधकुमार खनालले बताए । ‘सबै सामग्रीहरु विद्यालयमा पुगेर जडान समेत भइसकेको जानकारी आइसकेको छ ।’ उनले भने ।

केन्द्रका अनुसार स्मार्ट बोर्ड प्रविधि मार्फत भर्चुअल कक्षा सञ्चालन गर्ने सबै विद्यालयहरु भूकम्पबाट प्रभावित जिल्लाका हुन् । भूकम्प प्रभावित जिल्लाहरुमध्ये यो वर्ष काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, सिन्धुली, दोलखा, रसुवा र ओखलढुंगामा सो प्रविधिबाट पठनपाठन गर्न लागेको हो । तर सो विधिबाट भने पठनपाठन हुन सकेको छैन । त्यसका लागि केन्द्रले गर्नुपर्ने सम्पूर्ण तयारी अझै पनि नसकिएको केन्द्रको श्रोतले जनाएको छ ।

‘अब बजेट आइसकेको छ, अब क्रमशः शिक्षक छनोट गर्ने, योजना बनाउने, स्क्रिप्ट लेख्ने र कक्षाको रिहर्सलको काम हुन्छ ।’ उपनिर्देशक खनालले भने । केन्द्रले सिन्धुपाल्चोकका १२, गोरखाका १०, सिन्धुलीका १०, मकवानपुरका ९, रामेछापका ८, ओखलढुंगाका ७, दोलखाका ८, नुवाकोटका १०, धादिङका ११, काभ्रेपलाञ्चोकका १३ र रसुवाका २ विद्यालय छनोटमा परेको जनाएको छ ।

उक्त प्रविधि मार्फत कक्षा सञ्चालनका लागि केन्द्रले एक सय विद्यालयका १/१ जना शिक्षकलाई तालिम पनि दिइसकेको छ ।

केन्द्रको सानोठिमीस्थित कार्यालयमै ‘भर्चुअल लर्निङ स्टुडियो’ पनि बनिसकेको छ । काभ्रे, धनुषा र तनहुँका शैक्षिक तालिम केन्द्रमा पनि ल्याब बनाइएको छ । विद्यालय–विद्यालयमा भर्चुअल सेण्टर बनिसकेको छ  । तर कहिलेबाट केन्द्रको स्टुडियोबाट विद्यालयको सेण्टरसम्म कक्षा पुग्ने हो ? त्यसको भने अझै टुंगो लाग्न सकेको छैन ।

तर केन्द्रको सामग्री विकास शाखाका अधिकृत एवं उपनिर्देशक उपेन्द्र दाहालले भने मंसिरसम्ममा विद्यालयका प्राजेक्टरहरुमा केन्द्रले प्रशारण गरिसक्ने गरी काम भइरहेको जनाए ।

‘मंसिर नकटाइकन वा मंसिर छुवाएरै हामी प्रशारण गर्ने योजनामा छौं ।’ उनले भने ।

प्रतिक्रिया