Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

उपकुलपति अझै छानिएन

विहीबार, ०६ माघ २०७३

काठमाडौं ६ माघ/ काठमाडौं विश्वविद्यालय (केयू) उपकुलपतिविहीन भएको बुधबार ३८ दिन भयो । उपकुलपति सिफारिस समितिले विश्वविद्यालय ऐनविपरीत पाँच जनाको नाम सिफारिस गरेको पनि दुई साता भइसक्यो । यति लामो समयसम्म केयू कहिल्यै उपकुलपतिविहीन भएको थिएन । रामकण्ठ माकाजुको चारवर्षे कार्यकाल मंसिर २६ मा सकिनुअघि नै नयाँ व्यक्तिलाई उपकुलपति नियुक्त गरिसक्नुपथ्र्यो । लामो समय उपकुलपति पद रिक्त रहनुमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले आफू अनुकूल व्यक्ति छनोट गर्न नसक्नु प्रमुख कारण रहेको केयूका पदाधिकारीहरू बताउँछन् ।

‘नियुक्तिमा जति धेरै ढिलाइ भयो, त्यति धेरै चलखेल हुन्छ । यो हामीले देखिरहेका छौं । नेतृत्वविहीन हुनु विश्वविद्यालयका लागि राम्रो होइन,’ विश्वविद्यालयको परीक्षामा अख्तियारको हस्तक्षेप हुँदा पनि तत्कालीन कुलपति माकाजु मौन रहेपछि सिनेट सदस्यबाट राजीनामा दिएका केदारभक्त माथेमाले भने, ‘राम्रो व्यक्ति छनोट गर्न ढिलाइ भएको हो भने त ठीकै छ । चलखेलका लागि हो भने नराम्रो प्रक्रियाको सुरुवात हो ।’
उपकुलपति चयन गर्न विश्वविद्यालयको ७६औं बैठकले शिक्षामन्त्री धनीराम पौडेल, सिनेट सदस्य सुरेशराज शर्मा र दमननाथ ढुंगानालाई जिम्मेवारी तोकेको थियो । समितिका तीन जनाबीच कसलाई सिफारिस गर्ने भन्ने विवाद भएपछि भागबन्डाका आधारमा पाँच जना सिफारिस गरिएको थियो । भद्रमान तुलाधर, भोला थापा, मनप्रसाद वाग्ले, माकाजु र जर्नादन लामिछाने सिफारिसमा परेका थिए । विश्वविद्यालय ऐनको दफा १४ मा उपकुलपतिका लागि एक जना मात्रै नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, मन्त्री पौडेलले आफ्नो पार्टी समर्थित प्राध्यापक लामिछानेको नाम जसरी पनि राख्नुपर्ने अडान राखेपछि शर्मा र ढुंगानाले पनि चाहेका व्यक्तिहरू थपे । उपकुलपति विश्वविद्यालयको ‘लिडर’ भएकाले आफ्नाभन्दा पनि ‘भिजन’ भएका योग्य व्यक्ति छनोट गर्नुपर्ने माथेमा बताउँछन् । उनले भने, ‘लिडरमा भिजन हुन्छ । त्यही अनुसार डोर्‍याएर लैजान्छ ।’
विश्वविद्यालयको ‘कोर’ पदाधिकारी (डिन, परीक्षा नियन्त्रक, निर्देशक, प्रशासन प्रमुख) ले उपकुलपति नियुक्तमा अन्तर्राष्ट्रिय प्रचलन, पद्धति, प्रक्रिया र मापदण्डबारे किटान गर्न सभाको बैठक बोलाउन माग गर्दै कुलपतिलाई पत्र लेखिसकेका छन् । कोर पदाधिकारीहरूले प्रधानमन्त्रीले आफूहरूको भनाइलाई बेवास्ता गरेको भन्दै अदालत जाने रणनीतिसमेत बनाएका छन् । उनीहरूले विश्वविद्यालयका वरिष्ठ, इमानदार, निष्ठावान् र सबैलाई काम लगाउन सक्ने व्यक्ति नियुक्त गर्न माग गरेका छन् । ‘केयूको ऐनमा व्यवस्था नभएको र प्रचलनमा नआएको एक जनाको नियुक्ति गर्न पाँच जनाको नाम सिफारिस गरेको विषयलाई आधार मानेर अदालत गुहार्ने विचार गरेका छौं,’ एक डिनले भने । शर्मा र ढुंगानाले मकाजुलाई नै उपकुलपति बनाउन प्रधानमन्त्रीलाई दबाब दिइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । कार्यवाहक उपकुलपति थापाले बालकुमारीस्थित स्कुल अफ म्यानेजमेन्टबाटै दैनिक प्रशासकीय कामकाज गर्दै आएका छन् । विश्वविद्यालयमा उपकुलपति नियुक्ति नहुँदा दैनिक कामसमेत कामकाज प्रभावित भएको प्राध्यापकहरू बताउँछन् । राजनीतिज्ञहरूलाई उपकुलपति छनोट प्रक्रियामा सहभागी गराउँदा समस्या हुने गरेको माथेमाले बताए ।

मकर श्रेष्ठले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया