Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

पेन्सन पट्टा बनाउन जाँदा शिक्षक तिर्छन् जरिवाना !

विहीबार, ०६ माघ २०७३

काठमाडौं - पेन्सन पट्टा बनाउन विद्यालय शिक्षक किताबखाना आएका बाँकेका शिक्षक राम सनही यादव जरिवाना तिर्नु पर्दा नराम्रोसंग झस्के ! उमेर हदका कारण सेवा अवधि सकिएर कागजात मिलाउन किताबखाना आएका यादवले १ हजार २ रुपैंया तिरेपछि बल्ल पेन्सन पट्टा बनाउने प्रकृया शुरु भयो ।

बाँकेको गनापुर स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक यादवले एक दिन धेरै सेवामा विताएकोले उक्त जरिवाना तिर्नु परेको हो । सञ्चयकोष, भत्ता लगायतको रकम बराबर एक दिनको १ हजार १२ रुपैंया हुनेमा १ प्रतिशत कर कटाएर उक्त रकम जरिवाना तिरे पछि बल्ल किताबखानाले उनको पेन्सन पट्टा बनाउने प्रकृया शुरु गरेको हो ।

अवधि सकिईसक्दा पनि सेवामै रहेर राज्यलाई भार पुर्याईरहेका शिक्षकको संख्या घट्न नसकेको भन्दै सम्बाददातासँग चिन्ता ब्यक्त गरिरहेका बेला किताबखानाका महानिर्देशक शेरवहादुर ढुङ्गानाका अघिल्तिर यादवको फाईल आईपुगेको थियो ।

'ल हेर्नुस् त शिक्षक जस्तो सामाजिक प्रतिष्ठामा रहने ब्यक्तिको यस्तो कृयाकलाप ?' शिक्षकको गैह्र जिम्मेवार कृयाकलापबाट दिक्क भएको बताउँदै उनले भने, 'राज्यलाई भार पुर्याईरहेका यस्ता शिक्षकको संख्या घटाउने विषय चुनौतीपूर्ण बन्यो ।'

पुष महिनामा मात्रै यस्ता शिक्षकबाट ४९ लाख १५ हजार ८ सय १४ रुपैंया असुल गरेको उनले बताए । यी मध्ये सबै भन्दा धेरै सिरहाको ईनर्वा, स्थित प्रा.वि जमुवाटोलका शिक्षक जिवक्ष प्रसाद यादवबाट ७ लाख ११ हजार ३ सय ६१ रुपैंया असुल गरिएको छ । यसैगरी सबैभन्दा कम जनकल्याण मावि ईलामका तारावीर काफ्लेबाट ७ सय ८३ रुपैंया असुल गरेको उनले बताए । 'यो तथ्याङ्कमा बाँकेका यादव सरको चाँही छैन है' उनले सम्झाए ।

चालु आर्थिक बर्षको ६ महिनामा मात्रै ९७ जना यस्ता शिक्षकबाट किताबखानाले २ करोड १ लाख ६१ हजार २ सय ९६ रुपैंया असुल गरेको छ ।

सामाजिक मर्यादा बढ्ने तथा पदले दिने अवसरको फाईदा उठाउने लोभले कतिपय शिक्षकहरु उमेर कटिसक्दा पनि जागिरमै बसिरहेको फेला परेको छ । आफ्नो सेवा अवधि सकिईसक्दा पनि ढाँटेर तलब खाने शिक्षकका बारेमा विद्यालय निरिक्षकको अनुगमन समेत फितलो देखिएको छ ।

यस्ता शिक्षकबाट आर्थिक बर्ष २०७०/७१ मा २ करोड ४९ लाख ४९ हजार २ सय ५७ रुपैंया असुल गरिएको थियो । आर्थिक बर्ष २०७१/७२ मा १ सय ५१ शिक्षकबाट २ करोड ६२ लाख ४१ हजार ८ सय ५८ र बर्ष २०७२/७३ मा १ सय ३२ शिक्षकबाट २ करोड २० लाख १६ हजार ६ सय ४९ रुपैंया असुल गरेको कितावखानाले जनाएको छ ।

सबै जिशिअले लिखित प्रतिवद्धता जनाउनु पर्ने

अवधि सकिईसक्दा पनि सेवामै रहेर राज्यलाई भार पुर्याईरहने शिक्षकको संख्या घट्न नसकेपछि अवधि सकिएका शिक्षकको विवरण अद्यावधिक गर्न शिक्षा मन्त्रालयले सबै जिल्ला शिक्षा अधिकारीबाट लिखित प्रतिवद्धता लिन शुरु गरेको छ । विगत वर्षहरुमा जस्तै यस बर्ष पनि जिल्ला अनुगमनका खटिएका मन्त्रालयका सहसचिवहरुलाई यस बारेमा  जिशिअको लिखित प्रतिवद्धता लिन मन्त्रालयले निर्देशन दिएको हो ।

गत मंसिर २२ गते मन्त्रालयले १९ जना सहसचिवलाई प्रदेश अनुसार विभिन्न जिल्ला अनुगमनमा खटाएको छ । जिल्लाको समग्र शैक्षिक अवस्थाका बारेमा हुने अनुगमनमा यो बुँदा पनि समेटिएको हो ।
गएको महिनामा सेवा निवृत्त भएका र चालु महिनामा हुने शिक्षकको संख्या अद्यावधिक गर्ने छु भनि जिशिअले लिखित प्रतिवद्धता जनाउनु पर्ने छ । उक्त प्रतिवद्धता अनुसार हरेक महिनाको १ गते शिक्षा विभाग, मन्त्रालय र किताबखानामा जिशिअले अनिवार्य रुपमा प्रतिवेदन बुझाउनु पर्ने छ । अहिले सम्म सिन्धुपाल्चोक, संखुवसभा र धनकुटाबाट जिशिअको लिखित प्रतिवद्धता प्राप्त भएको ढुङ्गानाले बताए ।

शिक्षा नियामावली २०५९ को नीयम ११७ मा उमेर हदका कारण सेवा निवृत्त हुने शिक्षकले नौ महिना अघिनै सेवारत विद्यालयमा जानकारी दिनु पर्ने ब्यवस्था छ । किताबखानाले ६ महिना अघिनै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निबृत्त हुने शिक्षकको विवरण पठाउँछ ।

तर जिशिकाको हेलचेक्र्याईले निवृत्तहुने शिक्षकहरुको तथ्याङ्क अद्यावधिक नहुने फेला परे पछि किताबखानाका महानिर्देशक ढुङ्गानाले अनुगमनका क्रममा त्यस्ता शिक्षककको समस्या पनि हेर्न आग्रह गरेपछि मन्त्रालयले सहसचिवहरुलाई निर्देशन दिएको हो ।

शिक्षा कार्यालय मातहतका निकायको अलावा कतिपय शिक्षकहरुको जन्म मितिमा देखिएको फरकले पनि यस्तो समस्या आएको ढुङ्गाना बताउँछन् । जन्म मिति फरक परेमा परीक्षा नियन्त्रण कार्यालयबाट लगत भिडाएर प्राप्त मिति मध्ये पहिलोलाई आधार बनाउने गरिएको उनले बताए । त्यसैले आफूले जागिर खाँदा भरेको १३ पाने विवरण अर्थात् सिटरोल भर्दा लेखिएको मिति र शैक्षिक प्रमाणपत्रमा भएको जन्म मिति समयमै रुजु गर्न उनले शिक्षकहरुलाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया