Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

जनक शिक्षाको ऋण १ अर्ब ७२ करोड

आइतबार, १५ फागुन २०७३

काठमाडौं १५ फागुन/ पछिल्लो दुई दशकदेखि राजनैतिक भर्तीकेन्द्र र फितलो व्यवस्थापनको चपेटामा परेको जनक शिक्षा सामग्री केन्द्रको ऋण अहिले १ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

५ वर्ष अघिसम्म १ अर्ब भन्दा कम रहेको ऋण परिमाण उल्लेख्य बढेको छ । सरकारी कागजात र विद्यालयका पुस्तक छापेर मुनाफा आर्जन गर्ने उद्देश्यका साथ छ दशकअघि स्थापना गरिएको जनक शिक्षा तिर्नै नसक्ने ऋणमा डुबेको अधिकारीहरू बताउँछन् ।

केन्द्रले हाल राष्ट्रिय बाणिज्य बैंक, बैंक अफ काठमान्डू लुम्बिनी, नागरिक लगानी कोष र सरकारको ऋण तिर्न नसक्ने भएपनि ब्याज तिरिरहेको छ । यसमध्ये पनि केन्द्रलाई सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको ५५ करोड रुपैयाको ऋणभार छ ।

यसरी नै नागरिक लगानी कोषको २९ करोड र बैंक अफ काठमान्डू लुम्बिनीको ९ करोड रुपैया रहेको छ । यसबाहेक अन्य ऋण भने सरकारलाई तिर्न बाँकी छ । केन्द्रका आर्थिक प्रशासन प्रमुख सुजनराज नेपालले पुस्तकको मूल्य प्रचलित बजार भाउअनुसार समायोजन गर्न नसक्दा बर्सेनि घाटामा गइरहेको बताए ।

“सरकारले यो बर्ष एक दशकपछि थोरै मात्र पुस्तकको मूल्य बढाएको छ,” नेपालले कारोबारसँग भने “लामो समयसम्म पुस्तकको मूल्य नबढाएका कारण केन्द्र लगातार घाटामा गएको हो ।”

हाल पुस्तक छाप्ने पैसाको समेत अभाव झेलिरेहको केन्द्रसँग तत्काल सरकारबाहेक २ बैंक र कोषकोे ऋण तिर्न सक्ने अवस्था छैन । केन्द्रले क्षमता विस्तार र पुस्तक छाप्नकै लागि सरकारसँग बर्सेनि आर्थिक सहयोग माग्दै आइरहेको छ ।

पुस्तक छपाई गर्ने क्रममा दैनिक खर्चका लागि आवश्यक पर्ने रकम व्यवस्थापनका लागि केन्द्रले यो बर्षमात्र सरकारसँग ४० करोडको ‘रिभल्बिङ फन्ड’ स्थापना गर्न माग गरेको थियो । तर सरकारले तत्कालका लागि १० करोड रुपैयाँमात्र दिने निर्णय गरेको छ ।

ऋणमा चलिरहेको केन्द्रलाई जसोतसो संचालन गर्न हालै मन्त्रिपरिषदले साझा प्रकाशनलाई अनुदान र ऋणका रुपमा दिएको २० करोड रुपैयाँमध्ये १० करोड सिधै केन्द्रलाई दिने निर्णय गरिसकेको छ ।

बाह्र वर्षदेखि पाठ्यपुस्तकको मूल्य समायोजन नगरेको सरकारले यो वर्ष थोरैमात्र मूल्य बढाएको केन्द्रले जनाएको छ । केन्द्र विगत १० वर्षदेखि वार्षिक करिब ११ करोड रुपैयाँका दरले घाटामा गइरेहको छ ।

किताब बिक्रीबाट आउनुपर्ने पैसा समेत बक्यौता रहको कारण केन्द्रलाई थप आर्थिक भार परेको छ । केन्द्रले हाल कक्षा ९ र १० को किताब छपाइमा प्रतिपेज क्रमशः २६ र ३७ पैसा पाउँदै आएको छ ।

यो बर्तमान बजार मूल्यअनुसार सम्पूर्ण खर्च खर्च कटाएर नाफा कमाउन मुस्किल रहने मूल्य रहको केन्द्रको भनाइ छ ।

केन्द्रको ऋण (रु. हजारमा)
राष्ट्रिय बाणिज्य बैंक    ५५००००
नागरिक लगानी कोष    २९००००
सरकार    ७९००००
बैक अफ काठमान्डू लुम्बिनी    ९००००
जम्मा    १७२००००
स्रोत ः जनक शिक्षा सामग्री केन्द्र
गोपाल संग्रौलाले कारोबारमा लेखेको खबर ।

प्रतिक्रिया