Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

सेमेस्टर प्रणालीमा भर्ना आवेदन खोलेकोमा विद्यार्थीको विरोध, भन्छन्, शिक्षाबाट वञ्चित गर्ने षड्यन्त्र

शुक्रबार, ०४ चैत्र २०७३

काठमाडौं - बिना पूर्वाधार त्रिभुवन विश्वविद्यालयले काठमाडौं उपत्यकाका आङ्गिक क्याम्पसहरूमा सेमेस्टर प्रणालीमा भर्ना आवेदन खोलेकोमा विद्यार्थीले विरोध गरेका छन् । विगतमा सेमेस्टर लागू भएका क्याम्पसहरूको समीक्षा नगरी एकतर्फी सेमेस्टर प्रणाली लागू गरेको भन्दै सोको विरोध गरेको नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लवजुले बताए ।  ‘जनताका छोराछोरीलाई विश्वविद्यालय शिक्षाबाट वञ्चित गर्ने षड्यन्त्र भएको’ संघको  छ ।

संघले त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत काठमाडौं उपत्यकाका सबै आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पस एवं केन्द्रीय विभागहरूमा सेमेस्टर प्रणालीमा सन् २०१७ मा सञ्चालन हुने विभिन्न विषयका स्नातकोत्तर तहका कार्यक्रममा प्रथम सत्रमा भर्नासम्बन्धी सूचनाप्रति आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाउँदै त्रिविले भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, पाठ्यक्रममा सुधार, नियमित शैक्षिक कार्यतालिकाजस्ता आधार तय गर्नुपर्ने माग गरेका छन् ।

संघका अध्यक्ष निरज लवजुले त्रित्रिले आश्वासनको भरमा सेमेस्टर प्रणाली सञ्चालन ल्याएको भए पनि आश्वासन पूरा नगरेको जनाउँदै  त्रिविले सेमेस्टर प्रणाली लागू गर्ने नाममा कोटा लागू गरेर हजारौंको संख्यामा विद्यार्थीलाई विश्वविद्यालय शिक्षाबाट बञ्चित बनाएको बताए । ‘एकतिर त्रिविले सेमेस्टर प्रणालीको नाममा शिक्षण शुल्क अचाक्ली वृद्धि गरी व्यापक नेपाली विद्यार्थीहरूको निम्ति विश्वविद्यालय शिक्षा दुरुह बनाइदिएको छ भने अर्को्तिर कोटा प्रणाली लागू गरेर निजी क्याम्पसको व्यापार बढाउने काम गरिरहेको छ ।’ उनले भने ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा ‘विगतको गम्भीर समीक्षा नगरीकन त्रिविले काठमाडांै उपत्यकाका क्याम्पसहरूमा सेमेस्टर प्रणाली लागू गर्ने एकतर्फी सूचना जारी गर्नु त्रिविको बालहठ भएको हाम्रो ठहर हो । पुरानै भताभुङ्ग भौतिक अवस्था, अनियमित शैक्षिक कार्यतालिका, उही शैक्षिक जनशक्ति, पुरानै पाठ्यक्रमलाई खण्डीकरण गरेर सेमेस्टर प्रणाली लागू गर्नु विद्यार्थीहरूबाट चर्को शुल्क असुली गर्ने र सीमित हुने खाने र सक्ने वर्गका छोराछोरीलाई मात्र विश्वविद्यालय शिक्षा दिने चालबाजी हुनेछ ।’ उल्लेख छ ।

संघले सेमेस्टर प्रणालीमा कोटा प्रणाली खारेज गरिनुपर्ने, भर्ना भएका सबै विद्यार्थीहरूलाई सेमेस्टर प्रणाली सञ्चालन निर्दशिका २०७० बमोजिम विश्वविद्यालय शिक्षा दिनुपर्ने, सेमेस्टर प्रणालीको नाममा शुल्क वृद्धि गर्न नपाइने, बढाइएको शुल्क घटाइनुपर्ने,  त्रविको शैक्षिक क्यालेण्डर नियमित हुने ग्यारेन्टी गर्नुपर्ने, सेमेस्टर प्रणालीलाई मूलतः फेरि पनि परीक्षाकेन्द्रित बनाइएको अवस्थामा शिक्षालाई उत्पादन श्रमसँग जोड्नुपर्नेलगायतका माग समेत गरेको छ ।

प्रतिक्रिया