Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

कोर्स नसकी वार्षिक परीक्षा

आइतबार, १३ चैत्र २०७३

काठमाडौं १३ चैत/एकला निम्न माध्यमिक विद्यालयमा कक्षा सातमा पढ्ने पृथ्वीराज हरिजनको आइतबारदेखि वार्षिक परीक्षा छ । परीक्षा सुरु भइसक्यो तर शिक्षकले पुस्तक पढाइसकेका छैनन् । उनलाई गणित विषय कठिन लाग्छ । तर त्यही विषयको २५ प्रतिशत पाठ विद्यालयमा पढाइ नै भएन । ‘अब आफै पढेर परीक्षा दिने हो', उनले भने । गणित विषयका शिक्षक कक्षामा नआउँदा पढाइ नसकिएको उनले बताए । गएको वर्ष आधा मात्रै किताब पढाइएको थियो । अहिले पनि करिब उस्तै हालत छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका-८ मा रहेको कर्महवा माविका विद्यार्थीले पनि कक्षाकोठामा पूरै किताब पढ्न पाएनन् । कक्षा ९ मा अध्ययरत सुरज कहाँरले भने, ‘पेसा विषयको पूरै पाठ पढाइ भएकै छैन ।' अंग्रेजी, गणित विषयको पाठ्यक्रम सकाउन केही दिन ‘कोचिङ' भएको थियो ।

रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको सिकाइ उपलब्धि दर निकै न्यून छ । शिक्षकले ध्यान दिएर नपढाउने, विद्यार्थीको अनियमित उपस्थिति, सयमसयममा हुने बन्दहडतालका कारण दक्षिणी क्षेत्रको सिकाइ दर निकै कमजोर भएको हो ।

गत वर्ष नाकाबन्दी र मधेस आन्दोलनका कारण करिब ६ महिना विद्यालय बन्द भएपछि विद्यालयले आधा पठ्यक्रम पढाएर मात्रै वार्षिक परीक्षा लिएका थिए । विद्यार्थीले चाहेर पनि पूरा विषय र पाठ्यक्रम पढ्न पाएका छैनन् । रूपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले प्रधानाध्यापकको अर्कमण्यले गर्दा दक्षिणतर्फका अधिकांश विद्यालयको सिकाइदर सुधार हुन नसकेको बताए । ‘आन्दोलनका कार्यक्रम सुनेकै भरमा विद्यालय बन्द गर्ने प्रवृत्ति छ', उनले भने ।

जिल्ला शिक्षा कार्यालयले पाठ्यक्रम पढाएर नसकेको खण्डमा ‘कोचिङ' चलाएर सक्न निर्देशन दिएको उनको भनाइ छ । तर त्यो पालना नभएको उनलाई जानकारी छ । रूपन्देहीको समग्र सिकाइ उपलब्धि दरमा सामुदायिक विद्यालय कमजोर छन् । सामुदायिकतर्फ ४० र निजीतर्फको ५६ प्रतिशत छ । त्यसमा मर्चवार क्षेत्रका विद्यालय झन् कमजोर छन् । अघिल्ला वर्षमा विद्यालयबाट एसएलसी परीक्षामा सहभागी भएकामध्ये बढीमा २० प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण हुने गरेको तथ्यांक छ । कतिपय विद्यालयबाट दुई÷चार जना विद्यार्थी मात्रै कक्षा ११ पढ्न जाने गरेका थिए ।

शिक्षकले चासो दिएर पठनपाठन नगर्दा विद्यार्थीको सिकाइ उपलब्धि कमजोर भएको हो । कर्महवा माविको कक्षा ८ मा ५६ जना विद्यार्थी छन् । त्यसमध्ये ३० जना छात्रा छन् । उनीहरूले जिल्लास्तरीय परीक्षाको तयारी विद्यार्थी स्वाध्ययनबाटै गर्दै आएका छन् ।

चेतनाको स्तर, आर्थिक अवस्था एवं सामाजिक संस्कृतिका कारण लक्ष्यअनुरूप सिकाइ उपलब्धि हुन नसकेको मझगवा स्रोत केन्द्रका विद्यालय निरीक्षक लक्ष्मण ज्ञवालीले बताए । पाठ्यक्रम पढाएर सक्नुभन्दा पनि विद्यार्थीले कति सिक्न सक्यो भन्ने कुरा महत्ववपूर्ण हुने उनको भनाइ छ । ‘माघ महिनामा ७० प्रतिशत पाठ्यक्रम सकिएको थियो, मैले छिटो सक्न भनेको थिएँ', उनले भने ।

दक्षिणी क्षेत्रका धेरै विद्यालयमा विद्यार्थी नै पढ्न नआउने समस्या पनि छ । गाउँमा बिहे, भोज, पूजा भए पनि कक्षाकोठा नै खाली हुने गरेको प्रधानाध्यापकहरू बताउँछन् । बन्दहडतालको मारमा विद्यालय परेको र सोही कारण पाठ्यक्रम सक्न कठिन भएको गुरवानीमाई माविका प्राधानाध्यापक राधेश्याम यादवले बताए । ‘हामीले अटेर गरेरै भए पनि विद्यालय खोलेका थियौं', उनले भने, ‘त्यसैले कोर्स सक्न समस्या भएन ।'
अन्नपूर्ण पोष्टमा लक्ष्मण पोखरेलले लेखेको खबर ।

प्रतिक्रिया