Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

शिक्षक–अभिभावक एकताले ‘विद्यालय सुधार’

शुक्रबार, १५ बैशाख २०७४

काठमाडौं १५ बैशाख/इच्छा कामना गाउँपालिका २ स्थित काउलेको राष्ट्रिय निमाविका प्रधानाध्यापक पदमबहादुर चेपाङ विद्यार्थी नियमित नहुँदा चिन्तित थिए । भर्ना संख्याअनुसार कहिल्यै विद्यार्थी उपस्थित भएनन् । छात्रवृत्ति बाँड्ने र भर्ना हुने बेला विद्यार्थी आए पनि अघिपछि कक्षाकोठा खाली हुन्थे ।

गाउँमा पूजा, विवाह हुँदा विद्यार्थी भोजभतेरमा जाने भएकाले पढाइ छाड्थे । त्यस्तै अभिभावक आफैंले काम लगाउँदै छोराछोरीलाई पालो लगाएर पढ्न पढाउँथे ।
‘घरघरमा पुगेर विद्यार्थी ल्याउने कार्य पनि गरियो,’ प्रधानाध्यापक चेपाङले भने, ‘सधैं यस्तो कार्य सम्भव भएन, भर्ना हुने तर विद्यालय नआउने समस्याले हामी आजित बन्यौं ।’ उनले अभिभावकलाई सचेत गराएर विद्यार्थीलाई नियमित विद्यालय ल्याउने उपाय निकाले ।
‘विकटमा विद्यालय छ, त्यसमा पनि चेपाङ समुदाय पढ्न नपाउँदा हरेक क्षेत्रमा अवसरबाट वञ्चित बन्नुपरेको छ,’ उनले भने, ‘त्यही भएर सबै शिक्षक मिलेर उपाय लगायौं । वर्षभरि धेरै विद्यालय आउने विद्यार्थीलाई पुरस्कार, अभिभावकलाई सम्मान गर्ने परिपाटी बसाल्यौँ । त्यसले राम्रो परिणाम दिइरहेको छ ।’
उनले पहिलोचोटि साताअघि यस्तो कार्यक्रम गरेर राम्रो कामको सुरुवात गरेको बताए । अहिले अभिभावकलाई छोराछोरी पढाउन पठाउन प्रतिस्पर्धा चल्न थालेको छ । यो विद्यालयमा कक्षा ८ सम्म १ सय ४ छात्र र १ सय २० जना छात्रा भर्ना भएका छन् । तर, नियमित उपस्थिति कम हुन्छ । खाजा कार्यक्रम भए पनि विद्यार्थी नियमित विद्यालय आउँदैनन् ।
त्यस्तै, विकटका अन्य विद्यालयको अवस्था भने झन् दयनीय बन्दै गएको छ । विद्यालय सुधार्न न शिक्षक कस्सिन्छन्, न त अभिभावक नै जागरुक हुन्छन् । यसले गर्दा विद्यालय गए पनि विद्यार्थीले पढ्न पाउँदैनन् । शिक्षकसमेत पालो लगाएर पढाउन आउँछन् । विद्यालय सुधारमा शिक्षक र अभिभावक नकस्सिए विकटका सामुदायिक विद्यालय बन्द गर्नुको विकल्प रहने छैन । ‘सामुदायिक विद्यालय खत्तम छन् भनेर प्रचारप्रसार बढी गरिन्छ,’ शिक्षाविद् रमाकान्त सापकोटोले भने, ‘त्यस्ता विद्यालयलाई सुध्रने मौका दिनुपर्छ ।’
उनी विद्यालय सुधार्न राम्रो शिक्षक छान्नुपर्ने, राम्रो पढाउनुपर्ने, उसले पढाएको छ/छैन भनेर नियमित अनुगमन गर्ने निकायले अनुगमन गर्नुपर्ने बताउँछन् । ‘पढाएर मात्र भएन, सिकाइ हुनुपर्‍यो,’ उनले भने, ‘पाठयपुस्तक मात्र पढाएर भएन, पाठयक्रम पढाउनुपर्‍यो ।’ उनले राम्रो गर्ने शिक्षकलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने र गल्ती गर्नेलाई सुधार्नुपर्ने बताए । उनका अनुसार विद्यालय सुधारमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले भूमिका खेल्नुपर्ने हुन्छ । केही विद्यालयका शिक्षक राजनैतिक संघसंगठनमा आबद्ध हुँदा पढाइ प्रभावित हुने गरेको छ । गाउँका विद्यालयमा अनुगमन गर्ने निकायले अनुगमन नगर्दा मनोमानी बढ्दै गएको छ । डाँडापाखामा विद्यालय भएकाले कष्ट सहेर जाने हिम्मत हतपत कसैले गर्दैनन् । त्यस्तै, अर्को समस्याको रूपमा भने बालविवाह रहेको छ । सानो कक्षामा विद्यार्थी नियमित भए पनि ठूलो कक्षामा कम हुन्छन् ।
‘१२/१३ वर्षको उमेरमा अहिले पनि गाउँमा बिहे गर्ने चलन छ,’ राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङ काउलेका प्रधानाध्यापक रमेश रसाइलीले भने, ‘कक्षा ६ भन्दा माथि पढ्ने विद्यार्थीमा यो समस्या बढी छ ।’ त्यसमा पनि चेपाङ समुदायमा यो समस्या बढी रहेको छ । विद्यालयसमेत टाढा हुँदा बालबलिकाहरूले बीचैमा पढाइ छाड्नुपर्ने बाध्यता छ । सिंगो गाउँमा मावि नहुँदा एउटै कक्षा ३ वर्षसम्म पढ्नुपर्ने समस्या छ । जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याल भने भौगोलिक विकटताका कारण समस्या भएको बताउँछन् । ‘भौगोलिक विकटता छ,’ उनले भने, ‘जसले गर्दा विकटमा रहेका विद्यालयको प्रभावकारी अनुगमन गर्न सकिएको छैन ।’ उनले विद्यालय सुधारमा शिक्षक र अभिभावकको हात हुने भएकाले उनीहरू नै सक्रिय हुनुपर्ने बताए ।
शिक्षा कार्यालयका अनुसार मावि, निमावि र प्राविमा आर्थिक वर्ष ०७२/०७३ को बजेट १ अर्ब ४ करोड ५४ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ खर्च भयो । प्रावि र निमावि तहमा मात्र वार्षिक ७५ करोड २४ लाख ३३ हजार ८ सय ६७ रुपैयाँ छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया