Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

नेपाली भाषा कक्षा : स्वयं सेवक शिक्षकबाट सञ्चालन

सोमबार, ०५ असार २०७४

बेलायत - स्कट्ल्याण्ड एबर्डिनमा हुर्कदैं गरेका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा र संस्कृतिका बारेमा जानकारी दिन शुरु नेपाली भाषा पठन पाठन कक्षा संचालन भएको तीन बर्ष पुरा भएको छ । विभिन्न कामका सिलशिलामा विदेश गएका नेपाली आमा बाबुका सन्तानले आफ्नो अभिभावकको संस्कृति समेत थाह पाउन भनेर त्यहाँ बसोवास गर्ने नेपालीहरु आवद्ध नेप्लिज हिमालयन एसोसिएसनले उक्त कक्षा सञ्चालन गर्दै आएको छ ।

हरेक  २ हप्तामा २ घण्टाको दरले कक्षा सञ्चालन गरिदै आएको छ । एसोसिएसनले नेपाली अभीभावकहरुकै सहयोग लिएर  स्वयम सेवक शिक्षकहरु मार्फत कक्षा सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष मीन भट्टले जानकारी दिए । नेपालमा रहँदा शिक्षण  पेसामा लागेर अनुभब हासिल गरेका तथा भाषा र संस्कृतिमा रुचि भएका व्यक्तिहरुले पठन पाठन गर्दै आएका छन् । यसका लागि प्रकाश जिसिको संयोजकत्वमा  मिन भट्ट, कल्पना जिसि, तोया सापकोटा, सिर्जना पाण्डे, बिजय सिग्देल, सागर सिम्खडा, शिव तिवारी लगायतको समूह कृयाशिल छ ।  

बालबालिकाहरु नेपाली भाषा प्रष्ट बोल्न, लेख्न र पढ्ने सक्ने भएको जानकारी दिदै हिजोआज झनै प्रभाबकारी  भइरहेको  बताए ।

कक्षा सञ्चालन भएको तीन बर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा उक्त कक्षा निरन्तर गर्ने संस्थाले प्रतिबद्धता व्यक्त गरेको छ ।  एबर्डीन स्कट्ल्याण्डको माइल इण्ड प्राइमरी स्कुलमा सुरु गरिएको नेपाली भाषा कक्षामा नेपाली बालबालिकाहरुको उल्लेख्य सहभागिता छ ।     

नेपाली भाषा कक्षामा ३ देखी पन्ध्र बर्ष सम्मका नेपाली बालबलिकाहरुलाई बिभिन्न समुहमा बिभाजित गरी  पठन पाठन  हुँदै आएको छ ।

बिगत बर्षहरुमा संस्थाले आफ्नै खर्चमा कक्षा सञ्चालन गरे पनि भर्खरै ’द नेसनल लोटरि’ नामक संस्थाद्वारा बर्ष २०१७ र२०१८ को लागी झण्डै ५ हजार पाउण्ड सहयोग प्राप्त गरेको प्रोजेक्ट कोर्डिनेटर नबिन क्षेत्रीले बताए । प्राप्त रकम प्रभाबकारी योजना सहित  बालबालिकाहरुको बृहत्तर बिकासमा खर्च गरिने उनको प्रतिवद्धता छ ।

स्कट्ल्याण्डको च्यारिटी नियमानुसार दर्ता भएको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले नेपालमा बिभिन्न प्राकृतिक बिपतमा समेत सहयोग गर्दै आएको छ ।  २०७२ सालको भुकम्पका बेला संस्थाले स्थानीय नेपालीहरुबाट संकलन गरी रु. २६ लाख रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको थियो ।

प्रतिक्रिया