Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

नयाँ शक्तिका नेताको शोध पुस्तक : माओवादी द्धन्द्धले हजारौँ बालबालिकाको शिक्षामा गम्भीर असर

सोमबार, ०५ असार २०७४

काठमाडौं - दश वर्षे द्धन्द्धका बेला हजारौँ स्कुले बालबालिकाको शिक्षामा गम्भीर असर परेको एक अध्ययनले औंल्याएको छ । दश वर्षे द्धन्द्ध र त्यसले स्कुले बालबालिकाको शैक्षिक जीवनमा पारेको असरका बारेमा गरिएको ‘द्वन्द्वमा परेका बालबालिकाको जीवन र शिक्षा’ विषयक अध्ययनले उक्त तथ्य सार्वजनिक गरेको हो । नयाँ शक्ति पार्टीका केन्द्रीय  परिषद् सदस्य श्रीप्रसाद देवकोटाद्धारा गरिएको उक्त अध्ययनले स्थलगत अनुसन्धान गरी त्यसको समधानका लागि आवश्यक सुझाब समेत दिएको छ ।

'द्वन्द्व र बालबालिका सम्बन्धी जे जति सन्धिहरु भएता पनि दशवर्षे जनयुद्धमा राज्य र बिद्रोही शक्ति तत्कालिन माओवादीबाट मानव अधिकार सम्बन्धी अन्तराष्ट्रिय सन्धिहरुको चरम उलंघन गरेको पाइयो' उनले भने, 'त्यसका कारण हजारौँ बालबालिकाको शिक्षामा गम्भीर असर परेको देखियो ।'

उक्त शोध पुस्तकमा देवकोटाले द्धन्द्धका समयमा १८ वर्ष नपुगेका स्कुले बालबालिकाहरुको जीवनमा पारेको शैक्षिक असर र शान्ति प्रक्रिया पश्चात् उनीहरुको जीवनशैलीभा भएको परिवर्तनको अध्ययन गरेका छन् ।
पुस्तकमा गरिबी, राजनीतिक उत्प्रेरणा, अभिभावकको पेशा तथा राज्य र बिद्रोही शक्तिको यातना नै स्कुले बालबालिकाको शैक्षिक जीवनको मुख्य अवरोधका कारण भएको उल्लेख गरिएको छ ।

विविध कारणले केही बालबालिकाहरु प्रत्यक्ष रुपमा लडाकुको रुपमा जनयुद्धमा सहभागी भएको र कोही जनयुद्धमा अभिभावकको मृत्युकै कारण शिक्षाबाट बञ्चित रहेको पनि अध्ययनमा क्रममा फेला परेको छ । शान्ति प्रक्रिया पश्चात् राज्य र अन्तराष्ट्रिय सहयोगी संस्थाहरु मार्फत सामाजिक पुर्नस्थापनाका लागि केही कार्यक्रमहरु सञ्चालन गरिएको भए पनि ती प्रर्याप्त नभएको र ती प्रयासले पीडित बलबालिकाहरुलाई सामाजिक समायोजनमा कुनै राहत प्रदान नगरेको अध्ययनको निष्कर्ष छ ।

जनयुद्धकालीन समयमा शैक्षिक अवसरबाट बञ्चित बालबालिकाहरु शान्ति प्रक्रिया पश्चात् थप सामाजिक बिभेद, गरिबी र घृणाका पात्र बनेको भन्दै उक्त अध्ययनमा  सामाजिक समायोजनका क्रममा उनीहरु कतै अयोग्य लडाकु त कतै सामाजिक अपराधीको रुपमा बहिष्कृत भएको उल्लेख छ ।

अध्ययनले पीडित बालबालिकाको आवश्यकता भन्दा पनि द्वन्द्वरत देशहरुले सामजिकीकरणमा प्रयोग गरिएको अन्तराष्ट्रिय अनुभवलाई जबरजस्त प्रयोग गर्न खोजेका कारण सही रुपमा समायोजन हुन नसकेको उल्लेख गरेको छ ।

'राज्यले पीडितहरुको खास समस्याको पहिचान गरी उनीहरुकै आवश्यकता अनुरुपका पुनःस्थापनाका कार्यक्रमहरु सञ्चालन गरिनु पर्ने छ' देवकोटाले भने, 'द्वन्द्वका कारण शिक्षाको अवसरबाट बञ्चित बालबालिकाहरुलाई पुनः औपचारिक शिक्षामा जोड दिनुभन्दा प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिनु प्रभावकारि हुन्छ ।'

देवकोटाले विभिन्न सञ्चार माध्याम मार्फत् समसामयिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् ।

प्रतिक्रिया