काठमाडौं ६ भदौ /त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन फर्जी प्रतिवेदन तयार गर्न लगाएको खुलेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. करविरनाथ योगीको संयोजकत्वमा गठित समितिले सम्बन्धनकै लागि प्रस्तावित कलेजमा नभएका पूर्वाधार र सुविधासमेत रहेको उल्लेख गरी झूटो प्रतिवेदन तयार गरेको हो । यही झूटो विवरणका आधारमा त्रिविले साउन १२ मा सम्बन्धन दिएको हो ।
त्रिविले डा. योगी संयोजकत्वमा ६ सदस्यीय निरीक्षण टोली गठन गरेको थियो । टोलीले २०७० कात्तिक २५ र २६ गते निरीक्षण गरी २७ गते बुझाएको प्रतिवेदनमा अस्पताल तथा मेडिकल कलेजमा सबै सुविधा रहेको उल्लेख छ । आईओएमले नै निरीक्षण टोली खटाउनुपर्नेमा तत्कालीन विवादित उपकुलपति हीराबहादुर महर्जनले नै अधिकार केन्द्रीकृत गरी केन्द्रीय कार्यालयबाट निरीक्षण टोली गठन गरी खटाएका थिए । ‘उक्त प्रतिवेदन सफेद झूटको प्रमाण हो,’ आईओएम उच्च स्रोतले कान्तिपुरसित भन्यो ।
प्रतिवेदनमा के छ ?
त्रिवि केन्द्रीय कार्यालय उच्च स्रोतबाट कान्तिपुरलाई प्राप्त प्रतिवेदनको प्रतिलिपिमा उल्लेखित विवरण हेर्दा चार वर्षअघि उल्लेख गरिएको भौतिक तथा शैक्षिक पूर्वाधार हालसम्म पनि प्रस्तावित कलेजले पूरा नगरेको देखिन्छ । आवासीय प्रयोजनका लागि बनाएको भवनमा अस्पताल सञ्चालन गरिएको छ । निरीक्षण टोली यस विषयमा मौन छ । अस्पताल सञ्चालन गर्न भूकम्पप्रतिरोधी भवन आवश्यक हुन्छ । यस्ता मापदण्ड पूरा नगरे पनि टोलीले मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त भएको प्रतिवेदन दिएको थियो ।
निरीक्षण टोलीले ‘कलेजको जग्गा एक सय रोपनी’ रहेको झूटो विवरण समावेश गरेको छ । घट्टेकुलोको भवन सेरोफेरोको जग्गा २ रोपनी १० आना १ पैसा ३ दाम मात्रै छ । जग्गाको विवरणमा निरीक्षण टोलीले ‘१० किलोमिटरभित्र दुई ठाउँमा सय रोपनी जग्गा रहेको’ भनी उल्लेख गरेको छ । जबकि जग्गा रहेको भनिएको ललितपुरको लामाटार घट्टेकुलोदेखि १४ किलोमिटर सडक दूरीमा छ । यो तथ्यले पनि निरीक्षण टोलीको प्रतिवेदन झूटो भएको पुष्टि हुन्छ । प्रस्तावित मेडिकल कलेजमा बेसिक साइन्सतर्फ सातवटा र क्लिनिकल साइन्समा १४ विभाग रहेको भनी प्रतिवेदन तयार गरिएको थियो । तर कान्तिपुरले आइतबार स्थलगत रिपोर्टिङ गर्दा अस्पतालमा यी विभाग थिएनन् । निरीक्षण प्रतिवेदनका विवरणमा विश्वास गर्ने हो भने अस्पतालले विद्यार्थीका लागि घर भाडामा लिएको भनी उल्लेख गरेको छ । तर काठमाडौं घट्टेकुलो वरपर कुनै पनि घर कलेजले भाडामा नलिएको स्थानीय बासिन्दा बताउँछन् ।
प्रतिवेदनमा छात्र र छात्राका लागि सय बेडको होस्टेल रहेको झूटो विवरण समावेश गरिएको छ । कुनै जिम्मेवारी पाएका राष्ट्रसेवक कर्मचारीले यथार्थभन्दा फरक या झूटो प्रतिवेदन दिएको घटना भ्रष्टाचारजन्य क्रियाकलाप हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता जीवनाथ कोइराला बताउँछन् ।
‘यस्ता उजुरी आयोगमा परेमा अख्तियारले हेर्न र आवश्यक कारबाही गर्न सक्छ,’ कोइरालाले कान्तिपुरसित भने, ‘झूटो प्रतिवेदन बुझाएको घटनामा यसअघि पनि अख्तियारले छानबिन गरी मुद्दा दायर गरेका उदाहरण छन् ।’ काठमाडौं नेसनल मेडिकल कलेजको हकमा पनि निरीक्षण टोलीले यथार्थभन्दा फरक र झूटो विवरण तयार पारेको देखिन्छ ।
नक्कली डाक्टर वा खडेबाबा ?
स्थलगत रिपोर्टिङकै क्रममा अस्पतालमा एकजना मेडिकल अफिसरबाहेक कुनै डाक्टर नभएको भिडियो नै सार्वजनिक भएको थियो । तर निरीक्षण टोलीको प्रतिवेदनमा ६५ जनाभन्दा बढी प्राध्यापकहरू अस्पतालमा कार्यरत रहेको देखाइएको छ । कान्तिपुरकै स्थलगत रिपोर्टिङमा अस्पतालको इमर्जेन्सीलगायत कक्ष सुनसान देखिन्थ्यो । मेडिकल कलेजको कक्षाकोठा, पुस्तकालय सबै सुविधासम्पन्न रहेको भनिएको छ । किताबको संख्या नै २ हजार भनी उल्लेख छ, जब कि पुस्तकालयमा आवश्यक संख्यामा किताब नै छैनन् । निरीक्षण टोलीले सबै विभागका कक्षाकोठा, फर्निचर, पुस्तकालय, हललगायत सुविधा रहेको जनाउँदै त्यसलाई ‘सन्तोषजनक’ भनी विवरण तयार गरेको छ ।
निरीक्षण टोलीका डाक्टरहरूले झन्डै दुई सयको हाराहारीमा बिरामी अस्पताल पुग्ने विवरण तयार पारेका छन् । ओपीडी बिरामीको यो विवरण हरेक विभागअनुसार छुट्टाछुट्टै तयार पारेको देखिन्छ । विवरणलाई विश्वास गर्ने हो भने अस्पतालमा ४० बेड त नवजात शिशुको सघन उपचार कक्ष (एनआईसीयू) बेड छ । सबै क्लिनिकल विभागमा दैनिक १० देखि ४०/५० जना बिरामी उपचारका लागि पुग्ने भनिएको छ । प्रतिवेदनका अनुसार अस्पतालमा चारवटा अपरेसन थिएटर छन् । स्त्री तथा प्रसूति विभागले प्रतिमहिना ३० जनालाई सुत्केरी गराउने जनाएको छ । स्त्रीरोग विभागमा मासिक २० जनाको अपरेसन हुने उल्लेख छ । अस्पतालभित्रै आफ्नो फार्मेसी रहेको भनिएको छ । तर, अस्पताल परिसरमा फार्मेसी नै छैन ।
मेडिकल कलेजहरूमा नियमित काम नगर्ने तर निरीक्षणका बेला उपस्थित गराइने डाक्टरहरूलाई ‘खडेबाबा’ भनी सांकेतिक शब्द प्रयोग गरिन्छ । काठमाडौं नेसनलकै निरीक्षणमा ७० जना डाक्टरको संख्या उल्लेख गरे पनि प्रतिवेदनमा संलग्न कागजातमा भने १४ डाक्टरहरूको नामावली मात्रै समावेश छ । ‘ती डाक्टर अस्पतालमा नियमित कार्यरत थिएनन्,’ आईओएम स्रोतले भन्यो, ‘निरीक्षणका दिन कतैबाट ल्याएर उभ्याइएको थियो ।’
निरीक्षण टोलीका तत्कालीन संयोजक करविरनाथ योगीले त्यतिबेला अस्पतालमा बिरामीको भीडभाड नै हुने गरेको तर्क गरे । ‘कान्तिपुरले लेख्दैमा हँ‘दैन, त्यतिबेला अस्पतालमा बिरामीको राम्रै उपस्थिति हुन्थ्यो,’ योगीले कान्तिपुरसित भने, ‘जग्गा पनि मापदण्डअनुसार नै थियो । अस्पताल प्रशासनले हामीलाई गाडीमा लैजाँदा घट्टेकुलोदेखि लामाटार १० किलोमिटरभित्रै देखिएको थियो ।’ उनले आफूहरूले बनाएको प्रतिवेदन गलत नभएको दाबीसमेत गरे ।
मिलेमतोमै निरीक्षण ?
आर्थिक प्रलोभन र विभिन्न स्वार्थमा राजनीतिक तहबाटै सम्बन्धनका लागि दबाब आएपछि आईओएमका डिन प्रकाश सायमीले हालको पूर्वाधारमा सुधार नभएसम्म कुनै पनि हालतमा नयाँ सम्बन्धन दिन नसकिने निर्णय गराएका थिए । आईओएमको निर्णयबाट आक्रोशित त्रिविका तत्कालीन उपकुलपति हीराबहादुर महर्जनले केन्द्रीय कार्यालयबाटै सम्बन्धन दिने योजना बनाएर कलेजहरूसँग प्रस्ताव मागेका थिए । त्यसक्रममा सम्बन्धन दिनकै लागि उपकुलपतिको निर्देशनमा काठमाडौं उपत्यकामा रहेका चारवटा मेडिकल कलेजको निरीक्षण गरिएको थियो । काठमाडौं नेसनल, मनमोहन, पिपुल्स र प्रहरीको मेडिकल कलेजमध्ये सबैको निरीक्षण प्रतिवेदनमा झूटा र बढाईचढाई गरिएका विवरण समावेश भएकाले विवादित बनेको थियो । त्यसमध्येको एक काठमाडौं नेसनलले यही झूटो प्रतिवेदनका आधारमा सम्बन्धन पाउनुपर्ने दाबी गरेको थियो । तीन वर्षअघि नै तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा नेतृत्वको संयुक्त इजलासले काठमाडौं नेसनलका हकमा ‘पूर्वाधार पुगेको भए सम्बन्धनको निर्णय गरी अनिर्णयको बन्दी नबनाउनू’ भन्ने आशयको निर्णय गरेको थियो । यही निर्णयलाई आधार बनाउँदै त्रिविका पदाधिकारीले पटक–पटक सम्बन्धनको प्रयास गरेका थिए ।
विवादित डाक्टर नै टोलीमा
झूटो प्रतिवेदन तयार गर्ने निरीक्षण टोलीका केही सदस्यहरू विवादास्पद पृष्ठभूमिकै रहेको आईओएमसम्बद्ध स्रोतले बतायो । टोलीका संयोजक रहेका योगी त्रिवि शिक्षण अस्पतालमा ‘चर्को राजनीति गर्ने’ डाक्टरका रूपमा चिनिन्छन् । पूर्वप्रधानमन्त्री सुशील कोइरालाका फिजिसियन रहेका योगीले आफ्नो राजनीतिक पहुँचका आधारमा डिन हुने पटक–पटक प्रयाससमेत गरेका थिए । ‘अस्पताल नआउने र आए पनि कामभन्दा बढी राजनीति गर्ने उहाँको स्वभाव हो,’ आईओएम स्रोतले भयो ।
अर्का सदस्य केपी सिंह केही महिनाअघि दुई साता आईओएमका डिन भएका व्यक्ति हुन् । उनी केही वर्ष पहिले शिक्षण अस्पतालका निर्देशक थिए । शिक्षणको निर्देशक हुँदा उनी केही अनियमितता विवादमा समेत मुछिएर अख्तियारको छानबिनमा परेका थिए । निरीक्षण टोलीमा रहेका प्रमोदकुमार श्रेष्ठ, परशुराम मिश्र, ज्योति शर्मा खासै विवादमा परेका डाक्टर होइनन् । अर्का डाक्टर रामप्रसाद उप्रेती महाराजगन्ज क्याम्पसका प्रमुख भइसकेका हुन् भने एमबीबीएस प्रवेश परीक्षाको अनियमितता विवादमा उनको नामसमेत जोडिएको थियो । यी डाक्टरहरूबाहेक योजना महाशाखाका प्रतिनिधिका रूपमा प्रह्लाद पन्तसमेत निरीक्षणमा सामेल थिए ।
प्रतिवेदनका कुरा
१. दस किमिभित्र २ ठाउँमा
सय रोपनी
२. बेसिक साइन्समा ७ र क्लिनिकल साइन्समा
१४ विभाग
३. विद्यार्थीका लागि घर भाडामा लिएको
४. पैंसठ्ठीभन्दा बढी प्राध्यापक कार्यरत
५. दुई सयको हाराहारीमा बिरामी अस्पताल पुग्छन्
६. परिसरभित्रै फार्मेसी
वास्तविकता
१. घट्टेकुलोबाट १४ किमि टाढा लामाटारमा जग्गा
२. कुनै विभाग छैनन्
३. वरपर कुनै घर कलेजले भाडामा लिएको छैन
४. एक मेडिकल अफिसर बाहेक कोही डाक्टर छैनन्
५. अस्पताल सुनसान हुन्छ, पाँच बजेपछि बन्द हुन्छ
६. फार्मेसी नै छैन
कान्तिपुरमा कृष्ण ज्ञवाली र मकर श्रेष्ठले लेखेको खबर ।
प्रतिक्रिया