Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

तीन विद्यार्थी चार शिक्षक

विहीबार, १५ भदौ २०७४

काठमाडौं १५ भदौ / काठमाडौंको केन्द्रमा अवस्थित २०१४ सालमा स्थापना भएको श्री केश–चन्द्र विद्यालयमा जम्मा तीन जना विद्यार्थी छन् । सो विद्यालयमा शिक्षक÷शिक्षिका संख्या भने चार रहेको छ । विद्यालयमा भर्नाको समयमा १२ जना पुगे पनि विद्यालय नियमित आउने विद्यार्थीको संख्या भने बढीमा तीन जना रहेको विद्यालयकी शिक्षिका विमला पौडेल बताउँछिन् । गुठीको भवनमा रहेको विद्यालयमा विद्यार्थीका लागि चाहिने सामान्य पूर्वाधार शौचालयसमेत छैन ।

त्यस्तै, १९१० सालमा स्थापना भएको ऐतिहासिक महŒव बोकेको दरबार हाई स्कुलको अवस्था पनि नाजुक छ । दरबार हाई स्कुलमा हाल १ सय ४८ विद्यार्थी अध्ययनरत छन् । दरबार हाई स्कुलमा १९ शिक्षकको दरबन्दी रहेको छ । राणाकालमा जंगबहादुर प्रधानमन्त्री भएको समयमा अंग्रेजी भाषा सिकाउने उद्देश्यले स्थापना भई वीर शमशेरले नयाँ शिक्षा प्रणाली लागू गरेर शिक्षा प्रणालीमा परिवर्तन ल्याएका थिए । शिक्षकहरूमा तालिमको व्यवस्थादेखि लिएर जेहेनदार विद्यार्थी लाई छात्रवृत्तिको व्यवस्था पनि गराएका थिए ।

सिनामंगलमा अवस्थित बालपीठ प्राथमिक विद्यालयमा पनि विद्यार्थी छैनन् । ५७ वर्षअघि स्थापना भएको सो विद्यालयमा जम्मा सात विद्यार्थी छन् । २०१६ सालमा स्थापना भएको र कुनै समय २ सय ५० जनासम्म विद्यार्थीलाई पठनपाठन गराएको उक्त विद्यालय अहिले दयनीय अवस्थामा पुगेको छ ।

‘भर्नाको समयमा विद्यार्थी खोज्न आफैं जानुपर्ने अभिभावकलाई सन्तान पढाउनुपर्छ भनी सम्झाइबुझाइ गरेपछि मात्र विद्यालय पठाउन सहमत हुन्छन्,’ शिक्षण पेसामा ४० वर्षको अनुभव बोकेका उक्त विद्यालयका प्रधानाध्यापक रामकृष्ण मगरले भने । दैनिक श्रम गरेर रोजीरोटी चलाउने प्लास्टिक बोतल टिपेर दिनचर्या सञ्चालन गर्ने अभिभावकका छोराछोरी मात्र त्यस विद्यालयमा पढ्ने गरेको र छोराछोरी पनि अभिभावकसँगै काम गर्न जाँदा आम्दानी दोब्बर हुने हुँदा सन्तानलाई पढ्न प्रेरित नगरेको र शिक्षाबाट वञ्चित बनाइरहेको उनको भनाइ छ ।

प्रत्येक विद्यार्थीलाई वर्षमा चार सय र दैनिक खाजा खुवाउने व्यवस्था, आधुनिक शिक्षण सिकाइ गराउँदा पनि विद्यार्थी संख्या न्यून नै रहेको हुँदा दःुख लागेको बताउँछिन् सो विद्यालयकी शिक्षिका अञ्जना घिमिरे ।

अंग्रेजी भाषाको ज्ञान अनिवार्य र संस्थागत विद्यालयमा अंग्रेजी भाषालाई विशेष प्राथमिकता दिई उत्कृष्ट नतिजा ल्याएका कारण अभिभावकको ध्यान सामुदायिक विद्यालयतर्फ गएको र बालपीठ विद्यालयमा प्रावि मात्र भएका कारण नजिकै भए पनि आप्mनो सन्तानलाई बालपीठमा भर्ना नगरेको बताउँछन् स्थानीय विष्णुकुमार महर्जन ।

जिल्ला शिक्षा कार्यालय काठमाडौंका अनुसार गत आर्थिक वर्षमा प्रावि तहमा १४ हजार ८ सय ३८ छात्रा र १५ हजार ४१ छात्र गरी २९ हजार ८ सय ७९ रहेका छन् । निमावितर्फ १२ हजार ५४ छात्रा, ११ हजार १ सय ८१ छात्र गरी कुल २३ हजार २ सय ३५ विद्यार्थी अध्ययनरत छन् । मावितर्फ ८ हजार ३ सय १७ छात्रा, ७ हजार १ सय २३ छात्र गरी जम्मा १५ हजार ४ सय ४० र मावितर्फ ११ र १२ अन्तर्गत २५ सय ५० छात्रा, २४ सय ५५ छात्र गरी जम्मा ५ हजार ५ विद्यार्थी रहेको उल्लेख गरेको छ । कक्षा १ देखि १२ सम्म छात्रा ३७ हजार ७ सय ५६ र छात्र ३५ हजार ८ सय गरी जम्मा ७३ हजार ५ सय ५९ विद्याथी संख्या रहेको तथ्यांकले जनाएको छ ।

सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाका लागि राज्यले कोसिस गरिरहेको, अधिकांश विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सुरु भइसकेको र कक्षा ९ देखि प्राविधिक शिक्षा प्रणाली ठाउँ विशेषअनुसार सिभिल इन्जिनियरिङ, कम्प्युटर शिक्षा पहाडी जिल्लाका २० विद्यालयमा आर्थिक वर्ष २०७०÷७१ देखि सुचारु भइरहेको बताउछन् काठमाडौं जिल्ला शिक्षा कार्यलयका सूचना अधिकारी बुद्धिप्रसाद भट्ट । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको र शिक्षकमा पनि जागिरे मानसिकता मात्रै भएकाले विद्यालयप्रति अभिभावकको विश्वास गुम्दै गएको हो । सोही कारण विद्यार्थीभन्दा शिक्षकको संख्या बढी हुने अवस्था आएको हो । शिक्षकको सही व्यवस्थापन हुन नसक्दा कतिपय सामुदायिक विद्यालयमा शिक्षक पुगेका छैनन् भने केही विद्यालयमा विद्यार्थीको भन्दा शिक्षककै संख्या बढी भएको छ ।

राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया